coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्ड र नेपाल लोभी, प्रधानमन्त्री अहंकारीः गगन थापा

पोखरामा शुक्रबार बोल्दै कांग्रेस नेता गगन थापा । तस्बिरः उमेश पुन÷नागरिक

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली अहंकारी र अयोग्य भएको टिप्पणी गरेका छन् । अयोग्य र अहंकारी भएकै कारणले ओलीले पाएको जिम्मा पनि सही ढंगले निर्वाह गर्न नसकेको थापाले बताए । त्यस्तै पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पनि लोभी भएको उनले बताए ।  

पशु प्राविधिकहरुको कार्यक्रममा शुक्रबार पोखरामा बोल्दै थापाले भने, ‘प्रधानमन्त्री अहंकारी र अयोग्य भएको कारणले पाएको जिम्मा पनि सही ढंगले निर्वाह गर्न सकेनन् । अहंकारी र अयोग्य हुँदाहुँदै पनि प्रधानमन्त्रीले सार्वजनिक भेलामा हजारौ मान्छेका सामु हात हल्याउँदै आएका छन् ।’ प्रधानमन्त्रीमा दम्भ र अहंकार रहेको उनले बताए ।  

‘प्रधानमन्त्रीलाई थोरै पनि लाज, अप्ठेरो, संकोच लाग्नुपर्ने हो । म मान्छेलाई के भनिरहेको छु भन्ने थाहा पाउनुपर्ने हो । पाँचवर्षका लागि पाएको जिम्मा निर्वाह गर्न नसक्दा अप्ठेरो लाग्नुपर्ने हो, तर रत्तिभर पनि अप्ठेरो लागेको छैन,’ थापाले भने, ‘अहिले पनि म सर्वाेत्तम हुँ, सत्य हुँ, राज्य हुँ, पूर्ण रुपमा शक्ति मै हुँ, सबै गल्ती कमजोरी अरुका हुन् भन्ने लागेको छ, त्यसको निरन्तरता अहिले पनि छ ।’  

पाँचवर्षका निम्ति नेकपाले सरकार चलाउने र कांग्रेस प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको भएपनि प्रधानमन्त्रीमा अहंकार हुँदा समस्या भएको उनले बताए । ‘प्रधानमन्त्री ओलीले तीनवर्ष अघि फागुनमा संसदमा विश्वासको मत पाएको दिनबाट करिब १८ सय दिन नेकपाले सरकारमा बस्ने जिम्मा पाएको हो । तर १८ सय दिन नेकपाले आफुलाई सम्हालेर, जिम्मेवारी पुरा गनुपर्ने थियो । तर अहिले नेकपा नै छैन,’ उनले भने, ‘बीचमा त संसद पनि थिएन । सरकार कसले बनाउने अलमल थियो । यो सबै एउटा व्यक्ति जो ड्राइभिङ सिटमा छ, प्रधानमन्त्री, जसले सबै हाक्ने जिम्मा पाएका थिए, उ चरम अहंकारी छ, सँगै चरम अयोग्य पनि । अयोग्य व्यक्ति अहंकारी हुँदा समस्या भयो ।’  

अयोग्य व्यक्ति अहंकारी हुँदा उसले आफुसँगको अयोग्यताको कारणले भएको ग्याप नदेख्ने उनले बताए । ‘अयोग्य व्यक्तिले आफुलाई पूर्ण ठान्छ । जसले गर्दा समस्या हुन्छ,’ उनले भने । यस्तो हुनुमा प्रतिपक्षका ठाउँबाट निरन्तर दवाव, हस्तक्षेप, प्रश्न राख्नुपर्ने, भएपनि त्यो गर्न नसकेको उनले बताए । ‘हो, हामीलाई देखेर प्रधानमन्त्री डराउनुपर्ने हो । हामीले प्रधानमन्त्रीलाई डर देखाउन सकेनौ,’ उनले भने ।  

त्यसबाहेक प्रधानमन्त्रीको पार्टीभित्र पनि उस्तै समस्या रहेको उनले बताए । पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालको हालत पनि निरिह रहेको उनले बताए । प्रधानमन्त्री ओलीको अहंकार निर्माणमा दाहाल र नेपालले दुईतिरबाट साथ दिएको उनले बताए । ‘दुवैतिरबाट काँध थाप्ने काम भयो । प्रचण्डको मनमा पनि लोभ थियो, नेपालको मनमा पनि लोभ थियो,’ थापाले भने ।  

प्रचण्डलाई यो प्लेन दुईवटा पाइलटले मिलेर चलाउने हो,एउटा पाइलट म हुँ, मेरो स्वास्थ्य ठिक छैन, केही समयपछि मैले विश्राम लिएपछि तपाईँले नै प्लेनलाई कहिले तल र कहिले माथि पारेर एक्लै उडाउने हो भनेर खुसी दिलाउँदा दाहालले आँखा चिम्लिएर बसेको पनि थापाले बताए । किनकी दाहालको लोभका कारण आँखा बन्द भएको उनले बताए ।  

अर्का नेता नेपाललाई पनि यिनिहरु माओवादीबाट आएका हुन् । मौका मिलेको बेला कुहिनोले पेलेर धकेल्नुपर्छ, पुरानो एमाले एक हुनुपर्छ, बेलामा देखाउनुपर्छ भनेपछि नेपाल पनि चुप बसेको थापाले बताए । ‘तर, अहिले हामी यहाँ छौ भनेर भन्नुपरेको छ । एमाले र माओवादी दुईपार्टी भएपछि कहिले कता कहिले कता हुँदै पार्टी प्यालेसमा पुग्नुपरेको छ,’ थापाले भने, ‘प्रधानमन्त्रीले सबैको नाडि छामेका छन् । प्रधानमन्त्रीले सबैलाई हेपेका छन् । प्रधानमन्त्रीले नेतालाई हेप्दै गर्दा जनतालाई हेपेका छन, संसद, जनता, व्यवस्थालाई हेपेका छन् ।’  

उनले नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएपछि मलामी जाने मान्छे पनि नभएको बताए । हिजो मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भन्नेले अहिले कम्युष्टि पार्टी मर्दा कोही नबोल्ने उनले बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको नाममा भएको निर्वाचनबाट आएका जनप्रतिनिधिलाई जनप्रतिनिधि नै मान्न नसकिने पनि बताए । ‘पार्टी नै  छैन । पार्टी नै नभएपछि जनप्रतिनिधि नै रहेनन् । एमाले एमालेमै फर्किए, माओवादी माओवादीमा फर्किएका छन् । त्यसैले अब पार्टी नै मरिसकेको छ,’ थापाले भने, ‘उनीहरु नेकपाबाट जितेका हन् । पार्टी मरेपछि जनप्रतिनिधि रहँदैन, निर्वाचन परिणाम मान्दैनौ भन्नुपर्छ ।’

प्रकाशित: ६ चैत्र २०७७ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App