१५ चैत्र २०८० बिहीबार
राजनीति

कांग्रेसमा मौलाउँदो गुट, सक्रिय सदस्यमा पनि भागबन्डा

गत बुधबार दाङमा पत्रकारहरूले अब पार्टीमा रहने भूमिकाबारे सोध्दा कांग्रेस नेता डा. शेखर कोइरालाले जवाफ दिए, ‘कांग्रेसका सबै टिमसँग बसिरहेको छु ।’ उनले सो प्रसंगले कांग्रेसभित्रका जिल्लागत गुटलाई संकेत गर्छ । ‘दाङमै पनि कांग्रेसका चार/पाँच थरी समूह छन्,’ उनले भनेका थिए, ‘सबैसँग बसिरहेको छु तर कुन समूहले मलाई सहयोग गर्छ भन्ने पनि मैले बुझेको छु ।’ कांग्रेसको आगामी सभापतिको दौडमा रहेका कोइरालाले केन्द्र स्तरमा मात्रै हैन, जिल्लाजिल्लामा कांग्रेसभित्र अनेकन् गुट रहेको नकार्न सकेनन् । फलतः उनले दाङकै चारपाँच गुटसँग बसेर सभापतिका लागि सहयोग माग गरेको पत्रकार सम्मेलनमै स्विकारे ।

लामो समयदेखि गुटउपगुटको सिकार बन्दै आएको कांग्रेसभित्र मूलतः केन्द्रीय नेतृत्वले नै गुट खडा गरेको आरोप लाग्ने गर्छ । केन्द्रीय नेताकै गुटगत राजनीतिका कारण कांग्रेसले नोक्सानी बेहोर्नुपरेको भनेर जिल्ला तहबाट नेतृत्व पंक्तिमाथि लाग्ने आरोप एक अर्थमा सही होला । तर कांग्रेसको गुट शृंखलाको आरोप केन्द्रीय नेतृत्वमाथि लाग्ने भए पनि कांग्रेसभित्रको गुटगत राजनीति पार्टीको तल्लो तह वडास्तरबाटै व्यापक रूपमा सुरु भइसकेको हुन्छ । यो राजनीति वडा तहकै नेताहरूले सुरु गरिसकेका हुन्छन् ।  

दाङमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले भनेजस्तै दाङमा केन्द्रीय नेताका खेमासँगै जिल्लागत नेताहरू पनि आ–आफ्नै गुट निर्माणमा सक्रिय छन् । भलै कांग्रेसले आयोजना गर्ने भेला वा सभाहरूमा उनै नेताहरूले केन्द्रीय स्तरका नेताहरू गुट–उपगुटमा लागेको भनेर आलोचना गर्न पछि पर्दैनन् । जिल्ला स्तरका नेताहरूको गुटको शृंखला वडा तहबाटै सुरु हुन्छ । अहिले कांग्रेसको महाधिवेशनको चर्चा चलिरहेका बेला वडा तहमा कांग्रेसका नेताहरू बढी केन्द्रित भएका छन् । कारण हो, सक्रिय सदस्यता वितरण । फलतः गुटको शृंखला वडा तहमा सक्रिय सदस्यता वितरणदेखि नै प्रारम्भ हुने गरेको छ । नेताहरूले पार्टीले दिने सक्रिय सदस्यता संख्या बाँडफाँड गरेरै टुंग्याइरहेका छन् । कसले कति पाउने भनेर दामाशाही हिसाबमा उनीहरूले भागबन्डा गर्ने गरेका छन् । कतिपय वडामा यही भागबन्डा नमिल्दा सदस्यता संख्या टुंगो लाग्नै सकेको छैन ।  

घोराही उपमहानगरपालिकाको एक वडामा दुई दिनअघि बल्ल सदस्यता संख्या टुंगो लाग्यो । बुधबार वडा तहका एक नेताले आफ्नो भागमा ५० जना परेको सुनाए । वडाका सभापति, उपसभापतिसहित ती नेताले सक्रिय सदस्यता संख्या भागबन्डा गरेर टुंग्याए । ‘आ–आफ्नो भागको कोटा छुट्याएर बल्लतल्ल मिलायौं,’ ती नेताले भने, ‘मेरो भागमा ५० जना परे ।’ अहिले संख्याको भागबन्डा गरेका वडा तहका नेताहरूले अब आ–आफ्नो कोटामा आफ्नै निकटस्थको नाम सिफारिस गर्नेछन् । ताकि आफ्नो कोटामा परेकाहरूले आफूलाई मात्रै नेता मानून् भन्ने मानकिसता वडा तहका नेताहरूले बोकेका छन् ।  

