८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद विघटनबारे एउटै मञ्चबाट देउवा र पौडेलका फरक भनाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन्।  प्रजातान्त्रिक विचार समाजले आज उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताए। कांग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उनले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे। प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उनको धारणा थियो।      

जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उनले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए। सभापति देउवाले कांग्रेस स्थापना गर्ने चार नेतामध्ये सूर्यप्रसाद उपाध्याय पनि एक भएको उल्लेख गर्दै पार्टीले उनको उच्च कदर गर्ने बताए।  

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद् विघटन गर्ने ठाउँ नरहेको बताए। कांग्रेस संसद् पुनस्र्थापनाको पक्षमा आवाज लिएर सडकमा जानुपर्ने उनको भनाइ थियो।  कांग्रेसले विगतमा पनि चुनाव बहिष्कार गरेकाले अहिले संसद् पुनस्र्थापनाकै पक्षमा सशक्तरूपमा आवाज उठाउन पार्टीसित विकल्प नभएको नेता पौडेलले बताए। उपाध्यायको कांग्रेसमा ठूलो योगदान भएको र त्यसलाई नजरअन्दाज गर्न नमिल्ने नेता पौडेलले बताए।      

कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले उपाध्यायले पार्टीलाई जीवन्त राख्ने काम गरेको उल्लेख गरे। कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उपाध्यायको तस्बीर पार्टी कार्यालयमा राख्न तथा पृथ्वीजयन्ती मनाउने निर्णय गर्न सभापति देउवालाई आग्रह गरे। रासस      

 

प्रकाशित: २६ पुस २०७७ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App