coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

केपी ओलीलाई प्रधानमन्त्रीबाट नहटाए देश थप संकटमा फस्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको हत्या गर्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका छन्। नेपालको संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र बिरोधीलाई समर्थन गर्नु भएको बताउँदै पौडेलले संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतमा साथ दिनुपर्ने बताए । नेपाली कांग्रेस म्याग्दीले पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौँ दिनको पुण्यतिथिको अवसरमा सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हरेक गतिविधि लोकतन्त्र विरोधी र संविधानको रक्षाका लागि बाधक भएकाले बर्हिगमन अपरिहार्य भएको बताए ।  

‘अहिलेको सरकारलाई हटाउनुको विकल्प छैन। उनीहरूको स्वार्थले संविधान नै खतरामा पर्ने अवस्था आइसक्यो। अब पनि कांग्रेसले मौका गुमाउनु हँुदैन’, नेता पौडेलले भने। नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए । ‘केपी ओलीको नेतृत्वमा निर्वाचन सम्भव नै छैन्। निर्वाचन हुने अवस्था आएपनि अहिलेको सरकारले गर्न सक्दैन् । गरेपनि ठूलो दुर्घटना हुन्छ’, उनले भने। नेकपा भित्र विवाद भइरहेको अवस्थामा संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर कांग्रेसले ठूलो अवसर गुमाएको समेत पौडेलको भनाइ छ। ‘अब पनि ओलीलाई हटाउन ध्यान नदिए । कांग्रेस र लोकतन्त्र दुबै खतरामा पर्छ । प्रतिपक्षमा बस्ने भएपनि यो सरकारलाई हटाउनैपर्छ’, नेता पौडेलले भने । सम्बोधनका क्रममा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्ता र नियुक्तीमा प्रधानमन्त्री ओलीको प्रलोभन देखाइरहेको समेत बताए ।  

उनले माओवादी जनयुद्धमा कांग्रेसका लागि प्रचण्ड दुस्मन थिए भने लोकतन्त्रमा केपी ओली प्रमुख दुस्मन भएकाले हटाएरै छोड्नुपर्नेमा जोड दिए । संसद विघटनसम्मको निर्णय गर्ने प्रधानमन्त्री ओलीलाई अझै सत्तामा बस्ने वातावरण बनाए थप लोकतन्त्र संकटमा पर्ने नेता पौडेलको भनाइ थियो। ‘सर्वोच्चले एमाले र माओवादीलाई अस्तित्वमा ल्याउनु नै एउटा सेटिङ हो । मागभन्दा एक कदम अघि बढेर गरिएको अदालतको पछिल्लो फैसला पनि अर्को विकृति हो’, नेता पौडेलले भने । अधिकांश समय प्रधानमन्त्री ओलीविरुद्ध खनिएका नेता पौडेलले विकृत राजनीतिकै श्रृंखलालाई निरन्तरता दिनबाट रोक्न नयाँ सरकार आवश्यकता रहेको  बताए । ‘ओलीलाई धेरै सत्तामा टिके भने लोकतन्त्र नै सखाप हुन्छ’, नेता पौडेलले भने । उनले पार्टी सभापति देउवाले ओलीविरुद्ध बोल्न नसक्नुमा केही स्वार्थ लुकेको हुनसक्ने समेत बताए ।  

उनले जसपा र माओवादी केन्द्रको साथ पाए कांग्रेसले सरकारको नेतृत्वमा एकमत भएर निर्णय गर्ने समेत बताए । श्रद्धाञ्जली सभामा  म्याग्दी, बागलुङ र पर्वतका कांग्रेस नेताहरूको समेत सहभागिता रहेको थियो । बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको गष्त मंगलाबार ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल जिल्ला कार्यसमितिको सभापति बनेका थिए। कांग्रेस म्याग्दीले स्वर्गीय खड्कोका सम्झनामा केही योजना बनाएर काम गर्ने सभापति खमबहादुर गर्बुजाले बताए।

प्रकाशित: १ चैत्र २०७७ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App