१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले नेता पाण्डे उदयपुरमा, एउटा भवनमा दुई समूहको दावीले झडपको संभावना

एमाले भेलामा सांगीतिक प्रस्तुति दिँदै जनवादी गायक सैलेन्द्र खतिवडाको टोली । तस्बिरः महेश्वर

एमालेका वरिष्ट नेता माधवकुमार नेपाल समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे उदयपुर आएका छन्। एमाले उदयपुरको आयोजनामा शनिवार आयोजित ‘जिलास्तरीय कार्यकर्ता भेला’लाई सम्बोधन गर्न उनी यहाँ आएका हुन्।  

पार्टी अध्यक्ष ईश्वरमणि राउनका अनुसार गाईघाटस्थित होटल टाउनहलको सभाकक्षमा आयोजित कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका छन्। पार्टीका वरिष्ट नेता माधव नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य पायण्डेमाथि कारबाही भईरहेकै बेला नेपाल समूहले देशव्यापी कार्यक्रमको दौरानमा पाण्डे गाईघाट आएका हुन्।

कार्यकर्ता भेलाका प्रमुख अतिथि पाण्डेले पार्टी फुटको कारण, प्रतिगमनमा ओली समूहको भूमिका, पार्टीको वर्तमान अवस्था र भावी रणनीति, आफूहरुमाथि ओली समूहले गरेको पार्टी विधान विपरितको कारबाही र त्यसको प्रतिकार, भावी संघर्षका रणनीतिलगायतबारे प्रशिक्षण दिने जिल्ला पार्टीले जनाएको छ। उदयपुरका ८ वटै गाउँ तथा नगरपालिकाबाट नेता कार्यकर्ताको सहभागिता रहेको भेलामा केन्द्रीय सदस्यहरु जगन्नाथ खतिवडा र बलदेव चौधरीलगायतको पनि सहभागिता रहेको छ।    

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि नेपाल, रावल, भुषाल र पाण्डेलाई ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निस्कासनको कारबाही गरिसकेका छन्। आफूहरुमाथिको कारबाहीको औचित्य पुष्टि नहुने भन्दै नेपाल समूहले बिभिन्न पार्टी गतिबिधिको कार्यक्रम गर्दै आएको छ। ओली प्रतिगमनकारी भएको र पार्टी फुटको प्रमुख कारक भएको भन्दै यो समूहले देशव्यापी रुपमा एमालेको समानान्तर कमिटी गठन गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमहरु गर्दै आएको छ।  

नेपाल समूहको समानान्तर भेला हुन थालेपछि दुई पक्षबीच झडप हुने संभावना देखिएको भन्दै कार्यक्रमस्थलमा सुरक्षा सतर्कता बढाइएको छ। फागुन २३ गतेको सर्वोच्चको फैसलाले पूर्व एमाले र माओबादीलाई व्युँताईदिएपछि त्रियुगा नगरपालिका १२ पुलचोक नजिकै रहेको साविक एमाले पार्टी कार्यालय भवन ओलीपक्षले कब्जा गरेर कार्यक्रमहरु गर्दै आएको छ।  

यसैबीच नेपाल समूहले पार्टीका निर्वाचित जिल्ला अध्यक्ष इश्वरमणि राउत र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जसमेत रहेका बलदेव चौधरीसहित बहुमत नेता कार्यकर्ताहरु आफूसँग भएको भन्दै केही दिनअघि सोही भवनमा पार्टीको समानान्तर साईनबोर्ड र झण्डा गाडेपछि झडपको संभावना बढेको अनुमान गरिएको हो। बोर्ड र झण्डा राखेको केही दिनमै नेपाल पक्षका नेता पाण्डेको उपस्थितिमा जिल्ला कार्यकर्ता भेला हुने भएपछि झडपको संभावना बढेको भन्दै जिल्ला सुरक्षा निकायले कार्यक्रमस्थलमा सुरक्षा सतर्कता मिलाएको जनाएको छ।  

जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले कार्यकर्ता भेला पार्टी कार्यालय भवनमा नभई होटलमा आयोजना गरिकाले झडपको संभावना नरहेको बताए। उनले संभावित खतराप्रति सचेत हुँदै आवश्यक सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मी तैनाथ गरिएको बताए। नेपाल समूहले भने नेता कार्यकर्ताको संख्या अत्याधिक भएपछि कार्यालय भवनमा सहभागी नआँट्ने भएकाले होटलमा कार्यक्रम गर्नुपरेको जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७७ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App