१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टी फुटाउने क्षमता कसैसँग छैनः खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी फुटाउने क्षमता कोहीसँग नभएको बताएका छन्। उनले दुवै अध्यक्षका प्रतिवेदनमध्ये एउटा शतप्रतिशत सही र अर्काे शतप्रतिशत गलत भन्ने अवस्थासमेत नरहेको बताए।  

‘पार्टीभित्र अन्तरसंघर्ष चलिरहेको छ, नेताहरूबीच विवाद भइरहेको साँचो हो। तर, यो पार्टी नै फुट्छ, चकनाचुर हुन्छ भनेर हल्ला चलेको छ,’ सूर्याेदय नगरपालिकास्थित फिक्कलमा आधारभूत अस्पतालको शिलान्यास गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘पार्टी कुनै पनि हालतमा फुट्दैन। पार्टी फुट्छ र त्यसको फाइदा लिउँला भनेर कसैले रोटी सेक्न खोजेको छ भने त्यो पूरा हुँदैन। रोटी नबेल्दा हुन्छ।’  

खासगरी ‘मिडियामा बसेका कच्चा मान्छे’ले गलत प्रचार गरिरहेको खनालको आरोप छ। ‘नेकपा स्पातले बनेको पार्टी हो, यसलाई कसैले फुटाउन सक्दैन,’ उनले भने, ‘को छ नेकपालाई फुटाउने मान्छे, कुन नीतिले फुटाउन सक्छ, कुन कानुन र संविधानले फुटाउन सक्छ? हामी चुनौती दिन चाहन्छौं।’ पार्टीलाई अझ बलियो बनाउन बहस र छलफल चलिरहेको भन्दै उनले बहस हुँदैमा नआत्तिन नेता–कार्यकर्तालाई आग्रहसमेत गरे।  

खनालले मंसिर १६ गते बस्ने पार्टी सचिवालय बैठकमा दुवै प्रतिवेदनमाथि छलफल हुने तर दुवै शतप्रतिशत सही भने नठहरिने बताए। ‘दुवै अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि भोलि बस्ने सचिवालय बैठकमा तपाइँको धारणा चाहिँ के हुन्छ?’ नागरिकन्युजको प्रश्नमा खनालले भने, ‘बहसले एउटा निष्कर्ष निकाल्ला तर एउटा प्रतिवेदन एब्सुलुट्ली सही र अर्काे एब्सुलुट्ली गलत छैन।’  

सरकारले विकास निर्माण, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारको क्षेत्रमा सक्रिय रूपका काम गरिरहेको खनालले बताए। ‘विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्नुपरिरहेपनि समृद्ध नेपाल निर्माणका लागि सरकारले आफ्नो दायित्व बिर्सेको छैन, सक्रियतासाथ काम गरिरहेको छ,’ उनले भने।  

फिक्कलमा संघीय सरकारको १८ करोड रुपैयाँ लागतमा आधारभूत अस्पताल भवन निर्माण हुन लागेको हो। आउँदो २ वर्षभित्र अस्पताल भवन निर्माण हुने सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए। ‘कोभिड–१९ को महामारीसँग भिड्नु नपरेको भए यो वर्ष नगरले सय करोड रुपैयाँ लागतका आयोजना शिलान्यास गर्ने तयारी थियो,’ उनले भने, ‘तर, धेरै चुनौती पार गरेर नगरले समृद्धिको बाटो चाहिँ तय गरिसकेको छ। केही महत्वपूर्ण आयोजनाको काम अब सुरु हुन्छ।’

प्रकाशित: १५ मंसिर २०७७ १०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App