coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

केपी ओलीमा बदलाको भावना छ : नेपाल

ओलीसँग एकता असम्भव : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भावना लिएर अघि बढ्ने स्वभावको भएको टिप्पणी गरेका छन् । ओलीले उनमा निहित खराब प्रवृत्तिलाई सच्याउन आग्रह गर्ने र चुनौती दिनेलाई शत्रुको व्यवहार गर्ने नेपालले बताए ।  

सम्पादकहरूसँग बुधबार कुराकानी गर्दै अध्यक्ष नेपालले आफूले ओली प्रवृत्तिलाई चुनौती दिएकाले आफूमाथि बढी नै प्रहार भएको बताए । उनले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट पार्टी लगातार ओरालो यात्रातिर लागेको पनि बताए । प्रधानमन्त्री ओलीले बोल्ड निर्णय गर्ने र चमत्कार गर्ने बताउँदै आएका प्रति लक्षित गर्दै अध्यक्ष नेपालले पहिलो चरणमा आफूलाई जेलमा राख्ने र दोस्रो चरणमा पुष्पकमल दाहाललाई जेल ठोक्ने रणनीति बनाएको बताए । ‘उहाँले मलाई ललिता निवास प्रकरणमा थुन्ने योजना बनाउनुभएको रहेछ’, नेपालले भने, ‘मैले पनि जेलमा राखेर देखाउन चुनौती दिएँ । मैले एकएक केसमा जान्छु भनें । मैले चुनौती दिएपछि चाहिँ उहाँ भनेकै छैन भन्नुहुन्छ, चुनौती दिनेबित्तिकै अरिंगालको गोलामा हान्ने र साइबर सेना खटाउने गर्नुहुन्छ ।’  

नेपालले ओलीमा अहंकार बढ्दै गएको र त्यसैको परिणाम प्रतिनिधिसभा विघटन भएको बताए । उनले प्रधानमन्त्री ओलीले गलत काम गर्दै जाने र पार्टीले त्यस्ता कामलाई समर्थन गर्नुपर्ने अवस्था आएपछि आफूहरूले समर्थन गर्न नसक्ने बताएको जानकारी पनि सम्पादकलाई गराए । आफूहरूले समर्थन गर्न नसक्ने बताएपछि ओलीले थप पेल्न र हेप्न खोजेको नेपालले बताए ।

नेपालले तत्कालीन र एमाले र माओवादीबीच एकता उठानको कुरा पनि स्मरण गरे । ‘२०६४ सालमा मैले प्रचण्ड (दाहाल) लाई एकता गरौं भनेर प्रस्ताव गरेको हो, ओलीले पनि एकता गर्ने भनेपछि म दंग, बल्ल ठाउँमा आए भनेजस्तो लागेको थियो,’ नेपालले भने ।  

अध्यक्ष नेपालले पार्टी एकतालगत्तै ओलीले झलनाथ खनालमाथि आक्रमण सुरु गरेको बताए । त्यो क्रम लगातार जारी रहँदा अहिलेको अवस्था आएको दाबी उनले गरे । ‘ओलीबाट हेपिँदा, पेलिँदा नै अहिले यो परिस्थिति सिर्जना भएको हो । एकता भएको केही दिनबाटै उहाँले समर्थन नगर्नेहरूलाई पेल्न सुरु गर्नुभएको थियो’, उनले भने ।  

नेपालले आफूले संसद्मा ‘देश डुब्न लाग्यो, माझी बोलाइदेऊ न’ भनेदेखि नै ओलीले खेद्न लागेको सुनाए । ‘जब मैले संसद्मा यस्तो बोलें, त्यही बेलादेखि ओलीले मसँग बदला लिन खोज्नु भयो’, नेपालले भने । उनले तल्लोस्तरमा ओर्लेर अरुलाई गाली गर्ने ओलीको स्वभाव र प्रवृत्ति रहेको टिप्पणी गरे ।  

सम्पादकहरूसँगको कुराकानीका क्रमा नेकपपा नेपाल–दाहाल समूहका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीसँग अब एकता असम्भव रहेको बताए । ‘ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मालोचना वा गल्ती स्वीकार गर्ने अवस्था देखिन्न । ५/७ वर्षपछि के हुन्छ भन्न सकिन्न तर तत्कालका लागि पुनः एकता सम्भव छैन,’ दाहालले भने । ओलीलाई बेलैमा सहमति पालना गराउन र विधि–पद्धतिमा हिँडाउन नसक्नु आफूहरूको कमजोरी भएको स्वीकार गर्दै त्यसप्रति दाहालले आत्मालोचना गरे ।

प्रकाशित: ८ माघ २०७७ ००:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App