१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्ता समीकरणको साँचो जसपा

वर्ष समीक्षा

संसद्को चौथो ठूलो दल जनता समाजवादी पार्टी पछिल्लो समय सत्ता समीकरणमा साँचो बनेको छ। २०७७सालको अन्त्यतिर जसपा नयाँ सरकार निर्माण र सरकार ढाल्ने खेलमा निर्णायक बन्यो। सो पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव दुवैतिर तानातानमा परे। यद्यपि नयाँ सरकार निर्माणको विषयमा पार्टीभित्र दुई कित्ता देखियो । एउटा कित्ताको नेतृत्व ठाकुर र अर्को कित्ताको नेतृत्व यादवले गरे।  

२०७७ सालको प्रारम्भमै २०७७ वैशाख १० गते तत्कालिन दुई तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी र समाजवादीवीच एकीकरण भई जनता समाजवादी पार्टी निर्माण भयो। पार्टी एकीकरण हुनु र सत्ता समीकरणमा निर्णायक मानिनु २०७७ साल जसपाको लागि ठूलो उपलब्धि हो। जसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले २०७७ सालमा जसपा नयाँ शक्तिको रुपमा उदय हुनु स्वभाविक भएको बताए। ‘२०७७मा तत्कालीन राजपा र समाजवादीबीच एकीकरण भई जसपा निर्माण भए पछि यो पार्टी एउटा शक्तिको रुपमा उदय हुनु स्वाभाविक हो,’ झाले भने, ‘अहिले जसपमा सत्ता समीकरणमा मुख्य भूमिकामा देखिएको छ।’  

 कुनै बेला तराई मधेस केन्द्रित दलहरू उठाएका मागको बारेमा सुन्नै नचाहने प्रधानमन्त्री केपी शर्मा ओली अहिले जसपाले उठाएका माग पूरा गर्न प्रक्रिया अघि बढाएका छन् । यो जसपाका लागि ठूलो उपलब्धि हो । कुनै बेला मधेस विरोधी मानिने ओली अहिले जसपाका पहिलो अध्यक्ष ठाकुरसँग निकटता बढाउँदै गएका छन्। 

सत्ता समीकरणको साँचो बनेपछि जसपाले उठाएको माग पूरा गर्न वर्तमान सरकारले प्रक्रिया अघि बढाएको छ । कुनै बेला तराई मधेस केन्द्रित दलहरू उठाएका मागको बारेमा सुन्नै नचाहने प्रधानमन्त्री केपी शर्मा ओली अहिले जसपाले उठाएका माग पूरा गर्न प्रक्रिया अघि बढाएका छन् । यो जसपाका लागि ठूलो उपलब्धि हो । कुनै बेला मधेस विरोधी मानिने ओली अहिले जसपाका पहिलो अध्यक्ष ठाकुरसँग निकटता बढाउँदै गएका छन्। उनले ठाकुरलाई बोलाई बोलाइ भेट्ने गरेका छन्।

प्रधानमन्त्रीले जसपाका माग पूरा गर्न एउटा कार्य दलसमेत गठन गरेका छन्। कार्यदलमा दुवै पक्षका नेताहरूलाई राखिएको छ । जसपाले उठाउँदै आएका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको कार्य दलका सदस्यहरूले बताएका छन् । कार्यदलमा जसपबाट राखिएका सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण राखिएका छन्। जसपा सरकारमा सहभागी भएमा या समर्थन गरेमा महत्वपूर्ण मन्त्रालय दिन प्रधानमन्त्री तयार भएकोे जसपाका नेताहरू बताउँछन्।

यसैगरी, उपसभामुखलगायत संवैधानिक आयोगमा भागबण्डा गर्न समेत प्रधानमन्त्री तयार भएको जसपाका एक नेताले दाबी गरे। सत्ता समीकरणमा मुख्य भूमिका देखिएका जसपा अध्यक्ष यादव र ठाकुर दुवैलाई दुवै पक्षले सत्ता समीरकणमा प्रस्ताव गरेका छन् । यादव माओवादी केन्द्रसँग निकट देखिएका छन् भने ठाकुर ओलीसँग निकट देखिएका छन्। दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि जसपाँसग छलफल र संवाद अघि बढाएको छ। वर्तमान ओली सरकारलाई ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसले जसपासँग प्रस्ताव राखेको छ।  

