७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशमा सत्ता लम्ब्याउने खेल

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुने देखिएपछि सत्तापक्षका सांसदले मंगलबार कोरोनाको बहाना बनाएर प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहँदा सत्तापक्ष एमालेका सांसदले बैठक अवरुद्ध गरेका हुन्।

बैठक सुरु भएलगत्तै एमाले सांसदले आआफ्नो स्थानबाट उठेर विरोध गरेका थिए। कार्यव्यवस्था समितिको निर्णयअनुसार बैठक सञ्चालन गरिरहेका सभामुखले सत्तापक्षका सांसदले विरोध जनाएपछि भने, ‘माननीय सदस्यहरू तपाईंहरू किन उठ्नुभयो ? कारण के हो, भन्नुस् ?’ लगत्तै एमाले प्रदेशसभा सदस्य राजीव पहारीले कोरोनाको जोखिम बढेकाले बैठक स्थगित गर्नुपर्ने माग राखे। पिसिआर परीक्षण नगरी बैठक अगाडि बढ्न नदिने उनले बताए। 

‘कोरोना संक्रमण ह्वात्तै बढेको छ,’ उनले भने, ‘यस्तोमा प्रदेशसभा बैठक चलाउनु थप जोखिम बढाउनु हो। त्यसैले पिसिआर परीक्षण नगरीकन बैठक सञ्चालन नगरियोस्। वर्तमान परिस्थितिमा बैठक अगाडि बढ्न सक्दैन।’ उनले सबै सांसदको पिसिआर परीक्षण नगरीकन बैठक सञ्चालन गरे आफ्नो पार्टीले अवरुद्ध गर्ने बताए। उनले भने, ‘धेरैजसो प्रदेशसभा सदस्य रक्तचाप, मधुमेहलगायत समस्या भएका दीर्घरोगी हुनुहुन्छ। पिसिआर परीक्षण नगरी संसद् चलाउनु भनेको जोखिम बढाउनु हो।

त्यसैले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नहोस्।’ त्यसपछि पनि सत्तापक्षका सांसदले उठेर विरोध जनाइरहे। सभामुख नेत्रनाथ अधिकारीले सांसदहरूलाई बस्न बारम्बार आग्रह गरे। उनले प्रदेश प्रमुखले नै मिति तोकेर आह्वान गरेको अवस्थामा बैठक सञ्चालन गर्नैपर्ने बाध्यता रहेको र कार्यव्यवस्था परामर्श समितिले सर्वसम्मत कार्यसूची बनाएको अवस्थामा अवरोधन नगर्न आग्रह गरे।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। अविश्वासको प्रस्ताव पास हुन ३१ सांसदको समर्थन चाहिन्छ। अविश्वासको प्रस्ताव ल्याएका दलका सांसदलाई सत्तापक्षले प्रलोभनमा पार्न सक्ने सम्भावना भएकाले रिसोर्टमा बस्नुपरेको एका सदस्यले बताए। मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा जनमोर्चाको पनि साथ छ। अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्ने देखेपछि प्रदेश सरकारले संसद्को हिउँदे अधिवेशन मध्यरातमै अन्त्य गरेको थियो। तर विपक्षी दलहरूले विशेष अधिवेशन माग गरेपछि सोमबारदेखि सदन चल्न थालेको थियो।

‘अविश्वासको प्रस्ताव पक्षमा हस्ताक्षर गर्नेहरूबीच बेलाबेलामा छलफल आवश्यक पर्ने भएकाले एकैठाउँमा बसेका हौं,’ एक सांसदले भने, ‘सहमति कायम गर्न पनि हामीमा एकजुट आवश्यक छ।’ सबैजना एकठाउँ बस्दा आत्मबल बलियो हुने र एकताको बोध हुने भएकाले रिसोर्टमा बसेको ती सांसदले बताए। ‘सत्तापक्षले सांसद किनबेच गर्न पनि सक्छ। एकजनालाई मात्र प्रभावमा पारे समस्या हुनसक्छ भनेर एकठाउँ बसेका हौं,’ ती सांसदले भने, ‘एकजनालाई मात्र अनेक निहुँमा उपस्थित हुनबाट अवरोध गरियो भने त्यसको असर पर्छ।’ ‘कोरोना बहाना देखाएर निषेधाज्ञा जारी गर्नेदेखि पिसिआरको रिपोर्ट खोज्नेसम्मको काम भएको छ,’ अर्का एक सांसदले भने । माओवादी केन्द्रका सांसद दीपक कोइरालाले भने, ‘सत्तापक्षको सम्भावित चलखेल रोक्नका लागि रिसोर्टमा बसेका हौं।’

प्रकाशित: १५ वैशाख २०७८ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App