coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्री भन्छन्–‘निर्वाचनको विरोध गर्नु आत्मघात गरे सरह हो’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः उमेश पुन÷नागरिक

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनको विरोध गर्नु भनेको आत्मघात गरे सरह हुने बताएका छन् ।

मंगलबार गण्डकी प्रदेशको विशेष अधिवेशनमा बोल्दै मुख्यमन्त्री गुरुङले भने, ‘चुनावको विरोध गर्ने हो भने त्यो आत्मघात गरे सरह हुन्छ ।’ चुनावलाई नै अलोकतान्त्रिक भन्न थाल्यौं भने अहिलेसम्म जे आदर्शका लागि लडिएको हो, त्यसप्रति नै आत्मघात गरेजस्तो हुने उनले बताए । संसद पुर्नस्थापनाको सम्भावना झिनो आशा मात्र भएको बताउँदै उनले भने, ‘चुनाव हुन्छ हुन्छ ।’

गुरुङले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बचाउ गर्दै यसलाई अप्रजातान्त्रिक र प्रतिगामी भन्न नमिल्ने दावी गरे । झण्डै ६४ प्रतिशत जनमत प्राप्त प्रधानमन्त्रीले आफ्नो ढंगले काम गर्ने वातावरण नभएपछि संसद भंग गरेर नयाँ जनमत लिन्छु भन्न पाउनुपर्ने उनको भनाई छ ।

‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रतिगमन हो, अप्रजातान्त्रिक हो भनिदैछ, तर मलाई त्यस्तो लाग्दैन,’ उनले भने, ‘लोकतन्त्रमा सार्वभौम जनताको विश्वासको मत प्राप्त, बहुमत प्राप्त नेता, जसले सरकार सञ्चालन गर्ने हक प्राप्त गरेको हुन्छ, त्यो व्यक्तिको अन्तिम फैसला गर्ने अधिकार हुन्छ । यसलाई संविधानको धारा र उपधारा हेरेर हुँदैन । चुनावमा जान्छु भन्नुजस्तो लोकतान्त्रिक पाटो अरु कुनै छैन ।’

पार्टी भित्रैबाट काम गर्ने वातावरण नभएपछि बाध्य भएर चुनावमा जानु परेको उनले बताए । ‘म पार्टी भित्रको सौदाबाजीमा फस्दिन, लेनदेनमा फस्दिन, म कसैलाई तलमाथी गर्दिन । नेताहरुबीचको सौदाबाजी गरेर, पद बाँडेर सांसदहरुलाई भेंडाबाख्राको जस्तो खरिदबिक्री गरेर, संसदीय फोहोरी खेल खेल्नुभन्दा जनताबीचमा जाने कुरा सबैभन्दा लोकतान्त्रिक ठान्छु मैले,’ प्रधानमन्त्रीको भनाई यही हो–उनले भने ।  

कुनै न कुनै पदको खोजीमा, जहिलेपनि सरकारलाई अप्ठ्यारो पार्ने व्यक्तिहरु ठिक हुन् कि ? प्रधानमन्त्री ठीक हुन ? भन्ने बारेमा अब जनताले निर्णय गर्ने भन्दै त्यसैका लागि चुनाव आवश्यक रहेको मुख्यमन्त्री गुरुङले बताए ।  

प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले संविधान नबुझेकाले मात्र संसद विघटन गर्न पाईन्छ भनिरहेको बताए । यसअघिको संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा भएको र तर अहिलेको संविधानमा संसद भंग गर्ने अधिकार नभएको दावि गर्दै नेपालीले भने, ‘प्रत्येक संसद विघटन प्रतिगमन हो भन्नुपनि संविधानको मुल्य र मान्यता नबुझेको ठहर्छ ।’  

गण्डकी प्रदेशको विशेष अधिवेशन शुरु भएको छ । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको निवेदन अनुसार प्रदेश प्रमुख अमिक शेरचनको आह्वानमा मंगलबारदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन शुरु भएको हो । विशेष अधिवेशनको पहिलो दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले प्रदेश सभाको मंगलबारको बैठकलाई सम्बोधन गरे ।

प्रकाशित: २१ पुस २०७७ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App