कांग्रेसको क्षेत्रीय प्रतिनिधि चुनिए मात्रै पार्टीको उपल्लो पदमा प्रतिस्पर्धी बन्न पाइने कांग्रेको विधानले उनीहरूलाई वडा तहमै गुट निर्माण बाध्यकारीजस्तै बनिदिएको छ । फलतः उनीहरूले क्षेत्रीय प्रतिनिधि चयनका लागि वडा तहमा सक्रिय सदस्यहरू पकेटमा राख्न चाहन्छन् । ‘पार्टीको कुनै पनि उपल्लो पदका लागि वडा तहबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर आउनुपर्छ,’ कांग्रेसका पूर्वजिल्ला सभापति वीरकेसरी गौतमले भने, ‘फलतः कांग्रेसको राजनीतिका लागि वडा तहको निर्वाचन मेरुदण्डजस्तै हो ।’

वडा तहमा चल्ने सक्रिय सदस्यको भागबन्डाले सक्रिय सदस्यहरूलाई कुनै न कुनै गुटको राजनीतिक संस्कार सिकाइसकेको हुन्छ । आफ्नो कोटामा सिफारिस भएकाहरूलाई सिफारिस गर्ने नेताहरूले त्यसको जस एकलौटी लिन खोज्छन् । अनि अर्को समूहको नेताले त्यो सक्रिय सदस्यलाई फरक गुटको देख्न थाल्छ । अनि नयाँ सक्रिय सदस्यसमेत कांग्रेसको गुटगत राजनीतिमा अभ्यस्त बन्दै जाने गरेको जानकारहरू बताउँछन् । ‘केन्द्रमा पार्टी गुटमा लाग्यो भनेर हामी आरोप लगाउँछौं तर रूखको जरादेखि नै गुटको शृंखला सुरु भइसक्छ,’ कांग्रेसका पूर्वजिल्ला सभापति गौतमले भने, ‘वडा तहमा सक्रिय सदस्यता संख्या भागबन्डा गर्न थालेपछि गुटको सुरुवात त वडातह बाटै सुरु भइहाल्यो नि ।’

त्यसमा पनि कोटाका आधारमा सक्रिय सदस्यता वितरण हुने भएकाले कोटामा नपर्दा पार्टीमा योगदान गरेकाहरू नपर्ने र योगदान नगरेकाहरू सक्रिय सदस्यको योग्य बन्ने खतरा रहने हुन्छ । पार्टीको विधानमा योगदानको मूल्यांकनका आधारमा सक्रिय सदस्य दिइनुपर्ने भन्ने छ । ‘आफ्नो अनुकूलको मान्छे मात्रै आफ्नो कोटामा हाल्नुपर्‍यो,’ जिल्लाका अर्का कांग्रेस नेताले भने, ‘कोटा पूरा गर्नेतर्फ मात्रै ध्यान हुने हुँदा त पार्टीमा योगदान नगरेकाहरू सक्रिय सदस्यको काबिल हुने र योगदान गरेकाहरू छुट्ने समस्या स्वतः भइहाल्छ नि ।’

वडा तहमा सक्रिय संख्याको भाग खोज्ने वडा तहका नेताहरूलाई उपल्लो जिल्ला तहका नेता विशेषले पक्रिरहेका हुन्छन् । उनीहरू आफ्नो गुटका जिल्ला तहकै नेताहरूको निर्देशनअनुसार सदस्यता संख्याको मागमा अडिग रहेका हुन्छन् । सक्रिय सदस्यता वितरणदेखि नै गुटगत राजनीति सुरु हुने कांग्रेसभित्र विगतका वर्षहरूमा पनि बाँडफाँडमै सक्रिय सदस्यता टुंग्याइएको नेताहरू बताउँछन् । वडा तहमा प्रभाव राख्न सक्ने नेताहरूबीच भागबन्डा नमिल्दासम्म सक्रिय सदस्यताको टुंगो नै नलाग्ने एक नेताले बताए । ‘विगतमा पनि यसैगरी भागबन्डा गरेरै सक्रिय सदस्यता टुंग्याइएका हुन् कांग्रेसका एक क्षेत्रीय सभापतिले भने, ‘भागबन्डा निमल्दासम्म त सक्रिय सदस्यताको टुंगो पनि लाग्दैन, विवादमै अड्किइरहन्छ ।’

प्रकाशित: ७ चैत्र २०७७ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App