१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेश सभा बैठक वैशाख २७ गते बस्ने

गण्डकी प्रदेश सभा बैठक वैैशाख २७ गते सोमबार बस्ने भएको छ। विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक तय गरेको हो।

बैठकले यसअघिको कार्यतालिका अनुसारै प्रदेश सभा बैठक अगाडि बढाउने निर्णयसमेत गरेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए। यसअघी वैशाख १५ गते अविस्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची भएपनि राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि बैठक अचानक स्थगित भएको थियो। जनमोर्चाकी सांसद पियारी थापाले सांसद शाही सम्पर्क विहीन भएकाले उनको खोजी गर्नुका साथै उनलाई नभेटिएसम्म प्रदेश सभा बैठक स्थगित गर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए। सोहि निवेदनका आधारमा सभामुखले बैठक स्थगित गरेका थिए।

बैठक स्थगित गरेलगत्तै सांसद शाही पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालको आईसियूमा भेटिएका थिए। उनलाई सत्तापक्षले अपहरण गरेको वा प्रलोभनमा पारेको हुनसक्ने आशंका गरिएपनि त्यसको औपचारिक पुष्टि हुन सकेको छैन।

यसबीचमा सत्तारुढ नेकपा एमालेले सभामुखले दलहरुसँग छलफल नगरी अनिश्चितकालका लागि बैठक स्थगित गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो। कार्यसूची तय भएर बैठक चलिरहँदा सभामुखले बैठक स्थगित गरेकाले अब अविस्वास प्रस्ताव निस्कृय हुने उसको भनाई थियो। त्यस्तै मुख्यमन्त्री पृथ्वी सुब्बाले त सभामुख एकलौटी रुपमा चलेको भन्दै सभामुखको राजिनामा माग्नुपर्नेसमेत बताएका थिए। उनले १ जना सांसद उपस्थित नहुँदा बैठक स्थगित गरेकाले आगामी बैठकमा आफूले दैनिक १ जना सांसद अनुपस्थित गराउने र खोजीका लागि निवेदन दिएर बैठक स्थगित गराउने चेतावनीसमेत दिएका थिए।

एमालेको असन्तुष्टिका बाबजुद बैठकको मिति तय भएपछि अविस्वास प्रस्तावपनि अघि बढ्ने पक्का भएको छ। वैशाख २७ गतेको बैठक वैशाख १५ गतेको बैठकको निरन्तरता भएको सभामुख नेत्रनाथ अधिकारीले बताए। ‘गत वैशाख १५ गते जहाँ पुगेर बैठक स्थगित भएको थियो। त्यहिँबाट बैठक अगाडि बढ्छ’–सभामुख अधिकारीले भने। उनका अनुसार सो दिन अविस्वास प्रस्ताव माथि बोल्न बाँकी केहि सांसदले आ–आफ्नो धारणा राख्नेछन्। त्यसपछि प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री वा मुख्यमन्त्रीले तोकेको प्रतिनिधिले जवाफ दिने सभङामुख अधिकारीले जानकारी दिए। मुख्यमन्त्रीले जवाफ दिइसकेपछि सोहि दिन अविस्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।

वैशाख २७ गते निर्णयार्थ प्रस्तुत हुने अविस्वास प्रस्तावको पक्षमा बहुमत पुग्ने अनुमान गरिएको छ। किनकी ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा अविस्वास प्रस्तावको पक्षमा हालसम्म ३१ सांसद उभिएका छन्। जसमा बेपत्ता भई सार्वजनिक भएका खिमविक्रम शाहीलाई पनि जोडिएको छ। प्रस्तावको पक्षमा नेपाली कांग्रेसको १५, नेकपा माओवादी केन्द्रको ११ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा) २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन्। यद्वपी जनमोर्चाका शाहीप्रति अविस्वास प्रस्ताव पक्षधर दलहरु नै विश्वस्त छैनन्। उसो त सो पार्टीका संसदीय दलका नेता कृष्ण थापाप्रतिपनि केहिले शंकाको दृष्टिले हेर्छन्। उनलाई शंकाको दृष्टिले हेर्नुको कारण भनेको अविस्वास प्रस्ताव आउनु अगाडिसम्म उनी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा अडिग थिए। अविस्वास प्रस्ताव आएपछिपनि उनी यसैमा अडिग रहेको बताउने गर्थे। त्यसपछि भने राजमोका केन्द्रीय समितिले अविस्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय ग¥यो। सो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न पार्टी अध्यक्ष चित्रबहादुर केसीले नै निर्देशन दिएपछि भने उनी गले। संसदीय दलका नेता थापा अहिले भने पार्टीको निर्णय कुनैपनि हालतमा कार्यान्वयन गर्ने बताउँछन्। उनले भने,‘हामी अविस्वास प्रस्तावको पक्षमा एकमतले मतदान गर्छौं, हामी पार्टी निर्णयको पक्षमा छौं, जसरीपनि कार्यान्वयन गर्छौं।’

सत्तारुढ नेकपा एमालेको २७ सांसद रहेका छन्। त्यसमा स्वतन्त्र उमेद्वारी दिएर जितेका राजिव गुरुङ उर्फ मनाङे थपिएका छन्। जता बहुमत पुग्छ उतै उभिने भन्दै आएका सांसद मनाङेलाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्री बनाइसकेका छन्। त्यसैले अविस्वास प्रस्तावको विपक्षमा हालसम्म २८ सांसद देखिएका छन्। तर संसद गणितीय खेल हो, जतिखेरपनि जेपनि हुनसक्ने भएकाले यसै भन्न सकिने अवस्था भने छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको विस्वास पात्र मानिने पृथ्वी सुब्बा गुरुङबिरुद्धको अविस्वास प्रस्ताव फेल गराउन जुनसुकै खालको हथकण्डा मच्चाउन सक्ने आंकलनपनि गरिएको छ। जसका लागि मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मपनि लाग्नसक्ने विपक्षी दलहरुको आशंका छ। तर आफ्ना सांसद जोगाउन आफूहरु सचेत रहेको उनीहरुको भनाई छ। यसअघी यी दलहरुले सांसद जोगाउन पोखराको एक रिसोर्टमा ४ दिनसम्म राखेका थिए। तर संसद बैठक स्थगित भएपछि उनीहरु आ–आफ्नो घर फर्किएका थिए।

प्रकाशित: २३ वैशाख २०७८ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App