७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

घाइते मुख्यमन्त्री शाहीलाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

सीमा निरीक्षणका लागि हुम्ला पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ।

सीमा निरीक्षणका लागि हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्। सिमीकोट गाउँपालिका–३ को तोर्पा जाने क्रममा हुड्की गाउँ नजिकै घोडाबाट लडेर शनिबार बेलुका टाउकोमा चोट लागेपछि मुख्यमन्त्री शाहीलाई माउण्टेन एयरको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ।  

शनिबार मुख्यमन्त्री शाही चीनसँग सीमा निरीक्षणका लागि हिल्सा र लिमी क्षेत्र जाने कार्यक्रम थियो। हेलिकोप्टरको उडान अनुमति नपाएपछि मुख्यमन्त्री शाही सिमीकोट गाउँपालिका–३ को तोर्पा, बरगाउँ र लिमाटाङ्गमा रहेका प्रदेशका योजना अनुगमान गर्न जाने क्रममा हुड्की गाउँ नजिकैको खोलामा घोडाबाट लडेका थिए।

सदरमुकामबाट गाडीमा गएका मुख्यमन्त्री शाहीलाई स्थानीय लामा समुदायले घोडा चढ्न अनुरोध गरेका थिए। मुख्यमन्त्री घोडाबाट लडेर घाइते भएलगत्तै सिमकोटबाट गएको हेलिकप्टरले बरगाउँको बागचाल्नाबाट उद्वार गरेको थियो। मुख्यमन्त्रीलाई हेलिकोप्टरमार्फत सुर्खेत ल्याएर टाउकोको सिटी स्क्यान गरिएको छ। ‘सिटी स्क्यान गरेर अहिले निवासमा आराम गरिरहनु भएको छ,’ मुख्यमन्त्रीका स्वकीय सचिव सुमन शाहीले भने, ‘अवस्था सामान्य छ।’  

प्रदेशका योजना अनुगमनका लागि मुख्यमन्त्री शाहीसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारीलगायत गाउँ पुगेका थिए। मुख्यमन्त्री आइतबार चीनसँगका सीमा क्षेत्रको अनुगमन गरेर बेलुका सुर्खेत फर्कने कार्यक्रम थियो।

यो पनि पढ्नुहोस्

हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाही दुर्घटनामा घाइते, हेलिकप्टरबाट सुर्खेत ल्याइदै

प्रकाशित: २२ कार्तिक २०७७ १३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App