१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद विघटनविरुद्ध संयुक्त आन्दोलनको सम्भावना कति ?

नेकपाले निकालेको जुलुस

प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेपालको राजनीति नयाँ मोडतर्फ उन्मुख छ। संसद विघटनविरूद्ध एकाध बाहेक सम्पूर्ण शक्तिहरु एक ठाउँमा उभिएका छन्। नेकपाभित्रको बलियो घटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपालजस्ता राजनीतिक शक्तिहरुले सरकारको पछिल्लो कदमलाई असंवैधानिक तथा अलोकतान्त्रिक भनिसकेका छन्। यस्तै, संवैधानिक कानुनका जानकार, नागरिक समाज, राजनीतिक विश्लेषकहरुले पनि प्रधानमन्त्रीको पछिल्लो कदमलाई असंवैधानिक भनेका छन्।  

माथि उल्लेख गरिएका प्रायः सबै शक्तिहरु सडकमा आइसकेका छन्। तर, फरक–फरक एजेण्डामा। नेकपा असन्तुष्ट पक्षले संसद पुनःस्थापनाको एजेण्डा बोकेको छ भने नेपाली कांग्रेस अन्योलमा छ।  

संसद विघटन भएको भोलिपल्ट पुस ६ गते कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्यो। प्रतिनिधिसभा विघटनको विरोधमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको थियो। तर, नतिजा शून्यजस्तै देखियो। दलहरुको फरक मत भएकै कारण ठोस निर्णय हुन नसकेको स्रोत बताउँछ। कांग्रेसले संसद विघटनलाई असंवैधानिक भनेपनि संसद पुनःस्थापनलाई जोड दिएको छैन। उसले कम्युनिस्ट विभाजित भएको अवस्थामा चुनावमा गएर जित्ने रणनीतिलाई उपयुक्त ठानेको स्रोतको दाबी छ। ‘अहिलेको अवस्थामा चुनावमा गए जितिन्छ भन्ने रणनीतिमा कांग्रेस छ, विशेषगरि पार्टी सभापतिले त्यसमा जोड दिइरहनुभएको छ’ स्रोतले भन्यो,‘तर, कांग्रेसभित्रैको एक खेमा संसद पुनःस्थापनालाई मुख्य एजेण्डा बनाएर आन्दोलन गर्नुपर्ने बताइरहेको छ।’

संसद विघटन भएको भोलिपल्ट पुस ६ गते कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्यो। प्रतिनिधिसभा विघटनको विरोधमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको थियो। तर, नतिजा शून्यजस्तै देखियो। दलहरुको फरक मत भएकै कारण ठोस निर्णय हुन नसकेको स्रोत बताउँछ। 

कांग्रेसभित्रको रामचन्द्र पौडेल पक्षले संसद विघटनविरूद्ध आन्दोलन गरिरहेकाहरुसँग मिलेर जानुपर्ने बताइरहेको छ। पार्टी सभापति देउवा भने संसद विघटनलाई असंवैधानिक भन्ने तर संसद पुनः स्थापनाको माग गरेर आन्दोलन नगर्ने पक्षमा छन्। कांग्रेसका एक नेताका अनुसार देउवाले सर्वोच्चमा विचाराधीन मुद्दा भएको भन्दै संसद पुनःस्थापनाका विषयमा धेरै नबोल्ने रणनीति अख्तियार गरिरहेका छन्। जसलाई देउवा पक्षकै कतिपय नेताले मन पराएका छैनन्।  

‘कांग्रेसले अहिलेको अवस्थामा कसैसँग मिलेर संसद पुनःस्थापनाको माग राखेर आन्दोलन गर्ने रणनीति बनाएको छैन,’ ती नेताले भने,‘तर आन्दोलन गरेजस्तो देखाउन भएपनि सरकारको कदमलाई असंवैधानिक भनेर आन्दोलन गर्ने योजनामा कांग्रेस छ। समग्रमा भन्दा कांग्रेस ‘पर्ख र हेर’को रणनीतिमा छ।’

