coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीसँगै १२ वर्ष जेल बसेका लिम्बु भन्छन्: पार्टी फुटाए पाप लाग्छ

पार्टी बिभाजनको खतरा टार्ने सन्देश नेकपा शीर्ष नेतृत्वलाई सुनाइदिन पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई आग्रह गर्दै पुराना कम्युनिष्ट नेता नारायण लुङ्खिम लिम्बु ।

प्रधानमन्त्री केपी ओलीसंगै १२ वर्ष जेल बसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङका पुराना कम्युनिष्ट कार्यकर्ता नारायण लुङ्खिम लिम्बुको मन सत्तारुढ दल भित्रको किचलोले कुँडिएको छ। पार्टी बिभाजनतर्फ उन्मुख भएको त होइन भनेर आशंका साँचिरहेका उनले नेकपा बिभाजन भए अहिलेको नेतृत्वलाई अपराध लाग्ने सोचेका छन्। उनले सोचेको त्यहिँ विषय नेकपाका स्थायी समिति सदस्य समेत रहेका पर्यटन मन्त्री योगेशकुमार भट्टराई समक्ष समेत पोखे।  

‘तपाइमार्फत केपी ओली र प्रचण्ड दुबैलाई पार्टी बिभाजन भए त्यसको जिम्मा लिन र पुराना कम्युनिष्ट कार्यकर्ताको बहकिएको मन थाम्न तयार रहने खबर पुग्नु पर्‍यो’ गाउँ दौडाहामा पुग्नु भएका मन्त्री भट्टराईलाई लिम्बुले भने। उनले चुल्होका तीन चम्का जस्तै बनेर पार्टी दरिलो बनाउने प्रकृयातर्फ लाग्न केपी, प्रचण्ड र माधव नेपाललाई आग्रह गरेका छन्। ‘मेरो यो खबर जस्ताको तस्तै शीर्ष नेतृत्वलाई पुर्‍याइदिनु पर्‍यो’ मन्त्री भट्टराईसंग लिम्बुको थप आग्रह थियो।  

तत्कालिन जिल्ला पञ्चायत र जिल्ला विकास समितिमा क्षेत्रीय सदस्यको भूमिका निर्वाह गरेका नेकपाका पुराना नेता बलनाथ लुम्खिम लिवाङले त आफ्नो आस्थाको दल नेकपा भित्रको किचलो पार्टी बिभाजनसम्म पुगे शीर्ष नेताविरुद्ध आफूहरु जस्तो सुकै परिस्थतिका अघि नझुक्ने बताए। ‘यो पार्टी हामी जस्तै वृद्धहरुको अनुभव, त्याग र लगावबाट बनेको हो, उनले भने ‘अब पनि शक्ति र सत्ताका लागि नेतृत्व बीच झगडा जारी रहे हामीले पार्टी जोगाउन हातमा जे छ, त्यहिँ लिएर उठ्नुपर्ने अवस्था नआओस्।’ पार्टी बिभाजनले कसैलाई सत्ता र शक्तिमा पुर्‍याएपनि इमान्दार कार्यकर्ता, देश र जनतालाई भने पटक्कै भलाइ नगर्ने बलनाथको भनाइ थियो। उनले दुई ठूला कम्युनिष्ट पार्टी एक भएर देशको समृद्धिका लागि केहि गर्लान् भनेर सोचेका आम नागरिकको सपनालाई आन्तरिक झगडाले चकनाचुर नपार्न समेत शीर्ष नेतृत्वको ध्यानाकर्षण गरेका छन्।  

७४ वर्षीय नारायण लिम्बुले प्रधानमन्त्री ओलीसंगै १२ वर्षसम्म एउटै जेलमा भएको स्मरण गर्छन्। ओलीले बन्दी जीवनमा आफूहरुलाई राजनीतिक सन्देश प्रवाह गर्दा झैं अहिले पार्टी एक ढिक्का बनाउन बिशेष योगदान दिनुपर्ने उनको भनाइ छ। अरु नेतालाई साथ लगाएर, अरुले पनि साथ दिएर पार्टीलाई बिभाजनको खतराबाट रोक्न उनले मन्त्री भट्टराईमार्फत जेल बस्दाका साथी ओलीलाई खबर पठाएका छन्। उनकै भनाइमा नारायण प्रधानमन्त्री ओलीका चेस पार्टनर थिए। ‘औधी भिडिन्थ्यो’ उनले ओलीसंगको बन्दी जीवनको स्मरण गरे। पार्टी बिभाजनको जोखिम देखेका पुराना कम्युनिष्ट कार्यकताहरुको निरासिएको मनलाई शान्त पार्दै पर्यटन मन्त्री भट्टराईले केन्द्रमा केहि असहज अवस्था भएपनि पार्टी बिभाजन नहुनेमा आश्वास्त पार्ने प्रयास गरे।  

उनले प्रधानमन्त्री ओलीका बन्दी जीवनमा सहयात्री नारायण र अर्का पुराना कम्युनिष्ट नेता बलनाथको पार्टी प्रतिको मोहको सम्मान गर्दै बिभाजन र आन्तरिक झगडा अन्त्यका लागि प्राप्त भएका सुझाव जस्ताको तस्तै लगेर शीर्ष नेतृत्वलाई सुनाउने बचन दिए। ९ मध्ये ६ वटा पालिकाका नागरिकहरुसंगको प्रत्यक्ष सम्बाद, विकास निर्माणको अवस्था र नागरिकको अपेक्षा तथा सुझाव ग्रहण गर्न भन्दै मन्त्री भट्टराई शनिबारबाट ताप्लेजुङका बिभिन्न पालिका केन्द्रित भएका छन्।

प्रकाशित: २५ कार्तिक २०७७ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App