प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयताले देशमा विकास र समृद्धिको ढोका खोलेको बताएका छन् । मंगलबार उदयपुरको बेलका नगरपालिकाका विभिन्न ९ वटा पूर्वाधार संरचनाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
नगपालिकाका ४, ५, ७ र ९ नं. वडा कार्यालय भवन, क्वारेन्टिन भवन, सिटीहल, पुल र स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले राज्य पुर्नसंरचनासँगै देशमा संघीय व्यवस्था प्राप्तपछि जताततै विकासको मूल फुटेको बताए । संघीयताले मुलुकमा स्थानीय, प्रदेश र संघीय गरी ३ तहको सरकार सञ्चालन गर्ने व्यवस्थाको अभ्यास भईरहेको भन्दै राईले ३ वर्षको छोटो अवधिमा फटाफट सकारात्मक परिणाम देखिन थालेको बताए ।
विगतमा एकात्मक राजनीतिक व्यवस्थाका कारण बारम्बार दलीय किचलो, द्वन्द्व र लडाँई झगडा हुँदा जनताले धेरै दुःख पाएको स्मरण गर्दै लामो त्याग र संघर्षबाट देशमा संघीय गणतन्त्रात्मक राज्य व्यवस्था आएपछि बल्ल स्थिर र राजनीतिसँगै देशमा विकास र समृद्धिको बाटो खुलेको मुख्यमन्त्री राईले बताए । राजनीतिक परिवर्तनपछि दलहरुले संघीयता रोजेको र त्यसको कार्यान्वयन गर्न चुनावमा जाँदा जनताले स्थीर सरकार सञ्चालन गर्ने अभिमत दिए अनुसार ३ तहको सरकारले हातेमालो गर्दै विकास र समृद्धिको अभियान चलाईरहेको उनले बताए ।
‘पहिलेको व्यवस्थामा कुनै सरकार ६ महिना, ९ महिना, १ वर्ष र १८ महिनाभन्दा लामो समय टिक्न सकेन, त्यसले देशमा चरम अस्थीरता पैदा भयो’, मुखयमन्त्री राईले भने, ‘विकास निर्माणका साना योजना पनि पुरा गर्न वर्षौं लाग्थ्यो । राजनीतिक परिवर्तनपछि हामीले संघीयता रोज्यौं, जसले दु्रतगतिमा विकास निर्माणका काम भईरहेको अहिले देखिदै छ ।’
मुख्यमन्त्री राईले संघीयताले देशमा विकास र समृद्धिको विशाल लोकमार्ग सिर्जना गरेको दावी गर्दै सो लोकमार्गमा जनताको समृद्धिको साझा आकांक्षा पुरा गर्ने अभियानको यात्रा सुरु भईसकेको बताए । ‘हिजोको व्यवस्थामा हामी हिड्ने गोरेटो बाटोहरुमा अल्मलिदै हिड्नुपर्ने अवस्था थियो, त्यसैले सानो पुल बनाउन, सडक खन्न वर्षौं कुर्नुपथ्र्यो’ मुख्यमन्त्री राईले भने ‘आज हाम्रो अगाडि विशाल लोकमार्ग खडा छ, खाली सबै समृद्धिको अभियानमा जुटेर अघि बढ्नुपर्ने खाँचो छ, विकास भन्ने कुरा हाम्रै हातहातमा आईसकेको छ ।’
आफैले २ वर्षअघि सिल्यान्यास गरेको भोजपुरको कालोपत्रे सडक भर्खरै उद्घाटन गरेको उदाहरण दिदै मुख्यमन्त्री राईले भने ‘संघीयता आउनुअघि र पछिको कामको गति तुलना गर्नुहोस्, तपाँई हाम्रो आँखै अगाडि कति छिटो काम भईरहेको छ ।’ अहिले ३ वर्षमा बन्ने सडक, पुल डेढवर्ष ६ महिनामै बन्ने गरेको भन्दै उनले बेलकामा ३ वर्षभित्र ९ वटा पूर्वाधारका काम सम्पन्न हुनुमा संघीयताकै कारण भएको प्रष्ट्याए । राईले भने ‘पहिले भए यत्ति काम सक्न १०÷१५ वर्ष लाग्थ्यो होला ।’
नेपालको संविधान २०७२ ले सम्पूर्ण जातजाति, भाषाभाषी, समुदाय, वर्ग, लिंग र तहतप्काको अधिकार समेटेको भन्दै यो कुरा संघीय गणतन्त्रको सुन्दुरपक्ष भएको बताए । तर, कतिपय नरुचाउने चत्वले देशमा अस्थीरता निम्त्याउने प्रयास गरिरहेकोप्रति सचेत हुन पनि उनले आग्रह गरे । संघीयता किन चाहियो, प्रदेश किन चाहियो भन्दै केही तत्वहरु परिवर्तित व्यवस्थामाथि धावा बोल्न खोजेको भन्दै उनले सत्तारुढ नेकपाभित्र देखिएको आन्तरिक किचलोले पार्टी कुनै हालतमा नफुट्ने बताए । पार्टी केन्द्रीय सदस्य तथा १ नं. प्रदेश सहइन्चार्जसमेत रहेका मुख्यमन्त्री राईले दुई अध्यक्षबीचको बिबाद सामान्य असमझदारी मात्र भएको भन्दै त्यसको टंगो स्थायी समिति बैठकले लगाउने अपेक्षा गरे ।
