२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विप्लव फकाउँदै सरकारः खानेपानी मन्त्रीको नेता हेमन्तसँग कारागारमा वार्ता

खानेपानी मन्त्री मणिचन्द्र थापा र विप्लव समूहका नेता हेमन्त प्रकाश ओली ।

कारागार परिसरको छड्के जाँच गर्न मंगलबार ललितपुरको नख्खु कारागार पुगेका खानेपानी मन्त्री मणिचन्द्र थापा कैदीसँग लामै भलाकुसारी गरेर बाहिरिएका छन् । कारागारमा दुर्गन्ध फैलिएको र पिउने पानीधरी सफा नभएको गुनासो आएपछि उनी त्यही वहाना लिएर कारागार पुगेका थिए ।

कारागार अवलोकन गर्न गएका मन्त्री थापाले विप्लव समूहका नेता हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई भेटेर लामो कुराकानी गरेका थिए । उनले कारागार अवलोकनमा भन्दा धेरै समय सुदर्शनसँग कुराकानीमा बिताएका थिए । मन्त्री थापा कुराकानी गर्ने क्रममा थुनुवा सुदर्शन सुत्ने कोठामै पुगेर ‘वार्ता’ गरेका थिए । सामान्यतया कैदी वा थुनुवासँग यति नजिक भएर कुराकानी गर्न पाइँदैन । तर, मन्त्री थापाले प्रत्यक्ष रुपमा नजिक भएर भलाकुसारी नै गरेका थिए । उनी कैदीको छेवैमा पुगे पनि कर्मचारीहरूले नजिक नजान आग्रह गर्न सकेनन् । अन्य कैदीबन्दीका आफन्तलाई भने यसरी नजिकबाट भेट्न दिइनन् । मन्त्री थापाले करिब २० मिनेट कुराकानी गरेको कारागार प्रशासनले जानकारी दियो ।  

मन्त्री थापाले राजनीतिक विषयमा कैदी वलीसँग कुराकानी गरेका थिए । उनले विप्लब समूहसँग सरकारले वार्ता गर्ने अपेक्षा दिलाउँदै फर्किएको कारागार स्रोतको भनाइ छ । मन्त्री थापाले भेट गरेका कैदी सुदर्शन, विप्लव समूहका अराजक नेता मानिन्छन् । उनी पक्राउ पर्नुअघि पार्टी समूहको मध्यकमाण्ड इञ्चार्जको भुमिका चलाएका थिए । स्रोतका अनुसार सुदर्शन वार्ता पक्षधर नेताका रुपमा चिनिँदै आएका थिए । भेटका क्रममा मन्त्री थापाले विप्लव समूहलाई पनि वार्तामा ल्याउन नेताहरू लागिपरेको बताएका थिए । अन्य गुनासो भन्दा पनि राजनीतिक कुराकानीको लागि खानेपानीमन्त्री थापा कारागार पुगेको बुझिएको छ । 

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी खेमाका नेताहरूको सपोर्ट लिनको लागि पनि मन्त्रीहरू प्रयोग गरेको बुझिएको छ । ‘प्रधानमन्त्री ओलीले कैदी सुदर्शनको मत बुझन् पनि मन्त्रीलाई कारागार पठाएको अनुमान गर्न सकिन्छ,’ स्रोतले भन्यो । कारागारबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री थापाले कारागारमा भएको कुराकानी खुलासा गरे । उनले भेटमा वार्ताबारे कुराकानी भएको बताए । नेता सुदर्शनले आफू जेलमा भएकाले वार्ता प्रक्रियाबारे जानकारी नभएको मन्त्री थापासमक्ष बताएका थिए । कारागारमा लामो कुराकानी गरेर बाहिरिएका मन्त्री थापाले कारागारभित्रको कुराकानी खुलाएनन् ।

मन्त्री पुग्ने बेला कारागार सफा पारियो

मन्त्री थापा पुगेको बेला कारागार परिसर सफा पारिएको थियो । गेटमा गमला राखिएको थियो भने कैदीबस्ने कोठापनि सफासुग्घर देखिन्थे । सरसफाइ ठिकै देखेपछि मन्त्री थापा अलमल परे । यत्तिको सफा हुँदाहुँदै किन गुनासो गरेका होलान् ? उनले कारागार प्रशासनका कर्मचारीलाई झपार्न सकेनन् । अरुबेला फोहर भए पनि मन्त्री पुग्नेबेला कारागार क्षेत्र सफा पारिएको थियो । कारागार प्रशासन प्रमुख मोहन अधिकारीलगायतलाई मन्त्रीले भेटेका थिए । कर्मचारीले मन्त्री थापालाई सधैं सफा हुने गरेको ब्रिफिङ गरे । उनीहरूले कैदीबन्दीहरूले मनलाग्दी आलोचना गरेको भन्दै मन्त्री थापालाई जानकारी गराए । मन्त्री थापाले कारागार व्यवस्थापन अवलोकन गर्दै कैदीबन्दीहरू भएको ठाउँमा पुगेका थिए । उनले सरसफाइमा बढी ध्यान दिन आग्रह गरे ।

कारागारका जेलर अधिकारीले मन्त्रीले कारागारभित्रको सबै पक्ष अवलोकन गरी फर्किएको बताए । उनले भने, ‘हामीले गर्न सक्ने राम्रो गरेकै छौं, सबैका चित्त बुझाउन पनि मुस्किल छ, प्रशासनले गर्नुपर्ने धर्म हामीले गरिरहेकै छौं ।’ उनले कैदीबन्दीबाट आएको गुनासो सत्य नभएको र गुनासो आएपछि आफूहरू झन् होसियार भएको बताए । मन्त्री थापा कारागारभित्र फोहोर तथा पिउने पाने सफा नभएको गुनासो आएपछि कारागार पुगेका थिए । मन्त्री आउने खबर पाएपछि मंगलबार कारागार क्षेत्रमा अन्य दिनभन्दा सफा पारिएको थियो ।

प्रकाशित: २१ माघ २०७७ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App