१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा खारेजी : कांग्रेसलाई अवसर

सर्बोच्चले नेकपा खारेज गरिदिएपछि एमाले र माओबादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन् । दुई दल मिदेर झण्डै दुई तिहाईको शक्तिमा पुगेका उनिहरु अब आआफ्नै पुरानै हैसियतमा कायम भएका छन् ।सर्बोच्चले नेकपा एमाले र माओबादी केन्द्रलाई पूर्ववत् अवस्थामा कायम गरिदिएपछि त्यसको फाईदा नेपाली कांग्रेसलाई पर्ने देखिन्छ । दाङको स्थानीय तहको चुनावी मत परिणामलाई हेर्ने हो कांग्रेसले एमाले र माओबादीको घर फिर्ताको अवसर पर्याप्त पाउन सक्ने उच्चतम् सम्भावना छ ।  

स्थानीय तहको निर्वाचन २०७४ मा कांग्रेसले क्षेत्र नम्बर १ मा कुल १८ हजार ७ सय ७ मत प्राप्त गर्यो । यो मत सहित पहिलो स्थानमा कांग्रेस रहँदा १८ हजार २ सय ९८ मत प्राप्त गर्यो भने तेस्रो स्थानमा रहेको माओबादी केन्द्रले जम्मा १५ हजार २ सय ११ मत मात्रै प्राप्त गर्न सक्यो । तर यो क्षेत्रमा स्थानीय तहगत रुपमा प्राप्त गरेको कांग्रेसको बिजयी मतले प्रतिनिधि निर्वाचनमा उसलाई जिताउन भने सकेन । कारण प्रतिनिधिसभा निर्वाचन सम्म आईपुग्दा एमाले र माओबादी केन्द्र बिच चुनावी समिकरण बनिसकेको थियो ।  

यसैगरि स्थानीय तहगत भोटलाई आधार मान्दा क्षेत्र नम्बर २ मा कांग्रेस एमाले भन्दा झिनो मतान्तरले पछि परेको देखिन्छ । एमालेले यो क्षेत्रमा २१ हजार ६ सय ३६ मत प्राप्त गर्दा २० हजार ९ सय ८१ मत प्राप्त गर्दै कांग्रेस दोस्रो स्थानमा कायम भयो । यो क्षेत्रमा कांग्रेस एमाले भन्दा ६ सय ५६ मतले पछाडि पर्यो । 

यसैगरि तेस्रो स्थानमा रहेको माओबादी केन्द्र १७ हजार ५ सय ५३ मतमा सिमित बन्न पुग्यो । स्थानीय तहको निर्वाचन सम्म ६ सय ५६ मतले पछि परेको कांग्रेसले यो मतान्तर प्रतिनिधिसभामा मेट्न चाहन्थ्यो । तर एमाले र माओबादी बिचको चुनावी समिकरणका सामु कांग्रेसको जोड चल्न सकेन ।  

यसैगरि क्षेत्र नम्बर ३ मा स्थानीय तहको निर्वाचनमा कांग्रेसले २६ हजार ४९ मत प्राप्त गर्दा एमाले झिाने मतान्तरले अघि रह्यो । उसले कांग्रेसको भन्दा २ सय ३३ मत बढि २६ हजार २ सय ८२ मत प्राप्त गर्यो । यो क्षेत्रमा पनि तेस्रो स्थानमा रहेको माओबादी केन्द्रले १५ हजार ४ सय ४५ मत प्राप्त गर्यो ।  एमाले संगको झण्डै अढाई सयको मतान्तर मेट्न चाहेको कांग्रेसले यो क्षेत्रमा पनि एमाले र माओबादी बिचको चुनावी समिकरणको मार खेप्नु पर्यो । त्यसोत, जिल्लाका कुल १ सय वडा मध्य कांग्रेसले ४० वडामा एकल जीत हात पारेको छ ।  

गत स्थानीय तहको यो चुनावी मत परिणामलाई हेर्ने हो भने कांग्रेस एउटा निर्वाचन क्षेत्रमा पहिलो शक्तिका रुपमा छ भने अन्य दुईवटा निर्वाचन क्षेत्रमा एमाले भन्दा झिनो मतान्तरका साथ दोस्रो स्थानमा छ । राजनीतिक जानकारहरुका अनुसार ‘नेकपा खारेजी’ कांग्रेसका लागि आगामी निर्वाचनमा फाईदा सिद्ध हुने देखिन्छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा चुनावी समिकरण गरेर कांग्रेसलाई एकलौटी घाटा पुर्याएको नेकपा खारेज भैसकेपछि खारेजीको दोष एमाले र माओबादी दुबै दललाई पर्न जान्छ  ।  

उनिहरु माथि पर्न जाने दोषको फाईदा स्वाभाविकै रुपमा अर्को प्रमुखदल कांग्रेसलाई पर्न जान्छ । ‘नेकपा खारेजी किन भयो ? यसको दोष स्वाभाविकै रुपमा पहिले एकता गरेका दुबै दलमाथि पर्न जान्छ,’ महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका उपप्राध्यापक सुदीप गौतम भन्छन् ‘मतदाताहरुले यसको दोष एकता गरेका एमाले र माओबादी केन्द्रलाई नै लगाउने हुन् , एमाले र माओबादी माथिको यो असन्तुष्टिको फाईदा कांग्रेसलाई पर्न जान्छ नै ।’ सत्ता र कुर्सीकै कारण तत्कालीन नेकपा खारेज भएको बुझाई आम मतदातामा छ । 

