७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध कांग्रेस आज सडकमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको जनविरोधी कामविरुद्ध सोमबार हुने देशव्यापी विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरेको छ। सभापति शेरबहादुर देउवाले पार्टीले गर्न लागेको विरोध प्रदर्शनको अघिल्लो दिन अपिल जारी गर्दै कोरोना कहरमा स्वास्थ्य सावधानीसहित प्रदर्शनमा सहभागी हुन आग्रह गरेका हुन्।

प्रदर्शनको समयमा भौतिक दूरी कायम राख्न तथा मास्क प्रयोग प्रभावकारी रूपमा गर्न आग्रह गर्दै देउवाले जिम्मेवार प्रतिपक्षीका रूपमा पार्टीले प्रदर्शन गरेको शालीन र जिम्मेवार भूमिकालाई सरकारले कमजोरीका रूपमा बुझेको भन्दै गुनासो गरेका छन्। सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको आरोप लगाउँदै सभापति देउवाले सरकारको पछिल्लो गतिविधिले जनतामा व्यापक वितृष्णा फैलिएको जनाएका छन्। ‘सरकारप्रतिको वितृष्णा मूलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक हो।’

सरकारप्रति जनताको बढ्दो वितृष्णालाई सम्बोधन गर्न कांग्रेसले सडकदेखि संसद्सम्म तीव्र दबाब खडा गर्ने पनि देउवाले जनाएका छन्। ‘जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नु छ,’ देउवाले भनेका छन्, ‘त्यसकै सुरूवात हो भोलि (सोमबार) को सांकेतिक प्रदर्शन।’

‘सबै क्षेत्रका जनताको पीडा र भावनालाई कांग्रेसले प्रखर ढंगले मुखरित गर्छ’

कोरोना महामारीमा जनता मर्दै गर्दा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरी विधेयकमार्फत अधिनायकवादी तरिकाले अगाडि बढेको, महिला हिंसा र बलात्कारका घटना रोक्न नसकेको आरोप देउवाले लगाएका छन्। कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनुभन्दा अर्को सोच शून्यता के हुन सक्छ भन्दै उनले प्रश्न गरे। तनहुँको पछिल्लो घटनादेखि देशका कैयौं भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुनु जरुरी रहेको औल्याउँदै देउवाले ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको पनि उल्लेख गरेका छन्। चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लान गम्भीर हुनुपर्ने सरकार आन्तरिक द्वन्द्वमा जकडिँदा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु स्वाभाविक भएको जनाएको छ।

जनताको दुःख, पीडाको सरकारले कदर गर्न नसकेको उल्लेख गर्दै देउवाले भनेका छन्, ‘नेपाली जनताको हरेक क्षेत्र, वर्ग एवं समुदायको पीडा र भावनालाई अब नेपाली कांग्रेसले अझ प्रखर ढंगले मुखरित र नेतृत्व गर्नेछ।’ मुलुकलाई हरेक चुनौतीको घडीमा कांग्रेसले नेतृत्व र निकास दिएको जनाउँदै प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा कांग्रेस गम्भीर रहेको दाबी गरेका छन्। ‘भोलिको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसद्मा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुनेछ,’ देउवाले भनेका छन्, ‘भोलि (सोमबार) को प्रदर्शनमा नवीन उत्साह साथ सहभागी हुन समस्त लोकतन्त्रवादीमा फेरि पनि हार्दिक अपिल गर्छु।’ कांग्रेसले सोमबार काठमाडौंसहित सबै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ। काठमाडौंसहितका मुख्य सहरमा पार्टीका प्रमुख नेताहरूले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

यसैबीच, सोमबार हुने विरोध प्रदर्शनको पूर्वसन्ध्यामा आइतबार नेपाल विद्यार्थी संघसहित कांग्रेसका भ्रातृ संगठनले काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए।

प्रकाशित: २९ मंसिर २०७७ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App