२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गणतन्त्र विरोधी ओली बकबक मात्रै गर्छन् : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओली गणतन्त्रवादी होइनन्। उनी न समयको गतिलाई बुझ्न सक्छन् न राम्रो काम गर्छन्। खालि अरूको बदख्वाइँमात्र गर्न जानेका छन्।’  

ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुने नेपालले बताए। ‘२०६२/०६३ को आन्दोलनका बेला गणतन्त्र ल्याउनु बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो भन्ने ओलीको भविष्यवाणी असफल भएको थियो। अहिले वैशाखको चुनावको भविष्यवाणी पनि असफल हुन्छ’, नेपालले भने। ओलीले यसअघिका कुनै पनि न्यायपूर्ण आन्दोलनमा अगुवाइ नगरेको नेपालको भनाइ थियो। जनमतको कदर गर्न नसक्ने व्यक्तिबाट मुलुकले निकास नपाउने बताउँदै अध्यक्ष नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै विकास र समृद्धिका लागि आफ्नो पार्टी अगाडि बढेको दाबी गरे।

‘म नै राष्ट्र हुँ भन्ने अहंकारले मैमत्त ओलीले बकबक मात्रै गर्न जानेका छन्’, नेपालले भने, ‘हामी भन्छौं अली कम बोल्नुस्, काम धेरै गर्नुस् तर उनी राम्रो काम गर्नै जान्दैनन्, खालि बकबक गरिरहन्छन्।’ अब पनि आफूलाई नसुधारे ओली र ओली प्रवृत्तिलाई इतिहासले हुत्याइदिने दाबी उनको थियो। निर्वाचन आयोगले निर्णय दिएपछि ओलीको जालझेलमा परेकाहरू पनि चिन्तित भएको भन्दै नेपालले सबैलाई मूल घर फर्कन आग्रह गरे।  

आयोगले ४ सय ४१ जनाको केन्द्रीय कमिटीलाई मान्यता दिएको भन्दै उनले बहुमत केन्द्रीय सदस्यसहितको मूल पार्टी आफूहरू नै भएको दाबी गरे। सभालाई सम्बोधन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले श्री ३ बन्न केपी ओलीले संविधानको हत्या गरेको आरोप लगाए। उनले भने, ‘केपी ओलीको निरंकुशता चुट्कीमा ध्वस्त हुनेछ। हेर्नुहोला, केही महिनाभित्रै ओलीको स्वेच्छाचारिताको अन्त्य हुनेछ, नेपाली जनताको जित हुनेछ।’ आफैंले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्ति निरंकुशताको एजेन्ट बनेको देख्दा सारै नराम्रो लागेको दाहालले बताए।

संसद् विघटन गर्दै फेरि एकपटक देशलाइ निरंकुशता र तानाशाहीतिर फर्काउने कुचेष्टा गरिएको उल्लेख गर्दै दाहालले थपे, ‘निरंकुश राणा र राजतन्त्रलाइ लात्ताले हानेर श्रीपेच खोसेर धपाएका जनताले ओलीलाई पनि लेखेट्नेछन्।’ वैशाखको चुनावको रटान जनता झुक्काउन गरिएको खेल भएको उनको टिप्पणी थियो। अदालतप्रति शंका व्यक्त गर्न नचाहेको भन्दै दाहालले सबैभन्दा ठूलो अदालत जनता भएकाले जनताकै साथले लोकतन्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सफल हुने विश्वास व्यक्त गरे। पार्टीले अहिले सडकमा गरेको विरोधका कार्यक्रम केपी ओली भन्ने एकजना व्यक्तिका विरुद्ध मात्र नभई न्याय, स्वतन्त्रता, समावेशी लोकतन्त्र र संविधानको रक्षाका लागि भएको दाहालको दाबी थियो।

दाहाल–नेपाल समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले संघीयता, गणतन्त्र र लोकतन्त्र मास्न ओलीले संसद् विघटन गरेको बताए। देशमा निरन्तर अस्थिरताको खेती गरेर मुलुकलाइ कमजोर बनाउन संसद् विघटन गरेकाले जनताले कुनै हालतमा त्यसलाइ स्वीकार गर्न नसक्ने उनको भनाइ थियो। यस्तै नेता वर्षमान पुनले ओलीमा वैचारिक ज्ञान र शक्ति नभएको बताए। ‘जनयुद्ध’ सहित अन्य जनआन्दोलकै बलले आलीलाइ प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याएको भन्दै नेता पुनले ती आन्दोलनको अपमान गर्नु हास्यास्पद रहेको बताए। ‘ओलीजी, हिम्मत छ भने विचारको राजनीतिमा आउनुस्। लोकतन्त्र मासेर दलाल नोकरशाही र बिचौलियाहरूको पार्टी खडा गर्ने कुबाटोमा नलाग्नुस्’, पुनले भने।  

सभामा स्थायी कमिटी सदस्य घनश्याम भुसालले निरंकुशता लादेर आफू शक्तिशाली बन्न सनकका भरमा ओलीले मुलुकलाइ बर्बादीतर्फ धकेलेको बताए। ओलीलाई राणा र राजाको प्रेतात्मासँग दाज्दै भुसालले ओलीको निरंकुश प्रेतविरुद्ध जनता सडकमा आइसकेकाले छिटै ठेगान लाग्ने बताए। प्रधानमन्त्री बनेपछि ओलीले पार्टी, जनता र सांसदलाई पाखा लगाएर भ्रष्ट र दलालसँग मिलेर मुलुकलाइ बर्बादी तथा अस्थिरतातर्फ धकेल्न संविधानको हत्या गरेको भुसालको आरोप थियो।

प्रकाशित: १६ माघ २०७७ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App