१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

फ्लोर क्रस गर्ने सांसद प्रदेशसभा सदस्यबाट निष्कासन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका चारजना सांसदलाई नेकपा एमालेले प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ। संसदीय दलको निर्णय/निर्देशन (ह्वीप) उल्लंघन गरी संसदीय मर्यादा, अनुशासनको गम्भीर उल्लंघन गरी पक्षमा मतदान गरेको भन्दै एमालेले प्रदेशसभा सदस्यबाट प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई निष्कासन गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३, प्रदेशसभा नियमावली २०७४, नेकपा एमाले प्रदेशसभा संसदीय दलको विधान २०७७ बमोजिम फ्लोर क्रस गर्ने चारजनालाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गरिएको संसदीय दलका नेता यामलाल कँडेलद्वारा हस्ताक्षेरित पत्रमा उल्लेख गरिएको छ । राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४(१) बमोजिम आवश्यक कार्यार्थ प्रदेशसभामा प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको पत्र आइतबार दर्तासमेत गरिएको छ । सांसद पदबाट निस्कासित गरिएका चारजना सांसदले वैशाख ३ गते मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए । एमाले संसदीय दलको बैठकले विपक्षमा मतदान गर्ने ह्वीप जारी गरेको थियो । दलको ह्वीप उल्लंघन गरी गैरजिम्मेवार, असंसदीय र लज्जास्पद गतिविधि गरेको एमालेको ठहर छ । उनीहरुले फ्लोर क्रस गरी संसदीय लोकतन्त्र र दलीय पद्दतीमाथि आँच आउने काम गरेको भन्दै वैशाख १० गतेदेखि लागू हुन गरी नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य, प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्यसमेतबाट निष्कासन गरेको थियो ।

चारजना सांसदलाई निष्कासन गरेको पत्र प्राप्त भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । ‘कारबाहीको पत्र प्रदेशसभा सचिवालयमा पुगेको छ,’ उनले भने, ‘उक्त पत्र प्रदेशसभाको बैठकमा प्रस्तुत हुन्छ ।’

प्रदेशसभा नियमावली २०७४ सभामुखले उक्त पत्र संसद्लाई जानकारी गराउने छन् । सभामुखले संसद्लाई जानकारी गराएपछि सांसद पद रिक्त भएको मानिने छ । यदी संसद् नचलेको अवस्थामा प्रदेशसभा सचिवालयको सूचना पाटीमा टाँस भए पद रिक्त भएको मानिने प्रदेशसभा सचिव बुढाथोकीले जनाए ।

४० सदस्यीय प्रदेशसभा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरेर कारबाहीस्वरुप सांसद पद खोसिएपछि ३९ सदस्यीय बनेको थियो । माओवादी केन्द्रका शाहीलाई मुख्यमन्त्री कायमै रहन २० सांसदको समर्थन आवश्यक थियो । आफ्नै पार्टीका १२ र नेपाली कांग्रेसका ६ जना जोड्दा पनि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था थिएन । एमालेसँग सभामुखसहित २० जना सांसद छन् । मतदानमा सहभागी ३७ सांसदमध्ये माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका चारजनाले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए भने विपक्षमा १५ मत खसेको थियो ।  

ज्वाला सल्यान १(ख), थापा दैलेख १(ख), शाही कालीकोट १(क) र बुढा डोल्पा १(क) बाट निर्वाचित भएका थिए । ज्वाला यसभन्दा अघि आर्थिक मामिला तथा योजनामन्त्री, बुढा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री थिए । अहिले फ्लोर क्रस गर्ने चारजनामध्ये ज्वालाबाहेक तीनजना मन्त्री बनेका छन् ।

प्रकाशित: १२ वैशाख २०७८ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App