१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद थापाको तलवभत्ता सामाजिक काममा

खर्च विवरण सुनाउँदै प्रदेश सांसद विन्दुकुमार थापा । तस्बिरः नागरिक

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पाएको तलबभत्ता सामाजिक काम र विकास निर्माणमा खर्चिएका छन् । नेपाली कांग्रेसबाट कास्की–२ (ख) मा निर्वाचित थापाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुरुप तलव भत्ता विकास निर्माण र सामाजिक काममा खर्चिएका हुन् ।

सांसद थापाले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्राप्त गरेको ८ लाख ५९ हजार ८ सय ६८ रुपैयाँसहित कुल १२ लाख ४७ हजार ४० रुपैयाँ सामाजिक काम तथा विकास निर्माणमा खर्चिएको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।  

सांसद थापाले पोखरा महानगरपालिका भित्रका विभिन्न वडामा कोरोनाका कारण प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, श्रमिक, अपांग तथा एकल महिला गरी ३३० घर परिवारलाई राहत स्वरुप ४ लाख ९४ हजार ३ सय ४० रुपैयाँ खर्चिएको बताएका छन् । त्यस्तै, हातेमालो नागढुंगा आमा समुह २ लाख ११ हजार ८ सय रुपैयाँ बराबरको लोकबाजा तालिम तथा वाद्यवादन सामग्री, रोटरी क्लव अफ पोखरा न्यूरोड मार्फत विभिन्न विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ बराबरको स्यानिटरी प्याड भेण्डिङ मेसिन, पोखरा–४, ८ र ९ का विभिन्न स्थानमा १ लाख ३५ हजार रुपैयाँ बराबरको अटोमेटिक सडक वत्ती जडान गरिदिएको थापाले जनाएका छन् ।

सांसद थापाले कम्युनिष्टको कुशासनका कारण मुलुक अस्थिरता र अनिश्चिततातर्फ उन्मुख भइरहेको बताए । कम्युनिष्टका नेताहरु बाहिर लोकतन्त्रको पाठ पढाउँदै हिंड्ने तर भित्रभित्रै एकतन्त्रीय कम्युनिष्ट अतिवादबाट प्रेरित भएको उनको आरोप छ । थापाले नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकतन्त्रीय कम्युनिष्ट अतिवाद लाद्दै मुलुकलाई प्रतिगमनतर्फ धकेलेको आरोप लगाए ।  

ओलीको प्रतिगमनको यात्राले मुलुकको राज्य व्यवस्था र राजनीतिक दलप्रतिको विश्वसनीयता र लोकतन्त्र माथि नै प्रश्नचिह्न उठेको उनले बताए । सांसद थापाले ओलीको असंवैधानिक कदमबिरुद्ध राजनीतिक दल, संघ संस्था, नागरिक समाजलगायत आम जनता एकजुट भएर संविधान र लोकतन्त्रको रक्षाका निम्ति एकजुट हुनुको विकल्प नभएको समेत बताए ।

प्रकाशित: १४ माघ २०७७ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App