४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश २ मा एमाले विवाद: मण्डललाई हटाएर महतो

प्रदेश २ नेकपा एमाले संसदीय दलको नेता शत्रुधन महतोलाई चयन गरिएको छ। एमाले संसदीय दलको कार्यालयमा आइतबार बसेको बैठकको बहुमतले सत्यनारायण मण्डललाई दलको नेताबाट हटाएर महतोलाई चयन गरेको हो। एमालेभित्रको विवाद यहाँ पनि देखिएको छ।

बहुमतबाट संसदीय दलको नेतामा महतोलाई चयन गरिएको सांसद प्रमोद यादवले बताए। मण्डल एमाले अध्यक्ष केपी ओली पक्षका हुन् भने महतो एमाले वरिष्ठ नेता नेपाल पक्षका हुन्। बैठकले रवीन्द्र बैठालाई उपनेता चयन गरेको छ। प्रमुख सचेतक सुन्दर विश्वकर्मा र सचेतक बेचु लुंगेलीलाई भने कायमै राख्ने निर्णय बैठकले गरेको सांसद यादवले बताए। यादवका अनुसार प्रदेशसभामा एमालेका २१ सांसद छन्। जसमध्ये १३ जनाको बहुमत भएपछि महतोलाई नेता चुनिएको हो। बैठकले बहुमतबाट गरेको निर्णयको जानकारी सभामुख सरोज यादवलाई गराइसकिएको छ।  

प्रदेश २ मा नेकपा विभाजन नहुँदा उसका ३२ जना सांसद थिए। नेकपा राजनीतिक रूपमा विभाजित भएपछि पुष्पकमल दाहाल–माधवकुमार नेपालसँग १९ सांसद र केपी ओली समूहमा १३ जना सांसद थिए। तत्कालीन नेकपा राजनीतिक रूपमा दुई पक्षमा विभाजित भएपछि संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध नेकपा दाहाल–नेपाल पक्षले पुस १३ गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो।

 त्यसपछि प्रमुख सचेतक विश्वकर्मा र सचेतक लुंगेलीले संसदीय दलको बैठक बोलाए। बैठकले मण्डललाई दलको नेताबाट हटाउँदै महतोलाई चयन गर्‍यो। सर्वोच्च अदालतको निर्णयले नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किए। त्यसपछि एमाले संसदीय दलको नेतामा पुनः मण्डल फर्किए। अहिले फेरि उनलाई हटाइएको छ।

माओवादी संसदीय दलको नेता साह प्रदेश २ मा माओवादी केन्द्रले संसदीय दलको नेतामा भरत साहलाई चयन गरेको छ। उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवीकुमारी कर्णलाई चयन गरिएको छ। ६ महिनापछि प्रदेशसभा बैठक प्रदेश २ प्रदेशसभा बैठक सोमबार बस्दैछ। प्रदेशको पाँचौं अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ।

प्रदेश सरकारले प्रदेशसभा बैठक छल्दै आएको थियो। ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था छ। यसैकारण पाँचौं अधिवेशन बोलाइएको हो। प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो। संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुंगो लाग्न नसक्दा बस्न नसकेको सांसद यादवले बताए।

नेकपा विभाजन र राजपा र संघीय समाजवादी पार्टी एक भएर जनता समाजवादी पार्टी बनेकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो। पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराउने र शुभकामना दिने कार्यसूची तय भएको छ। 

प्रकाशित: ३० चैत्र २०७७ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App