१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जिम्मेवारी लिँदालिँदै प्रदेश प्रमुख विवादमा

गण्डकी प्रदेश प्रमुख सीता पौडेल

पदीय दायित्व नबुझ्दा गण्डकी प्रदेश प्रमुख सीता पौडेल विवादमा तानिएकी छिन् । प्रदेशका सभामुख नेत्रनाथ अधिकारीप्रति कटाक्ष गर्दा प्रदेश प्रमुख पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा तानिएकी हुन् ।

सरकारले पौडेललाई गत सोमबार गण्डकी प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको थियो । प्रधानमन्त्री ओली निकट उनी अमिक शेरचनलाई हटाउँदै नियुक्ति भएकी थिइन् । नियुक्त गरेकै दिन राष्ट्रपतिबाट सपथ लिएकी उनी बुधबार पोखरा आएर पदभार ग्रहण गरिन् ।

पदभार ग्रहण गतेलगत्तै उनले पदीय मर्यादा विपरित सभामुखको राजिनामा माग्ने घडी आयो भनेर अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी थिइन । अविश्वास प्र्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची हुँदाहुँदै अचानक बैठक स्थगित गरेर सभामुखले गलत गरेकाले उनको राजिनामा माग्नुपर्ने बेला भएको पौडेलको भनाई थियो । साथै उनले अविश्वास प्रस्ताव अब निस्कृय भइसकेको समेत टिप्पणी गरिन् ।

बैशाख १३ गतेदेखि शु्रु भएको विशेष अधिवेशन अन्तर्गत बैशाख १५ गते अविश्वास प्र्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । तर प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नु भन्दा केहि अगाडि राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ‘बेपत्ता’ भए । उनको खोजी गरिदिन र नभेटिएसम्म जनमोर्चाकी सचेतक पियारी थापाले संसद सचिवालयमा निवेदन दिईन् । लगत्तै सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरिदिए ।

यसबिचमा प्रदेश प्रमुख फेरबदल भयो । अमिक शेरचनको ठाउँमा अखिल नेपाल महिला संघ (अनेमसंघ) अध्यक्ष सीता पौडेल प्रदेश प्रमुख बनेर आईन् । तर आएलगत्तै दिएको अभिव्यक्तिका कारण उनी विवादमा तानिएकी थिइन । उनले सभामुखकै कारण संसद बैठक स्थगित भएको र यसले दलहरुबीच अविश्वास पैदा गर्नुका साथै समस्या निम्त्याएको टिप्पणी गरेकी छन् । यतिमात्र होइन उनले संसद स्थगित भइसकेपछि अविश्वास प्रस्ताव निस्कृय भइसकेको अर्को विवादित अभिव्यक्ति पनि दिएकी छन् । जसका कारण अहिले उनको व्यापक आलोचना भइरहेको छ ।

सत्ता ईतर दलहरुले नवनियुक्त प्रदेश प्रमुख पौडेलको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सत्ता ईतरका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले संयुक्त विज्ञप्ती नै निकालेर प्रदेश प्रमुखको अभिव्यक्तिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले सभामुखले प्रदेशसभालाई लथालिंग पारेको र सभामुखको राजिनामा माग्ने घडी आईसक्यो भनेर दिएको अभिव्यक्ति शक्ति पृथकीकरणको सिद्धान्त, प्रचलित मर्यादा, शिष्टाचार, प्रचलित ऐन, कानून र संविधान विपरित भएको बताएका छन् । 

साथै उनीहरुले अविश्वास प्रस्ताव निस्कृय भइसकेको भन्ने प्रदेश प्रमु.खको अभिव्यक्ति अत्यन्त भ्रामक, अराजक, आपत्तिजनक र प्रदेश प्रमुखजस्तो पदको मर्यादा विपरित रहेको टिप्पणी गरेका छन् । विज्ञप्तीमा उनीहरुले भनेका छन्,‘प्रतिपक्षको संवैधानिक कार्यबाट अत्तालिएर सत्तापक्षको पक्षपोषण हुनेगरी आएको अभिव्यक्ति अस्वाभाविक र आपत्तिजनक छ ।’ प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र पोखरेल (नेपाली)ले प्रदेश प्रमुख पौडेलको अभिव्यक्ति दलको नेताको जस्तो तल्लोस्तरको भएको टिप्पणी गरे । उनले भने, ‘प्रदेश प्रमुखज्यूको अभिव्यक्ति पदीय मर्यादा विपरित र गैरजिम्मेवार छ । दलको नेताको जस्तो तल्लो स्तरको छ ।’

गण्डकी प्रदेश सभा अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले पदीय मर्यादा विपरित प्रदेश प्रमुख पौडेलले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । प्रदेश प्रमुख पौडेलले पदीय मर्यादा र दायित्व नबुझेको टिप्पणी गर्दै अगाडि भनेका छन्, ‘सबैले आ–आफ्नो मर्यादामा बस्नुपर्छ । सभामुख पद तपाईंले जस्तै गरि बक्सिसमा प्राप्त गरेको पद होइन । आफ्नो पदको गरिमा कायम राख्नुहोला । तपाईं सेरेमोनियल पदमा आसिन हुनुहुन्छ ।’

प्रकाशित: २३ वैशाख २०७८ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App