२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पीसीआर परीक्षणको माग गर्दै प्रदेशसभामा विरोध

सत्तापक्षीय सांसदको विरोधका कारण गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको विशेष अधिवेशन चलिरहँदा सत्तारुढ नेकपा एमालेका सांसदहरुले कोभिड–१९ भए नभएको पत्ता लगाउन पिसीआर परीक्षण नगरी प्रदेशसभा बैठक अगाडि नबढाउन माग गर्दै उभिएर विरोध जनाएपछि बैठक २० मिनेटका लागि स्थगित भएको हो ।

बैठक शुरु भए लगत्तै एमाले प्रदेश सभा सदस्य राजिव पहारीले पिसीआर परीक्षण नगरी बैठक अगाडि बढ्न नदिने बताए । ‘कोरोना संक्रमण ह्वात्तै बढेको छ,’ उनले भने, ‘यसको जोखिम चलिरहँदा प्रदेश सभा बैठक चलाउनु थप जोखिम बढाउनु हो र त्यसैले पिसीआर परीक्षण नगरिकन बैठक सञ्चालन नगरियोस्, वर्तमान परिस्थितिमा बैठक अगाडि बढ्न सक्दैन ।’ उनले पिसीआर परीक्षण नगरिकन बैठक सञ्चालन गरे आफ्नो पार्टीले बैठक अबरुद्ध गर्ने बताए ।

 सांसद पहारी बोलेलगत्तै एमाले सांसदहरु उठेर विरोध जनाए । सत्ता पक्षीय सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले सांसदहरुलाई बस्न बारम्बार आग्रह गरे । उनले प्रदेश प्रमुखले नै मिति तोकेर बैठक आह्वान गरेको अवस्थामा बैठक सञ्चालन गर्नैपर्ने बाध्यता रहेको र कार्यव्यवस्था परामर्श समितिले सर्वसम्मत कार्यसूची बनाएको अवस्थामा बैठक सञ्चालन गर्नका लागि सहयोग गर्न आग्रह गरे । तरपनि सत्तापक्षीय सांसदहरुले उठेर विरोध जनाइरहेपछि सभामुख अधिकारीले बैठक २० मिनेटका लागि स्थगित गरे ।

प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध अविश्वासको प्रस्ताव टेबल भएर छलफल चलिरहेको छ । सम्भवत आजै वा भोलिसम्ममा प्रस्ताव निर्णयार्थ पेश गर्ने तयारी छ । प्रस्तावको पक्षमा बहुमत पुग्ने देखेपछि सत्ता पक्षले सरकार केहि दिन लम्ब्याउनका लागि सदन अबरुद्ध गरेको आशंका गरिएको छ । यसअघि पहिलो बैठकमा सत्तापक्षले विरोध जनाएको थिएन ।

प्रकाशित: १४ वैशाख २०७८ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App