२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मध्यावधि निर्वाचनको विकल्प छैन: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्।

झापाको बिर्तामोडमा बुधबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै मध्यावधि निर्वाचनको विकल्प नरहेको बताए। ‘नेपाल कम्युनिस्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी केन्द्र) मा फर्किए, सहज रूपमा अब संसद् चल्न सक्दैन,’ उनले भने, ‘संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ।’  

डा.कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरूप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन समेत दिए। उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गरे।

‘चुनाव २०७८ चैतभन्दा पछि जान भएन। त्यसभन्दा पछि भयो भने देशले ठूलो नोक्सान बेहोर्छ,’ उनले भने, ‘देशको अहिलेको अन्योल अन्त्य गर्दै मुलुकलाई निकास दिन कांग्रेसले सरकार निर्माणको पहल थाल्नुपर्छ।’फरक प्रसंगमा डा. कोइरालाले कांग्रेसको १४ औं महाधिवेशनको आफू बलियो सभापतिको दावेदार रहेको बताउँदै सोहीअनुरूप नै जिल्ला दौडाहामा निस्किएको जानकारी दिए।

१४ औं महाधिवेशनबाट पार्टी नयाँ पुस्तामा जाने उनको दाबी छ। आम नेता कार्यकर्ताले कांग्रेसभित्रको गुटबन्दी र भागबन्डा अन्त्य हुनुपर्ने चाहेको र त्यसको नेतृत्व आफूले गर्ने उनले बताए। पार्टी नेतृत्वले इमान्दार नेता कार्यकर्ताको मूल्यांकन गर्न नसक्दा अहिले समस्या उत्पन्न हुने गरेको कोइरालाको भनाइ छ। महाधिवेशन पछि पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्न आफूले कुनै कसर बाँकी नराख्ने डा.कोइरालाले प्रतिवद्धता समेत व्यक्त गरे।

प्रकाशित: २७ फाल्गुन २०७७ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App