कांग्रेस नेता प्रदीप पौडेल अहिलेको परिस्थितिमा संयुक्त आन्दोलनको सम्भावना नरहेको बताउँछन्। ‘आन्दोलनको विषयमा कांग्रेस नै एक ढिक्का नभएको अवस्थामा संयुक्त आन्दोलन तत्काल सम्भव छैन,’ उनले भने,‘हामी असंवैधानिक निर्णयको खुलेर विरोध गरौं भनिरहेका छौं तर पार्टी सभापति ज्यू नै यस विषयमा अस्पष्ट हुनुहुन्छ। कांग्रेस सत प्रतिशत आन्दोलनको लागि तयार भएको छैन।’ सरकारको पछिल्लो कदमको खुलेर विरोध गर्न नसके वा स्पष्ट धारण बनाउन नसके कांग्रेसले दीर्घकालीन असर ब्यहोर्नुपर्ने उनको भनाई छ।  

प्रचण्ड–नेपाल समूह भने आफूहरु एकजुट भएर आन्दोलनमा जान तयार रहेको बताउँछ। उसले कांग्रेसको साथ खोजिरहेको छ। नेकपा निकट स्रोतकाअनुसार संयुक्त आन्दोलनका लागि कांग्रेसका नेताहरुसँग प्रचण्ड–नेपाल समूहका नेताहरुले अनौपचारिक रुपमा छलफल गरिरहेका छन्। तर, कांग्रेसभित्रको अन्योलतका कारण ठोस सहमति हुन सकेको छैन।

नेकपाका नेता देव गुरूङले नेपाली कांग्रेसहितका दलहरुले संयुक्त आन्दोलनको प्रस्ताव गरे आफूहरु तयारी अवस्थामा रहेको बताए। सर्वदलीय बैठकमा कांग्रेसले केन्द्रीय कार्य समितिको बैठकपछि निर्णय दिने बताएपनि उसले अहिलेसम्म कुनै निर्णय नदिएको उनको भनाई छ। उनले लोकतान्त्रिक प्रणालीमाथि नै धावा बोलिएको अवस्थामा सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताए। संविधान नै धरापमा पारेर चुुनावमा जानुको कुनै औचित्य नरहेको उनको भनाई छ।

जनता समाजवादी पार्टीले पनि संसद पुनःस्थापनाको माग गरिरहेको छ। नागरिकसँगको कुराकानीका क्रममा जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतोले पनि आफूहरु संसद विघटनविरूद्ध संयुक्त आन्दोलन गर्न तयार रहेको बताएका थिए। उनीहरुको एउटै धारणा थियो, अहिलेको निर्णायक शक्ति कांग्रेसले आन्दोलनमा आउन आनाकानी गरिरहेको छ।  

विवेकशील साझा पार्टी पनि लोकतन्त्रको रक्षाका लागि विभिन्न शक्तिहरुसँग मिलेर अगाडि बढ्न तयारी अवस्थामा छ। संयुक्त आन्दोलनका लागि मोर्चाबन्दी नै गर्ने निर्णय अहिलेसम्म नगरेपनि लोकतन्त्र बचाउने सवालमा आफूहरु मिलेर अघि बढ्न तयार रहेको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले बताए। उनको बुझाईमा नेपाली राजनीतिको मूल समस्या पात्रभन्दा पनि प्रवृत्ति हो। ‘अहिलेको समस्या पात्रभन्दा पनि प्रवृत्तिको हो,’ उनले भने,‘त्यसलाई सच्याउने सवालमा हाम्रो पार्टी जहिले तयार छ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ अहिलेको परिस्थितिमा संयुक्त आन्दोलनको सम्भावना र आवश्यकता उत्तिकै रहेको बताउँछन्। लोकतन्त्र नै खतरामा परेको अवस्थामा त्यसलाई जोगाउन लोकतन्त्र पक्षधरहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको उनको भनाई छ। उनको विश्लेषणमा कांग्रेस सभापति शेर बहादुर देउवाका कारण कांग्रेसले ठोस निर्णय गर्न सकेको छैन। अमेरिकी सहयोग सम्बन्धी परियोजना (एमसीसी) प्रति देउवाको मोह, उनको सत्तारोहण गर्ने तीव्र आकांक्षाका कारण पनि कांग्रेसमा अन्योलता आएको हुनसक्ने श्रेष्ठ बताउँछन्।

अर्का राजीतिक विश्लेषक हरि रोक्का पनि श्रेष्ठसँग सहमत छन्। ‘देशकै सबैभन्दा पूरानो लोकतान्त्रिक राजनीतिक शक्ति लोकतन्त्र रक्षा गर्ने सवालमा स्पष्ट हुनुपथ्र्यो,’उनले भने,‘तर, एकाध व्यक्तिहरुको स्वार्थका कारण कांग्रेस अन्योलमा छ।’

प्रकाशित: १७ पुस २०७७ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App