२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

अनेरास्ववियूको प्रदर्शन कार्यक्रमः ओलीको पुत्ला जलाउनेदेखि बयलगाडा प्रदर्शनसम्म

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बागबजारस्थित अनेरास्ववियू केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसद विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

संगठनका सह–संयोजक रञ्जित तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा यही पुस २१ गतेदेखि २९ पुससम्म संसद विघटनविरूद्ध विभिन्न आन्दोलनका कार्यक्रम गर्ने उल्लेख छ। जसअनुसार आजदेखि प्रधानमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने भनिएको छ। आज नै उनीहरुले प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्दैछन्।

यस्तै, उनीहरुले पुस २२ गते भोलि उपत्यकामा लाल्टिन जुलुस जुलुस र उपत्यका बाहिर आवश्यकताअनुसार लाल्टिन, सिटी, लाठी जुलुस निकाल्ने भएका छन्। पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने तथा पुस २४ गते देशभरका सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना दिने कार्यक्रम तय गरिएको छ।

यसैगरी पुस २५ गते सरकारको असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम, तथा पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने भनिएको छ। यस्तै, पुस २७ गते प्रतिगमनविरूद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने भनिएको छ।  

यसैगरी पुस २८ गते सडक नाटक र सडक आर्ट तथा पुस २९ गते सडकमा ‘प्ले कार्ड’सहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

विज्ञप्तिमा तेस्रो चरणका कार्यक्रम माघ १ गते सार्वजनिक गर्ने पनि उल्लेख गरिएको छ।

संसद विघटनविरूद्धको संघर्षसँगै शैक्षिक संघर्ष पनि

संसद विघटनविरूद्धको संघर्षसँगै अनेरास्ववियूले शैक्षिक संघर्ष समेत गर्ने भएको छ। जसअनुसार संघीय संसदबाट सर्वसम्मत रूपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने भनिएको छ।  

यसैगरी कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमूलक कार्यक्रम सञ्चालन गर्ते तथा कोभिड–१९ का कारण अवरूद्ध परीक्षा तत्काल शुरु गरेर अनलाइन कक्षाको नाममा मनपरी ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने तय गरिएको छ।

प्रकाशित: २१ पुस २०७७ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App