५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाका पूर्वसदस्य पौडेलको निधन

राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति स्वर्गीय विदुर पौडेल । तस्बिरः नागरिक

राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन भएको छ । पूर्वीय दर्शनका जानकार रहेका संस्कृतिविद पौडेलको मष्तिष्कघातका कारण शनिबार बिहान ६ बजेर १८ मिनेट जाँदा पशुपतिस्थित वैद्यखानामा निधन भएको हो । 

मष्तिष्कघात भएपछि त्रिवि शिक्षण अस्पताल हुँदै काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा पुर्‍याउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि पौडेललाई उनकै इच्छा अनुसार पशुपतिस्थित वैद्यखाना लगिएको थियो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ सल्ले स्थायी ठेगाना भएका पौडेल हाल काठमाडौंको कुमारीगालमा बस्दै आएका थिए । २००१ साल असारमा जन्मिएका पौडेलको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।  

पौडेल दुर्गा मन्दिर निर्माणकाक्रममा केही महिनाअघि आफ्नो जन्मथलो खोटाङ (सल्ले)मै बसेका थिए । मन्दिर निर्माणका क्रममा आर्थिक समस्या भएपछि पुनः श्रोत जुटाउन उनी काठमाडौं फर्किएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, बागमती निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिका पूर्वअध्यक्ष पनि थिए । पौडेललाई धेरैले नेपाली राजनीतिका एक स्वच्छ एवं निष्ठावान व्यक्तित्व, पूर्वीय दर्शन र साहित्यका जानकारका रुपमा चिन्ने गरेका छन् । राष्ट्रियसभा सदस्य हुँदा उनले सरकारले दिएको गाडीको सुविधा अस्वीकार गरेको चर्चा अहिले पनि हुने गरेको छ ।  

त्याग र निष्ठाको राजनीति गरेका पौडेलको निधनमा खोटाङका कांग्रेस तथा अन्य दलका नेताले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन् ।

प्रकाशित: १८ वैशाख २०७८ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App