१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

फोनबाटै माग्न थाले निधिले कांग्रेस सभापतिमा भोट

नेपाली कांग्रेसका संस्थापन र इतर पक्षको विवादले १४औं महाधिवेशनको नयाँ मिति अनिश्चित बन्न पुगेका बेला उपसभापति विमलेन्द्र निधिले जिल्ला तहका नेतासँग पार्टी सभापतिमा सहयोग माग्न थालेका छन्। साउन २९ गते सभापति शेरबहादुर देउवालाई भेटेर १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि आफूलाई सहयोग गर्न निधिले आग्रह गरेका थिए। तर, सभापति देउवाले १४औं महाधिवेशनमा आफैं नेतृत्वका लागि आकांक्षी रहेको जनाउँदै निधिलाई १५औं महाधिवेशनबाट पार्टी नेतृत्व लिन आग्रह गरेका थिए। देउवाको आग्रहमा सहमत हुन नसकेका निधिले १४औं महाधिवेशनमै नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने तयारीमा जुटेका हुन्।

देउवासँग सहयोग मागेलगतै नेतृत्वका अन्य आकांक्षी नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइरालासँग पनि निधिले पार्टी सभापतिमा आफ्नो पनि आकांक्षा रहेको भन्दै सहयोग मागेका थिए। दोस्रो चरणमा निकट र अन्य केन्द्रीय सदस्यसँग आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने मनस्थीति बनाएको बताएका निधिले त्यसपछि जिल्ला सभापति, क्षेत्रिय सभापतिहरूलाई टेलिफोन गरेर सहयोग मागेका छन्।

कांग्रेस धादिङका सभापति रमेश धमलाले उपसभापति निधिले पार्टी नेतृत्वका लागि इच्छा व्यक्त गर्दै टेलिफोन गरेको बताए। ‘विमल दाइ(विमलेन्द्र निधि)ले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने इच्छाव्यक्त गर्दै सहयोग माग्नुभएको छ,’ धमलाले भने, ‘तपाईं उठ्ने नै होर दाइ भनेर सोधे, उहाँले उठ्छु सहयोग गर्नुपर्‍यो भन्नुभएको छ।’ पार्टी उपसभापतिसमेत रहेका निधिलाई जिल्ला सभापतिहरूले उठाउँदै आएको सबै केन्द्रीय सदस्यहरू तलैबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने मुद्दालाई बोक्न पनि आफूले आग्रह गरेको धमलाले जानकारी दिए।

उपसभापति निधिले सबै जिल्ला सभापति, प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, तत्कालीन २ सय ४० निर्वाचन क्षेत्रका सभापतिलाई टेलिफोन गरेर नेतृत्वमा सहयोग मागेका छन्। १३औं महाधिवेशनबाट निर्वाचित महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई पनि टेलिफोन गरेर सहयोग गर्न आग्रह गरेको बताउँदै निकट एक नेताले भने, ‘कोरोना भाइरसको बढ्दो संक्रमणका कारण जिल्ला जिल्ला पुग्ने सम्भावना कम भएपछि टेलिफोनबाटै महाधिवेशनको तयारी थाल्नु भएको हो।’

सभापति देउवासँगको परार्मसमै नेतृत्वको विषयमा टुंगोमा पुग्ने बताउँदै आएका निधिले निकटहरूसँग भने फागुनमा महाधिवेशन भए माघ र वैशाखमा हुँदा चैतमा मात्र तयारी थाल्दा प्रयाप्त समय नहुने भएकाले जिल्ला तहको सम्पर्क बढाएको बताउने गरेको दाबी गरे। ‘१३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका सबै नेताहरू एउटा सेटअप बनेको छ,’ निधिलाई उद्धृत गर्दै निकट एक नेताले भने, ‘महाधिवेशन हुने एक महिना अघि मात्र सभापतिमा उठ्छु भनेर तयारी पुग्दैन। त्यसैले अहिले देखि नै साथीहरूसँग सम्पर्क गर्न थालेको छु।’

संस्थापनइतरबाट नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्रीहरू सिंह र सिटौला र केन्द्रीय सदस्य कोइरालासहितका नेताहरू नेतृत्वको आकांक्षी देखिँदा एक कार्यकाल दोहोरिने तयारीमा रहेका सभापति देउवालाई आफ्नो समूहबाट अर्को आकांक्षी नहुँदा ठूलो राहत मिलेको थियो। तर, निधिले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनेगरी तयारीलाई तीव्र बनाएसँगै सभापति देउवा दवावमा परेका छन्।

प्रकाशित: १४ मंसिर २०७७ ०७:४६ आइतबार

कांग्रेस सभापति भोट