८ वैशाख २०८१ शनिबार
राजनीति

जसपामा दुई समूह छुट्टाछुट्टै भेला

नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन्। पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन्। पूर्व राष्ट्रिय जनता पार्टी नेपालका नेताले भने बिहीबार नै छुट्टै बैठक गरेका थिए।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनुअघि समाजवादी पार्टीको कार्यालय बालकुमारीमा थियो। एकीकरणपछि पनि जसपाको कार्यालय बालकुमारीमै राखिएको छ। बालकुमारीमा आयोजित भेलामा पूर्व समाजवादीका नेताहरूलाई मात्र बोलाइएको पूर्व समाजवादीका सचिव इस्तियाक राईले बताए। ‘हिजो (बिहीबार) पूर्व राजपाले भेला बोलायो भन्ने सुन्यौं। आज हामीले बैठक बोलायौं’, राईले भने, ‘हामीले बोलाएको बैठक समायोजनको विषयमा केन्द्रित थियो।’ सो बैठकमा पूर्व समाजवादीका सबै शीर्ष नेताको उपस्थिति थियो।  

पूर्व राजपाले बिहीबार साँझ इन्द्रेणी फुडल्यान्डमा भेला बोलाएको थियो। भेलामा तत्कालीन जसपा अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ५ जना उपस्थित थिए। एकजना सदस्य महेन्द्र यादव भने बैठकमा उपस्थित भएनन्। पछिल्लो समयमा उनले उपेन्द्र यादवलाई साथ दिँदै आएका छन्।  

इन्द्रेणी फुडल्यान्डमा पूर्व राजपा नेताहरूको भेला बोलाइएको पूर्व राजपाका महासचिव राजीव झाले स्वीकार गरे। जसपाका अधिकांश कार्यकर्ताले यसपटक पार्टीले नगदमा सहमति गरोस् भन्ने चाहेको उनले बताए। ‘हामीले वर्तमान प्रधानमन्त्रीसँग सहमति गर्‍यौं भने हाम्रो माग तत्काल पूरा हुन्छ तर माओवादी केन्द्रसँग सहमति गर्‍यौं भने उधारोमा सहमति हुन्छ’, झाले भने, ‘त्यसैले यसपटक उधारोमा होइन, नगदमा सहमति होस् भन्ने अधिकांश साथीहरूको भावना छ।’ पूर्व राजपाको भेलामा समायोजनको विषयमा पनि छलफल भएको नेताहरूले जनाएका छन्।  

भेलाले तत्कालीन समाजवादीसँग राजपाको समायोजन गर्न मनिष सुमनको संयोजकत्वमा कार्यदल गठन गरेको छ। नयाँ समीकरण निर्माणको विषयमा निर्णायक छलफल गर्न बिहीबार दिउँसो जसपाको कार्यकारिणी समिति बैठक बोलाइएको थियो तर तयारी नपुगेको भन्दै बैठक स्थगित भयो। स्थगित बैठक होलीपछि मात्र बस्ने सम्भावना रहेको नेताहरूले जनाएका छन। कार्यकारिणी समितिको बैठक स्थगित भएपछि पूर्व राजपा नेताहरूले भेला बोलाएका थिए। स्रोतका अनुसार कार्यकारिणी समितिको बैठकमा पार्टी अध्यक्ष यादवले माओवादी केन्द्रसँग मिलेर जाने प्रस्ताव पेस गर्ने तयारी गरेका थिए। तर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो भने केपी ओलीसँग सहकार्य गर्नुपर्ने पक्षमा छन्।  

महन्थलाई भेट्न बबरमहल पुगे वर्षमान

नयाँ समीकरण निर्माणको विषयमा विवाद भइरहको बेला माओवादी केन्द्रका नेता वर्षमान पुन जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न शुक्रबार दिउँसो पूर्व राजपाको पार्टी कार्यालय बबरमहल पुगेका छन्। ठाकुर र पुनबीच भएको कुराकानीमा अरू कसैलाई पनि सहभागी नबनाइएको स्रोतको भनाइ छ। नयाँ समीकरण निर्माणको विषयमा कुराकानी भएको पूर्व राजपाका एक नेताले बताए। पछिल्लो समय महन्थ प्रधानमन्त्री ओलीसँग निकट मानिन्छन्।

प्रकाशित: ७ चैत्र २०७७ ००:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App