२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘अदालतका सबै फैसलामा जनताले साथ नदिने’

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनमतमाथि अपमान हुने गरी संसद् विघटन मुद्दामा अदालतले फैसला गरे जनताले सहजतापूर्वक साथ नदिने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएकाले अदालतको अन्तिम फैसलालेसंघीय लोकतान्त्रिक गणतन्त्र र संविधानाको रक्षा गर्ने बताए।  

शनिबार म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीले आयोजना गरेको वडास्तरीय तरुणदल पुनर्गठन कार्यक्रममा बोल्दै पूर्वरक्षामन्त्रीसमेत रहेका खाँडलले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसला जनताले सहजतापूर्वक लिनसक्ने हुनुपर्ने बताए।

‘अदालत संविधानको रक्षक हो, ‘संसद् विघटन अनुमोदन भएअदालतको स्वतन्त्रता गुम्नेछ,’ नेता खाँडलले भने। हरेक नेपालीको अन्तिम आस्थाको धरोहर अदालत भएकाले यसपटकको फैसलाले जनताको विश्वास जित्ने वा गुम्ने अवस्था आउने बताए।  

उनले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधानलाई नेकपाको आन्तरिक कलहका कारण ध्वस्त हुने अवस्थामा पुगेको बताए। ‘जनताको जनमतलाई खेलवाड गरेका प्रधानमन्त्रीको दिनगन्ती सुरु भएको छ,‘ पार्टीको आन्तरिक झगडाले देश अस्थिरतातर्फ धकेलिएको छ,’ खाँडले भने। विश्वभर जनताको भावनाविपरीत अदालतले गरेको फैसला उल्टिएको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमालाई जोगाउनसमेत उनले अनुरोध गरे। उनले अहिलेको अवस्थामा कांग्रेस निर्वाचनमा नजाने बताए।  

सोही अवसरमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विगतका आन्दोलनका कम्युनिस्ट पार्टीले धोका दिएकाले अबको आन्दोलन एक्लै गर्ने बताए। ‘कम्युनिस्टहरू लुट्न आएका हुन्, मिलेर लुट्छन्, नमल्निे अवस्थामा फुटछन्,’ बस्नेतले भने। उनले कांग्रेसले सदैव प्रजातन्त्रको रक्षा गर्ने बताउँदै संविधान र प्रजातन्त्रको रक्षाका लागि ओली नेतृत्वको सरकारलाई सडकमा ल्याउने चेतावनी दिए।  

सोही अवसरमा संविधान सभाका सदस्य रेशम बहादुर बानियाँ, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले ओलीको असंवैधानिक कदम बिरुद्ध जस्तो सुकै मूल्य चुकाउन तयार रहेको बताएका थिए। नेपाल तरुण दल म्याग्दीले वडास्तरमा संगठन विस्तारको अभियानलाई तिब्रता दिएको छ।

प्रकाशित: १८ माघ २०७७ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App