८ वैशाख २०८१ शनिबार
राजनीति

लुम्बिनी प्रदेश : ‘फ्लोर क्रस’ भए मात्रै मुख्यमन्त्री ‘फेल’

पार्टी संसदीय दलको ह्विप उल्लंघन गरेर मन्त्री पदको सपथ खाएका जसपाका ४ जना लुम्बिनी प्रदेशसभा सदस्यलाई मंगलबार स्पष्टिकरण सोध्यो । पार्टीको ह्विप उलंघन गरेको भन्दै स्पष्टिकरण सोधिएका विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेले स्पष्टिकरणका लागि दिईएको २४ घण्टे अवधि गुजारिसके । उनिहरुले स्पष्टिकरण बुझाएनन् । पार्टी संसदीय दलले सोधेको स्पष्टिकरण नदिएपछि चार जनालाई कारबाहीको अन्तिम तयारीमा जसपा जुटेको छ ।

बिहीबार बैठक बसेर स्पष्टिकरण सोधिएका चारैजनालाई सांसद समेत नरहने गरि कारबाहीका लागि केन्द्रीय समितिमा सिफारीस गरिने जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए । ‘हामीहरुले मंगलबार सोधेको स्पष्टिकरणको चौबिस घण्टे अल्मिेटमको अवधि सकिएको छ, उहाँहरुले स्पष्टिकरण दिनु भएन,’ यादवले भने ‘अब हामी उहाँहरुलाई सांसद समेत नरहने गरि कारवाहीका लागि केन्द्रमा सिफारीस गर्छौँ ।’

जसपाका चार सांसद पार्टीको ह्विप उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोख्रेलको पक्षमा लागेपछि संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पास हुने अन्तिम बिकल्प भनेकै अब एमाले भित्रको ‘फ्लोर क्रस’ मात्रै हो । कर्णाली प्रदेशमा जस्तै यो प्रदेशमा पनि एमाले माधव नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेर अविश्वासको प्रसतावमा मतदान गरे मात्रै शंकर पोखरेल मुख्यमन्त्रीबाट असुरक्षित हुने छन् ।  

माओवादी केन्द्रबाट एमालेमा लागेका दुई सांसदको पद निलम्बन भएपछि कुल ८७ सांसद संख्या रहेको प्रदेशसभा हाल ८५ सदस्यीय छ । जसपाका चार सांसद पोखरेल कित्तामा उभिएपछि पोखरेलको अहिलेको मत प्रदेशसभामा ४५ पुगेको छ । तर जसपाले पार्टीको ह्विप उलंघन गरेर मन्त्री बन्न पुगेका चार सांसदलाई सांसदै नरहनेगरि कारबाही गरेको खण्डमा प्रदेशसभा ८१ सदस्यीयमा झर्ने छ ।

 तर कारवाहीमा पर्ने भनिएका दुई सांसद समानुपातिक तर्फका रहेकाले जसपाले तत्काल उनिहरुको स्थानमा नयाँलाई सांसद नियुक्त गर्ने बताएको छ । ‘कारवाही पर्ने मध्यका दुईजना समानुपातिक सांसद हुनुहुन्छ,’ जसपा प्रदेश समितिका अध्यक्ष अशोक यादवले भने ‘उहाँहरुको स्थानमा नयाँ सांसद नियुक्त हुने छन् ।’ समानुपातिकमा दुई सांसद नियुक्त भए प्रदेशसभा ८३ सदस्यीय हुने छ । जसका लागि बहुमत जुटाउन ४२ सांसद चाहिन्छ ।

नयाँ दुई सांसद नियुक्त भएमा र उनिहरु दुबैजनाले अविश्वासको प्रस्तावमा मतदान गरे शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा ४० मत मात्रै पुग्छ । उता पोख्रेललाई पनि विश्वासको मत जित्नका लागि एक मत खाँचो पर्छ । तर मन्त्री भएका चारजनालाई सांसदै नरहने गरि कारबाही गर्ने जसपा नेतृत्वमा सहमती भए समानुपातिक दुईजना सांसद नियुक्तीमा पनि भागवण्डा हुन सक्ने छ ।

महन्थ ठाकुर पक्षको कोटाबाट एक जना सांसद पर्न सक्ने र अर्का एकजना उपेन्द्र यादव समूहबाट चयन हुने सक्ने छन् । यसो भएको खण्डमा ठाकुर पक्षका सांसदले मुख्यमन्त्रीको बिरोध वा समर्थन के गर्ने भन्ने अर्को प्रश्न उब्जने छ । तर ठाकुर पक्षीय सांसद कल्पना पाण्डे हाल मन्त्री भैसकेकाले ठाकुरले उनै पाण्डेलाई थमौती गरे पाण्डे मुख्यमन्त्रीको पक्षमा लाग्ने निश्चित जस्तै हुने छ ।  यसो भए मुख्यमन्त्रीको पक्षमा बहुमत अर्थात ४२ मत जुट्ने छ ।  

संसदको सम्भावित यो अंकगणितलाई हेर्ने हो भने एमाले भित्रको फ्लोर क्रस मात्रै अविश्वासको प्रस्ताव बहुमतले पारित हुने अन्तिम बिकल्प हो । एमाले माधव कुमार नेपाल समूहले अबिश्वासको प्रसताव पास गाराउनका लागि आवश्यक मत दिने परिस्थती आए पोखरेल मुख्यमन्त्रीबाट पदमुक्त हुने अवस्था आउने छ ।

 ‘अबको बिकल्प भनेको एमाले भित्रको फ्लोर क्रसनै हो,’ माओवादी सांसद ईन्द्रजीत चौधरीले भने ‘कर्णालीको जस्तै परिस्थती यहाँ आयो भने अविश्वासको प्रस्ताव पारित हुने अवस्था देखियो, तर मलाई लाग्छ यहाँ पनि फ्लोर क्रस पक्कै हुन्छ ।’ तर बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालको भेट सकारात्मक भएको आशंका गरिएकाले या प्रदेशमा फ्लोर क्रसको सम्भावना नरहने आँकलन पनि गर्न थालिएको छ । 

प्रकाशित: ९ वैशाख २०७८ ०५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App