१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल–दाहाल समूहको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने

नेपाल कम्युनिस्ट पार्टी नेपाल–दाहाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन र पार्टीमा अनुशासनहीन काम गरेकाले उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए। पार्टी विधानमा कुनै पनि सदस्यलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने व्यवस्था छ। ओलीलाई स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यबाट हटाउने तयारी नेपाल–दाहाल समूहको छ। विधानको व्यवस्थाअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको रावलले बताए।  

यसअघि पुस ७ गते बसेको नेपाल–दाहाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टीको अध्यक्षबाट हटाएर सो पदमा माधवकुमार नेपाललाई चयन गरेको थियो। ‘पार्टी सदस्यताबाट पनि किन निष्कासन नगर्ने भनेर उहाँ (ओली) सँग पहिला स्पष्टीकरण माग गर्ने निर्णय भएको छ, त्यसपछि मात्रै अर्को कारबाहीको प्रक्रिया सुरु हुन्छ,’ रावलले भने। नेकपाको अन्तरिम विधानको धारा ५६ मा अनुशासनको कारबाही प्रक्रियाबारे उल्लेख छ। सो धाराको (क) मा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय उल्लंघन गरेको, पार्टीप्रति निष्ठा र विश्वास नरहेको, गोपनीयता भंग गरेको अवस्थामा कारबाही गर्ने व्यवस्था छ। 

यसबाहेक केन्द्र तथा प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको कुनै पनि जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत काम गरेमा अनुशासनको कारबाही गर्न सकिने विधानमा उल्लेख छ। सोही धाराको (ख) मा अनुशासनात्मक कारबाही र कारबाही प्रक्रियाबारे व्यवस्था छ। धारा ५६ (क) मा उल्लिखित क्रियाकलाप गरेबापत त्यसको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित कमिटीले आलोचना गर्ने वा लिखित रूपमा आत्मालोचना गराउने वा चेतावनी दिने वा पद वा सदस्यताबाट निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाही गर्न सकिने व्यवस्थाअन्तर्गत ओलीलाई स्पष्टीकरण सोधिने बताइएको छ।

बैठकले ओली समूहमा रहेका महासचिव विष्णु पौडेललाई जिम्मेवारीबाट हटाउने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रदेश १ का अध्यक्ष घनेन्द्र बस्नेत तथा सहइन्चार्ज जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, जयन्ती राई, राम कार्की, पदम राई र पेसल खतिवडालाई तोकेको छ। प्रदेश १ का इन्चार्ज भीम आचार्य छन्। बैठकमा सबै प्रदेशबाट पार्टीको रिपोर्टिङ लिइएको थियो। सातवटै प्रदेशको रिपोर्टिङ अनुसार ७० देखि ८० प्रतिशत नेताकार्यकर्ता नेपाल–दाहाल पक्षमा भएको निष्कर्ष निकालेको छ। ‘सबै कमिटीमा ७० देखि ८० प्रतिशत सदस्य रहेको रिपोर्टिङ छ,’ स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने। 

नेपाल–दाहाल समूहले अब बस्ने स्थायी कमिटीको बैठकबाट ओली समूहमा गएका नेताहरूलाई सबै कमिटीबाट हटाउने र पदपूर्ति गर्ने तयारीसमेत गरेको छ। अबको स्थायी कमिटी बैठकबाट महासचिव पनि तोकिनेछ। स्थायी कमिटीको शुक्रबारको बैठकमा पार्टी एकता प्रक्रियालाई पूर्णता दिन बनाइएको कार्यदलले पेस गरेको प्रस्तावमा समेत छलफल भयो। प्रस्तावमा पूर्वएमालेले लिएको जिम्मेवारी र पूर्वमाओवादीले लिएको जिम्मेवारीलाई यथावत् राखेर कमिटीहरूलाई पूर्णता दिने उल्लेख छ।

बैठकले सहिद दिवसको अवसरमा १६ माघमा काठमाडौंमा बृहत् विरोध प्रदर्शन र आमसभा गर्ने निर्णय गरेको छ। पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेपाल–दाहाल समूहले राजधानी केन्द्रित कार्यक्रममा जोड दिने नीति लिएको छ। बैठकमा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटबारे ब्रिफिङ गरेका थिए। ब्रिफिङमा कांग्रेसले तत्काल संयुक्त आन्दोलनमा साथ नदिने बताएको जानकारी गराइएको थियो। 

स्थायी कमिटी सदस्य रघु पन्तका अनुसार संघर्षका कार्यक्रम अघि बढाउन कांग्रेस वा अन्य दललाई साथमा लिने रणनीति बनाए पनि सफल नभएकाले आफ्नै शक्ति नै भरपुर उपयोग गर्ने निर्णय भएको छ। ‘अन्य दलले पनि आन्दोलन गरिरहेका छन् तर नेकपासँग भएको शक्तिलाई नै उतार्ने निर्णय गरिएको छ,’ पन्तले भने।

प्रकाशित: ३ माघ २०७७ ००:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App