२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दाहाल–नेपाल पक्षीय भेलाको निष्कर्षः ओली पक्षीयलाई कित्ताकाट गर्नुपर्छ

सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन्। गुट भेला र प्रशिक्षणमार्फत दुवै पक्षीय शक्ति सञ्चयमा जुट्ने क्रममा इटहरीमा कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय भेलाले अबको लडाई वारपार गर्नुपर्ने निचोड निकालेको छ।

इटहरीको एक होटलमा मोरङ जिल्लाभरका प्रदेश कमिटि सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भएको भेलाले अध्यक्ष ओली असहिष्णु भएको र जहिले हेपाहा व्यवहार गर्ने भएकाले गर्दा अब मिलेर जान नसक्ने निचोड निकालिएको सहभागी एक नेताले बताए। उनका अनुसार भेलाले ओली पक्षलाई कित्ताकाट गरेर अघि बढ्नुपर्ने र कुनै पनि हालतमा मिलेर जान नसकिने निष्कर्ष निकालियो।  

ओली पक्षीयबिरुद्ध पूर्व एमालेका नेता आक्रमक ढंगले प्रस्तुत भएका थिए। पूर्व माओवादीका नेताले भने मिल्न सकिन्छ भने मिलाएरै लान बैठकमा सुल्झाएका थिए। ‘हामीले त मिल्न सकिने सम्म मिलाएर जाउँ भनेर भन्यौं तर पूर्व एमालेका त पुरै आक्रमक भएर प्रस्तुत हुँदै मिल्नै नसक्ने निष्कर्ष निकाले,’ सहभागी पूर्व माओवादी पक्षीय एक नेताले भने, ‘पहिलो चरणमा प्रदेश किमिटी सदस्य बसेर भेला भएपनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ।’  

भेलाले मोरङ जिल्लाभर प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षीयभन्दा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय नेता–कार्यकर्ताको संख्यात्मक गणना समेत भएको थियो। ‘भेलामा दाहाल–नेपाल पक्षीय नेता–कार्यकर्ताको बहुमत रहेको निश्कर्ष निकाल्यौं,’ सहभागी एक नेताले भने। भेलाले अब १३ गतेपछि प्रदेश नं. १ का मन्त्री, सभासद र स्थानीय तहका प्रतिनिधिको गुट भेला तथा प्रशिक्षण तय गर्ने निर्णय भएको छ।  

भेलामा सहभागी नेकपा मोरङ जिल्ला सचिव गणेश उप्रेतीले जिल्ला सहइन्चार्ज महेष रेग्मी र गोपी आछामेले डाकेर गएको प्रतिक्रिया दिए। उनले भेलामा भएको केही कुरा खुलाउन चाहेनन्। ‘मलाईं मेरो नेता महेष रेग्मी र गोपी आछामेले बोलाएर गए। पार्टीलाई विधि र प्रक्रियागत ढंगले अघि बढाउनुपर्छ र फुटनु हुँदैन भनेर सुझाव दिए।’

भेलामा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सहइन्चार्ज द्वय महेष रेग्मी, गोपी आछामे, पूर्व मन्त्री शिवकुमार मण्डलसहित प्रदेश कमिटी सदस्य गरि ५० जना हाराहारीको सहभागिता रहेको थियो। मोरङमा गुट भेला हुँदा अर्को ओली पक्षीयसम्म सूचना पुग्ने भयले गर्दा इटहरीमा भेला राखिएको जानकारी दिइयो।  

भेला राख्ने समूहका नेता मेहष रेग्मीले भने प्रदेश कमिटीका केही साथीहरुले सहइन्चार्जसँग पार्टीको विवाद के हो? क्लियर पार्नु पर्‍यो भनेर बोलाएपछि चिया गफ मात्र भएको प्रतिक्रिया दिए। ‘साथीहरुले पार्टीको बारेमा चिन्ता लिएपछि हामीलाईं बोलाएर गएका हौ,’ उनले भने।

प्रकाशित: १२ मंसिर २०७७ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App