१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा पुनर्स्थापनापछि नेपाली कांग्रेस ‘पर्ख र हेर’ काे अवस्थामा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादलाई सूक्ष्मरूपले हेर्ने निष्कर्ष निकालेको छ।  

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको आदेशप्रति सम्मान र खुसी व्यक्त गर्दै कांग्रेसले अहिले नै केही बोल्ने र गर्नेभन्दा नेकपाभित्रको विवाद कसरी अघि बढ्छ, त्यसलाई हेर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अदालतले बदर गरेपछि बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारीसहितका नेताहरूको बैठकले सत्ता समीकरणका विषयमा छलफल गर्ने बेला नआएको निष्कर्ष निकालेको छ। प्रतिनिधिसभाको आगामी बैठकसहित नेकपाभित्रको विवाद कसरी अघि बढ्छ, सोही अनुसार पार्टीको धारणा बनाउँदै अघि बढ्ने समझदारी कांग्रेस नेताले गरेका छन्।

‘विघटन बदरले संविधान सही बाटोमा फर्केको छ,’ बैठकपछि नेता रामचन्द्र पौडेलले भने, ‘अहिले नेकपाको कुरा के हो, कसरी अघि बढ्छ भन्ने केही अत्तोपत्तो छैन। प्रक्रिया सुरु भएपछि कांग्रेसले आफ्नो भूमिका स्पष्ट गर्ने हो। अहिले हामीले भन्ने, गर्ने, बोल्ने केही छैन।’

नेकपा राजनीतिक रूपमा दुई समूहमा विभाजित भएको अवस्थामा प्रतिनिधिसभा पुनस्र्थापनापछि कांग्रेस सत्ता राजनीतिको मुख्य साँचो भएको आकलन गर्न थालिएको छ। कांग्रेस पदाधिकारीसहितको बैठक भने नेकपा कानुनी रूपमा एउटै रहेको निष्कर्षसहित संसद्भित्रको प्रक्रिया सुरु भएपछि मात्र पार्टीले भूमिका स्पष्ट गर्ने निर्णयमा पुगेको छ।

नेकपा अहिले एउटा हो वा विभाजित हो, विभाजित भएको हो भने कुनचाहिँ आधिकारिक हो भन्ने टुंगो लागेपछि मात्र कांग्रेसको भूमिका स्पष्ट हुने नेताहरूको बुझाइ छ।  

‘कम्युनिस्ट पार्टी कसरी अगाडि बढ्छ ? अहिलेसम्म एकै छ, संसदीय दलको नेता ओलीजी नै हुनुहुन्छ। यो अवस्थामा भोलि उहाँहरूको पार्टी एकै रहन्छ अथवा अर्को परिस्थिति आउँछ, यो कांग्रेसले भन्ने कुरा होइन’, सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘संसद्को बैठक होस् अनि परिस्थिति कसरी अगाडि बढ्छ त्यसअनुसार कांग्रेसले आफ्नो निर्णय लिन्छ।’ अहिले नै कांग्रेसले निष्कर्ष निकाल्नु अपरिपक्व हुने बताउँदे उनले थपे, ‘सरकार राख्ने कि हटाउने भन्ने विषयमा कांग्रेसभन्दा नेकपा नै निर्णायक हो। पहिले नेकपा प्रस्ट हुनुपर्छ।’

बैठकमा नेकपाका दुवै समूहबाट सहकार्यको प्रस्ताव आएको जानकारी गराउँदै सभापति देउवाले कुनै पनि समूहलाई आश्वासन नदिएको बताए। नेकपाको विवादको टुंगो लागेपछि मात्र सहकार्यका विषयमा छलफल गर्न सकिने जबाफ दिएको पनि देउवाले बैठकमा जानकारी गराए। नेकपा दाहाल–नेपाल समूहका पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार देउवालाई उनकै निवास पुगेर सहकार्यको प्रस्ताव गरेका थिए।

नेकपा एकै रहेको अवस्थामा कांग्रेसको भूमिका प्रतिपक्षीकै रहने, उक्त दल विभाजन भएको अवस्थामा मात्र सम्भावित सहकार्यको विषयमा प्रवेश गर्न मिल्ने कांग्रेस नेताहरूको बुझाइ छ। नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ।

नेकपा कानुनी रूपमै विभाजित भएको अवस्थामा कुन समूहसँग सहकार्य गर्ने, सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा कांग्रेसमा एक मत छैन।  

सभापति शेरबहादुर देउवासहितका नेताहरू प्रधानमन्त्री ओलीसँग नजिक रहेको विश्लेषण गरिँदै आएको छ। नेता रामचन्द्र पौडेलसहितको समूह भने प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षमा उभिएका पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग सहकार्य गर्न नरम देखिएको छ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App