पार्टीभित्र जस्तोसुकै विवाद देखिए पनि त्यसको समाधान सचिवालय वा स्थायी समितिले गर्ने र थप विषयमा केन्द्रीय समिति र आउँदो महाधिवेशनबाट हुने मुख्यमन्त्री राईको भनाई थियो । नेकपाले आउँदो महाविधेशनबाट नयाँ विचार, नीति, सिद्धान्त र नेतृत्वको टुंगो लगाउने भन्दै उनले पार्टी फुटोस् र देशमा राजनीतिक अस्थीरता आओस् भन्ने कुतत्वहरुको सपना तुषारापात हुने बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा १ नं. प्रदेश सचिव सुरेशकुमार राई (हिमाल) ले अहिले ३ तहको सरकार भएकाले आपसी समन्वय र सहकार्य गर्दै देश विकासको अभियान तिब्र बनाउन आग्रह गरे । सांसद राईले ३ वटै तहमा नेकपाको स्थीर सरकार भएकाले पनि विकास र समृद्धिमा कतै नअल्मलिईकन लाग्नुपर्नेमा जोड दिए । उदयपुरलगायत छिमेकी जिल्लाहरुको अर्थ राजनीतिमा कोसे ढुंगा सावित हुने कोसी करिडोरको निर्माण अवरुद्ध सडकको काम सुचारु गर्न संघीय सरकारले आवश्यक पहल गरिरहेको बताए ।
बेलका नगरप्रमुख दुर्गाकुमार थापाले कृषि व्यवसाय, पशुपालन र भौतिक पूर्वाधार निर्माणको काममा सिंगो नगरबासीलाई समृद्ध बनाउने अभिप्रायले आफु लागी परेको बताए । बेलकालाई प्रदेशको नमूना नगरपालिका बनाउने लक्ष्यका साथ अघि बढिरहेको भन्दै मेयर थापाले कृषि, पर्यटन र सडकमा प्रदेश सरकारले विशेष चासो दिएर सहयोग गर्न आग्रह गरे । विद्युत, खानेपानी तथा आन्तरिक सडकमा नगरपालिका आत्मनिर्भर भईसकेको थापाले बताए ।
उपमेयर राजकुमारी चौधरीको स्वागत मन्त्वय रहेको कार्यक्रममा प्रदेश सांसदहरु बिमल कार्की, अम्बिका थापा, नेकपा नगर अध्यक्ष मनोज तामाङलगायतले बेलकालाई समृद्ध बनाउँदै प्रदेशकै नमूना स्थानीयतह बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
एकैदिन ९ वटा संरचनाको उद्घाटन
विहान ११ः०० बजे बेलका नगरपालिका आईपुगेका मुख्यमन्त्री राईले बेलका ८ मा निर्मित २१ लाख ८२ हजार ५१ रुपैंयाको चक्रपुर ट्रस प्रविधिको पुल उद्घाटन गरेका थिए । त्यस्तै ३१ लाख ६२ हजार ४ सय ८३ मा निर्मित ५ नं. वडा भवन, २२ लाख २१ हजार ६ सय २५ रुपैंयाको ४ नं.वडा भवन र सोही वडामा ३० लाख ४९ हजार ८ सय ९३ रुपैंयाको ४ को आधारभूत स्वास्थ्यकेन्द्र भवनको पनि उद्घाटन गरेका थिए ।
त्यसैगरी २५ लाख ५ हजार ४ सय ९ रुपैंयामा निर्मित ६ नं. वडा भवन, ३६ लाखमा वडा नं. ९ रामपुरमा निर्मित सिटी हल, प्रदेश सरकारको ४२ लाख ४७ हजार ५ सय २३ लागतमा निर्मित ९ नं. वडामै ८ लाखमा निर्मित महिला सुरक्षा आवास गृह र प्रदेश सरकारबाट ४२ लाख ४७ हजार ५ सय २३ मा निर्मित खसी बोका संकलन केन्द्र भवन र ९ मै निर्मित आदिबासी जनजाति भवनको पनि उद्घाटन गरेका थिए । कार्यक्रममा बिभिन्न वडाको तर्फबाट स्थानीय आवश्यक्ताका विकास निर्माणको माग गर्दै वडाध्यक्षहरुले मुख्यमन्त्री राईसमक्ष ज्ञापनपत्रसमेत बुझाएका थिए ।
प्रकाशित: २३ मंसिर २०७७ १३:२९ मंगलबार