मणि दाहाल, काठमाडौं, चैत १ - दुई अध्यक्ष राख्ने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय जनशक्ति पार्टी (राजपा) बीच पार्टी एकता गर्ने सहमति भएको छ। स्रोतका अनुसार दुई दलका प्रतिनिधि सम्मिलित एकता समितिको समन्वयमा शीर्ष नेताबीच केही दिनअघि यस्तो सहमति भएको हो। सहमतिअनुसार एकता महाधिवेशन चैतको तेस्रो साता हुनेछ।
राजपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पार्टीका राष्ट्रिय अध्यक्ष तथा राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा कार्यकारी अध्यक्ष रहने गरी एकतामा सहमति बनेको उच्च स्रोतले जनाएको छ। एकतापछि पार्टीको नाम 'राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी' राखिनेछ।
'कुनै पनि नीतिगत निर्णय गर्दा दुवै नेताको सहमतिमा गर्नेसमेत सहमति बनेको छ,' स्रोतले भन्यो, 'केन्द्रीय सदस्यको मनोनयनदेखि अन्य विषयमा समेत सर्वसम्मत निर्णय हुनेछ।'
दुवै पार्टीबीच आगामी महाविधेशनमा प्रस्तुत गरिने राजनीतिक प्रस्तावको विषयमा समेत सहमति बनिसकेको छ। दुवै पक्षबीच पदको भागबन्डा नमिल्दा तीन वर्षअघिदेखि शुरु भएको एकता प्रक्रिया गति लिन सकेको थिएन।
राप्रपा प्रवक्ता पर्शुराम खापुङले शुक्रबार हुने संयुक्त कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको मिति तोक्ने बताए।
यसअघि पहिलोपटक मंसिरमा एकता सम्मेलन आयोजना गर्ने तयारी भए पनि नेतृत्वमा कुरा नमिल्दा माघ ५, ६ र ७ गते हुने भनिएको महाधिवेशन स्थगन गरिएको थियो।
'दुवै पक्षबीच अधिकांश नीतिगत विषयसहित पदको बाँडफाँटको विषयमा कुरा मिलेको छ,' स्रोतले भयो, 'शुक्रबार बस्ने संयुक्त केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैतको २३ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने घोषणा गर्नेछ।'
सहमतिअनुसार लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, विश्वबन्धु थापालगायत वरिष्ठ नेताहरुलाई एकीकृत पार्टीमा उचित स्थान दिइनेछ।
सहअध्यक्षमा राजपा सहअध्यक्ष प्रकाशचन्द्र लोहनी र महासचिवमा दीपक बोहोरा एवं सुनिल थापालाई ल्याउने अनौपचारिक सहमति बनेको स्रोतले जनायो। लामो समय राष्ट्र संघको जागिरबाट सेवानिवृत्त सुनिल सूर्यबहादुरका छोरा हुन्। सुनिललाई केही महिनाअघि सूर्यबहादुरले राजपा केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।
'दुवै पक्षबीच केन्द्रीय कमिटी पनि सर्वसम्मति चयन गर्ने पनि सहमति बनेको छ,' स्रोतले भन्यो, 'निर्वाचन गर्दा त्यसले तल्लो तहसम्म विभाजन गर्ने हुँदा सर्वसम्मत गर्ने सहमति गरेको हो।'
एकता महाधिवेशनमा राजनीतिक, आर्थिक, सामाजिक तथा संागठनिक गरी चार प्रतिवेदन प्रस्तुत गरिने तयारी छ।
दुवै पक्षबीच संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रतिकूल नहुने गरी राजनीतिक प्रस्ताव ल्याउने पनि सहमति छ। 'राजतन्त्र पक्षमा कसैले पनि महाधिवेशनमा प्रतिवदेन नल्याओस ्भनेर यस्तो सहमति गरिएको हो,' स्रोतले भन्यो।
दुवै पार्टीले २०६६ माघ २३ मा पार्टी एकीकरण गर्ने घोषणा गरेका थिए। महाधिवेशन नहुन्जेल छुट्टाछुट्टै कार्यसम्पादन समिति कायम राख्ने र अध्यक्ष हुने व्यवस्था गरिएको थियो।
गाउँ, नगर, जिल्लापछि केन्द्रमा एकताको महाधिवशेन गर्ने योजना बनाएका दुवै दलले वरिष्ठ नेता विश्वबन्धु थापाको नेतृत्वमा एकता समिति गठन गरेको थियो।
राजपाका सह-प्रवक्ता किरण गिरीले ७० जिल्लाका अधिवशेन सकिएको जानकारी दिए। 'बुधबारमात्रै महोत्तरी जिल्ला अधिवेशन उद्घाटन भएको छ,' गिरीले भने।
खापुङले सोमबार मोरङ र मंगलबार नुवाकोटको जिल्ला अधिवेशन सुरु हुने बताएका छन्। 'ताप्लेजुङ, रसुवा र काभ्रे अधिवेशनको मिति प्राविधिक कारणले तोकिएको छैन,' खापुङले भने।
प्रकाशित: ३० फाल्गुन २०६९ १४:०७ बुधबार