जसपालाई अहिले दुवैतिर सत्ता साझेदारीको प्रस्ताव आएको छ । प्रतिनिधिसभामा जसपाको ३४ जना सांसदको उपस्थिति छ । ३४ मध्ये दुईजना सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। जसपाका अर्का कार्यकारिणी समितिका सदस्य तथा प्रदेश २ सरकारमा आर्थिक मामिला मन्त्री विजय यादवले भने जसपाले उठाएको मुद्दा कार्यान्वयन नभएसम्म यो पार्टीले सुरु गरेको आन्दोलन जारी रहने बताए । मुद्दा फिर्ता लिने प्रक्रिया सरकारको नियमित कामभित्र पर्ने बताउदै उनले भने, ‘संविधान संशोधनलगायतका हाम्रो मुख्य एजेण्डा अझै पनि जस्ताको त्यस्तै छन्। त्यसैले हाम्रो आन्दोलन जारी छ ।’ माग पूरा गर्न सडक, सदन र सरकारबाट पार्टीले आन्दोलन जारी राख्ने उनले बताए।  

आन्तरिक विवाद झन् बढ्दै  

सत्ता समीकरणको निर्णायक बने पनि जसपा२०७७मा आन्तरिक विवादमा फसेको छ । जसपा स्पष्ट रुपमा दुई कित्तामा बाँडिएको छ । पार्टीका दोश्रा तहका नेताहरू पनि दुई धारमा बाडिएका छन्। पार्टीभत्र विवाद यसरी बढ्दै गएको छ कि, पार्टीले आगामि वैशाख १०गते मनाउन लागको स्थापना दिवस पनि फरक फरक ठाउँमा हुने अवस्थामा छ।  

पार्टीभित्र विवाद बढ्दै गएपछि दुई दलका संसदीय दलको समायोजन हुन सकेको छैन। अहिले पनि तत्कालिन राजपा र तत्कालीन समाजवादीको संसदीय दल अलग अलग छन्। सिंहदरबारमा अलग अलग ठाउँमा संसदीय दलका कार्यालय राखिएका छन् । राजपाका संसदीय दलको नेता ठाकुर हुन् भने समाजवादीका संसदीय दलका नेता यादव हुन्। दुवै पार्टीमा अलग अलग संसदीय दलका प्रमुख सचेतक छन्। पूर्व राजपाका अध्यक्ष मण्डलका ६जना सदस्यमध्ये महेन्द्र यादवबाहेक अरु सबैले ठाकुरलाई साथ दिएका छन्। पूर्वसमाजवादीका डा. बाबुराम भट्टराईले यादवलाई साथ दिएका छन्।  

जसपामा समायोजनको प्रक्रिया सुरु भए पनि निकै सुस्त छ। जसपाको प्रभाव मानिने प्रदेश २ र लु्म्बिनी प्रदेशको एउटा जिल्लामा समायोजन टुंगिएको छैन। तत्कालिन राजपा र समाजवादीको प्रभाव नै नभएका विकट हिमाली र पाहाडी जिल्लामा मात्र समायोजनको काम टुंगिएको छ। जसपाका एक केन्द्रीय सदस्यले भने, ‘समायोजन नहुदै पार्टी फुट्ने अवस्था कायमै छ।’ अहिले जसपाका ३४ सांसदहरू तानातानमा परेका छन्। सत्ता समीकरणको विषयले जसपाभित्र विवाद बढाएको हो। सत्ता समीरकणको प्रक्रिया जचि पेचिलो बन्दै जान्छ, जसपाभित्रको विवाद पनि उत्तिकै बढ्दै गएको छ । त्यसैले २०७७ जसपाका लागि उपलब्धि मानिए पनि २०७८ जसपाका लागि कस्तो हुन्छ, केही भन्न सकिने अवस्था छैन।  

प्रकाशित: १ वैशाख २०७८ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App