फलतः एमाले र माओबादी केन्द्र दुबै सत्ताका भोगीको रुपमा मतदाता सामु चित्रण हुनु उनिहरुका लागि अर्को घाटा बन्न सक्ने देखिन्छ । ‘दुई तिहाईको शक्तिमा पुग्दा समेत स्थिर चलाउन नसक्नुको दोष तत्कालीन नेकपामा रहेका दुबै दलहरुले मतदाताबाट खेप्नु पर्ने देखिन्छ,’ गौतमले भने ‘सत्ताकै लागि मरिहत्ते गरेका कारण नेकपा खारेज भएको हो भन्ने बुझाई मतदाता सामु छ, यसर्थ यसको घाटा नेकपामा समाहित भएका दुबै राजनीतिक दललाई पर्न जान्छ ।’ तर यसमा एमाले पक्षले माओबादीलाई बढि दोषारोपण गर्न सक्ने अवस्था आउन सक्छ । 

सरकारको नेतृत्व गरिरहेको एमालेले माओबादीकै कारण आँफूलाई काम गर्न नदिएको भनेर नयाँ चुनावी रणनीति कायम गर्न सक्छ । यो बिचमा कांग्रेसले दुबै दल एमाले र माओबादी उत्तिकै जिम्मेवार रहेको भनेर मतदातालाई फकाउन लागि पर्ने जानकारहरु बताउँछन् ।  

गत स्थानीय तहको निर्वाचनमा पहिलो स्थानमा रहेको एमाले भित्रको लडाईँ कांग्रेसका लागि अर्को फाईदाको खुराक बन्न सक्छ । नेकपामा रहँदा एकले अर्को समुहलाई सिध्याउने रणनीतिमा लागेका सबै एमाले नेताहरु अहिले एकै थलोमा फर्किएका छन् । नेकपामा देखिएको एमालेकै नेता बिचको चरम उत्कर्षको खटपट अब एकै थलोमा सहजै साम्य हुने सम्भावना देखिँदैन । 

फलतः एमाले भित्रै चल्ने शक्ति संघर्षले एमालेलाई कमजोर पार्न सक्ने उच्च सम्भावना देखिन्छन् । ‘जसरी हिँजो नेकपा मा हुँदा एमालेकै नेताहरु एक अर्का बिरुद्ध सिध्याउने रणनीतिका साथ प्रस्तुत भए, उनिहरु आज फेरी एकै थलोमा उभिएका छन्,’ गौतम भन्छन् ‘हिँजो सम्म एकले अर्कोलाई सिध्याउने रणनीति बनाएका उनिहरु आज एकै पार्टीमा आउँदा सहजै एकले अर्कोलाई स्वीकार गरेर जाने अवस्था आउँदैन, फलतः एमाले भित्र चल्न सक्ने देखिएको शक्ति संघर्षको फाईदामा पनि कांग्रेस पर्ने देखिन्छ ।’  

त्यसोत, बिगतको हारको कारण ः नेपाली कांग्रेसले आँफूलाई चुनावमा परिपक्व पार्न सकेन । टिकट बितरणमा देखिएको कांग्रेसको अपरिपक्वताले पनि कांग्रेसका लागि अप्रत्यासित हार बेहोर्नु पर्यो । स्थानीय तहको चुनावी परिणामलाई हेर्ने हो भने लमही नगरपालिकामा उपमेयरमा जीत हाँसिल गरेको कांग्रेसले मेयरमा भने पराजय ब्यहोर्यो । दंगिशरण गाउँपालिकाको उपाध्यक्षमा जीत हाँसिल गरेको कांग्रेसले अध्यक्षमा भने हार बेहोर्नु पर्यो । यसैगरि बबई गाउँपालिकाकै एक वडामा कांग्रेसकै बागीले कांग्रेसको आधिकारीक उम्मेदवारलाई हराईदिए । 

बंगलाचुली गाउँपालिकामा मनोनयन अवधि सम्म पनि कांग्रेसले उम्मेदवार फेरबदल गर्नु जस्ता कारणले पनि उसलाई चुनावी मतपरिणाममा घाटा लागेको बिश्लेषण गौतम गर्छन् । ‘उम्मेदवार चयन वा शक्ति सन्तुलन मिलाउन नसक्दा कांग्रेसले केहि अप्रत्यासित हार बेहोर्नु परेको पनि छ,’ उनले भने ‘अब कांग्रेसले आफ्ना यि कमजोरीलाई सच्याएर अघि बढ्न सके उसका लागि नेकपा खारेजी ठूलो फाईदा बन्न सक्छ ।’

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति बिरकेसरी गौतले पनि एमाले र माओबादी आआफ्नै स्थानमा फर्किएपछिका फाईदा कांग्रेसलाई स्वाभाविकै रुपमा पर्न जाने बताउँछन् । नेकपा खारेजीको मुद्धाले नेपाली कांग्रेसलाई फाईदा पुग्ने भन्दै उनले कांग्रेसले पनि आँफूलाई परिमार्जन गर्नुपर्ने बताए । ‘

दुई पाटीृ मिलेर बृहत पार्टी बनेको नेकपा खारेज भएपछि मिलेका दुई पार्टी पुनः अलग अलग भएका छन्,’ उनले भने ‘नेकपा खारेजीले कांग्रेस पुनः आफ्नो शक्तिमा उभिन सकेको छ,तर कांग्रेसले पनि आँफूलाईपरिमार्जन गर्दै लैजानु पर्छ ।’ संगठन बिस्तारमा गरिएको लापरवाही तथा टिकट बितरणमा गरिने विगतका कमजोरीलाई कांग्रेसले सच्याउनै पर्ने उनको भनाई छ । 

प्रकाशित: २७ फाल्गुन २०७७ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App