९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीको निर्देशनमा प्रहरी उत्तेजित भए : पूर्वमन्त्री यादव

प्रहरीको प्रहारबाट गम्भीर घाइते पूर्वमन्त्री रामचन्द्र झा । तस्बिर: मिथिलेश यादव/नागरिक

प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको बन्दका क्रममा जनकपुरमा प्रहरीले बल प्रयोग गर्दा पूर्वमन्त्रीसहित चारजना घाइते भएका छन् ।  

जनकपुरको शिवचोकमा बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताले एउटा सवारीसाधनलाई रोक्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि अवस्था असमान्य बनेको थियो । सो क्रममा प्रहरीले र प्रदर्शनकारीबीच भएको झडपमा घाइते चारजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ । प्रहरीका लाठी, अश्रुग्यासका सेल प्रहारबाट घाइते भएका पूर्वमन्त्री रामचन्द्र झा, मातृका यादव, सहिद नगरपालिकाका मेयर उदय बरबरिया यादव र प्रदीप साहलाई थप उपचारका लागि काठमाडौं पठाइएको नेकपा (दहाल–नेपाल) प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतोले बताए ।  

टाउकोमा गम्भीर चोट लागेका झाको अत्यधिक रक्तश्राव भएको छ । झाको टाउकामा ६ टाँका लगाइएको पनि उनले बताए । मात्रिका यादवको खुट्टामा गम्भीर चोट छ । उदय बरबरियाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट छ । प्रदीपको टाउको गम्भीर चोट छ ।  

प्रदर्शनका क्रममा पूर्वमन्त्री मातृकाप्रसाद यादवलाई अश्रुग्यास सेल लाग्दा खुट्टामा चोट लागेको छ । सहिद नगरपालिकाका मेयर उदय बरबरिया र प्रदीप साह सिकिस्त भएका छन् । जनकपुर प्रादेशिक अस्पतालमा उपचारको क्रममा साहले ३/४ पटक वान्ता गरेपछि थप उपचारका लागि काठमाडौं लग्ने क्रममा विमानस्थलमा समेत वान्त गरेको नेता महतोले बताए । उनको अवस्था अत्यन्त गम्भीर रहेको उनले बताए । जनकपुरबाट बिहीबार दिउँसो ५ः३० बजे बुद्ध एयरको विमानबाट चारै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको महतोले बताए ।  

नेता महतोका अनुसार शान्तिपूर्ण प्रर्दशनमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको अवस्था असमान्य बन्न पुगेको हो । प्रहरीले शिवचोकमा अश्रुग्यास, लाठी र गोली एकसाथ प्रहार गरेको उनको भनाइ छ । प्रदर्शनकारीले कहीँकतै कुनै सार्वजनिक वा निजी सम्पतीमा क्षति पुर्याएको भए बल प्रयोग गर्नुको औचित्स सावित हुन्थ्यो महतोले नागरिकसँग भने, ‘केही पनि नभएको अवस्थामा गोली चलाउनु भनेको प्रहरी उत्तेजनामा आएर आक्रमण गरेको प्रष्ट हुन्छ ।’

प्रदेश २ को आठवटै जिल्लाभर शान्तिपूर्णरूपमा आमहडताल भइरहँदा जनकपुर तनावग्रस्त बन्न पुग्नुमा महतोले प्रहरीको दोष औल्याउँछन् ।

यता, प्रहरीको अश्रुग्यासको सेल खुट्टामा लागेर घाइते भएका पूर्वमन्त्री यादवका अनुसार सुरक्षाकर्मीले अन्धाधुन्द हवाइफायर र अश्रुग्यास प्रहार गरेको बताएका छन । ‘हामी शान्तिपूर्णरूपमा जुलुस अगाडि बढाइरहेका थियौँ यादवले भने, भानुचोकमा आइपुगेका थियौँ , म अगाडिको मोर्चामा अघि बढ्दै थिएँ । उनले भने,’ ‘प्रहरीले अचानक हानहान भन्दै प्रहार गर्न सुरु गरे । केपी ओलीको निर्देशनमा यो सब भएको यादवको आरोप छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले अश्रु ग्यास र हवाइ फायर एकसाथ अचानक कसरी प्रहार गर्न सक्छ ?,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलनमा सहभागी हाम्रा साथीहरू नराम्ररी घाइते भएका छन् ।’

धनुषा प्रहरीले स्वस्फूर्त खुलेका पसल र गाडीमाथि तोडफोड सुरु भएपछि प्रहरीले सम्झाइबुझाइ गर्दासमेत बन्दकर्ताले नमानेपछि समान्य बल प्रयोग गरिएको बताएको छ । निजी गाडी, प्रहरीको वानटन गाडीमा समेत बन्दकर्ताले तोडफोड गरेको उनले बताए । एकजना प्रहरीसमेत घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।  

बन्दको क्रममा प्रदेशभर ६३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तीमध्ये ६१ जनालाई बन्द खुलेसँगै छोडिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । लहानमा ट्रकमा तोडफोड गर्नेक्रममा पक्राउ परेका दुई जना अझै इलाका प्रहरी कार्याल लहानको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित: २३ माघ २०७७ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App