१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले कि राजीनामा दिनुपर्छ कि संसदमा बहुमत पुर्‍याउनुपर्छ : देउवा

फाइल तस्बिर।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनःस्थापना भएपछि नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताएका छन्। कांग्रेस नेता महेन्द्र नारायण निधिको ९९औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले सर्वोच्च अदालतको फैसलाले नेपालको संसदीय व्यवस्था थप सुदृढ भएको बताएका हुन्।  

उनले अबको राजनीतिक दिशा प्रचण्ड–नेपालको कदमा भर पर्ने बताए। ‘संसद् पुनःस्थापना भइसकेको छ। माधव नेपाल र प्रचण्डजीहरु कसरी जान्छन्, उहाँहरुले हामीसँग अविश्वासको प्रस्ताव राख्नुहुन्छ कि नाइँ,’ उनले भने,‘ओलीजीले राजीनामा दिनुभयो भने अविश्वासको प्रस्ताव आवश्यक पर्दैन होला सायद। हामीले भनेर पनि हुनेवाला केही होइन।’

तर, प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलापछि कि संसद्मा बहुमत पुर्‍याउनुपर्ने कि राजीनामा दिनुपर्ने देउवाको भनाई छ। ‘सर्वोच्चको निर्णयपछि ओलीजीले कि संसदमा बहुमत पुर्‍याउनुपर्‍याे कि पदबाट राजीनामा दिँदा राम्रो हुन्छ। तर, हामीले यसो गर, उसो गर भन्ने कुरा पनि छैन,’ उनले भने।

संसद् पुनःस्थापनाअघि अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गर्न नुहने बताउने गरेका देउवाले आजको कार्यक्रममा पनि त्यो दोहोर्‍याए। ‘अदालतमा विचारधीनमा मुद्दामा यही गर भन्न उचित हुँदैन,’ उनले भने,‘अदालतलाई यही गर, उही गर भनेर संसारमा कहीँपनि हुँदैन।’

अर्को प्रसंगमा उनले कांग्रेसभित्रको आन्तरिक विवाद हल गर्नुपर्ने बताए। ‘हाम्रो पार्टीमा पनि रोग छ। यो अहिलेको रोग होइन पुरानै रोग हो,’ देउवाले भने।

उले आगामी भदौ १९ गतेभित्र कांग्रेसको महाधिवेशन गरिसक्नुपर्ने नभए संवैधानिक संकट आउने पनि बताए।

सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियाे।

प्रकाशित: १२ फाल्गुन २०७७ १२:५३ बुधबार

संसद पुन:स्थापना शेरबहादुर देउवा