नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका लागि जनमत संग्रह आवश्यक रहेको बताएका छन्। सोमबार विराटनगरमा पत्रकारहरूसँगको भेटमा कोइरालाले नेपाली कांग्रेसले बहुमत ल्याए हिन्दु राष्ट्रका लागि जनमत संग्रह गराउने बताए।
कोइरालाले नेपाली कांग्रेसको महाअधिवेशन फागुन ७ गते असम्भव रहेकाले जेठमा सार्नु उपयुक्त हुने धारणा राखे। कोइरालाले अहिलेसम्म जिल्लाबाट क्रियाशिल सदस्यहरूको नामावली गइनसकेका कारण भोट लिष्ट तयार हुने अवस्था नरहेको स्पष्ट पारे। उनले भने, ‘क्रियाशिलको नाम जिल्लाबाट गएपछि पनि ३÷४ महिना दाबी विरोधका लागि समय चाहिने भएकाले फागुनमा महाअधिवेशन संभव छैन।’ नेपालमा तत्काल राजा आउने सम्भावना नरहेको कोइरालाले स्पष्ट पारे। उनले भने,‘अब फेरी राजा आउने संभावना नै छैन।’ कोइरालाले आगामि महाअधिवेशनमा कोइराला परिवारबाट सल्लाह गरेर एकजना सभापतिको उमेद्धार बन्ने बताए।
यसैबीच विराटनगरमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई पनि कोइरालाले सम्बोधन गरेका छन्। कोइरालाले सरकार भ्रष्टाचारमा लिप्त रहेको र सर्वसत्तावाद तर्फ उन्मुख भएकाले कांग्रेस विरोधमा उत्रेको बताए। उनले प्रधानमन्त्री केपी ओली आफैले भ्रष्टाचारको नेतृत्व गरिरहेको आरोप पनि लगाए। उनले भने,‘प्रधानमन्त्री आफैं भ्रष्टाचार नेतृत्व गर्दै भ्रष्टहरूको संरक्षणमा लागेका छन्।’ सरकारले राम्रो काम गरोस् भनेर कांग्रेसले रचनात्मक रुपमा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि सरकार दिन प्रतिदिन भ्रष्ट बन्दै गएकाले आन्दोलनमै उत्रने अवस्था आएको कोइरालाले स्पष्ट पारे।
प्रकाशित: २९ मंसिर २०७७ १४:०३ सोमबार





