८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सडकमा खाना खुवाउँदा स्वस्थकर हुँदैन, बरु पार्टी प्यालेसमा खुवाउनुस्: मेयर शाक्य

काठमाडौँको तारकेश्वर नगरपालिकामा मानवसेवा आश्रम स्थापना (भवन निर्माण) का लागि प्रक्रिया शुरु भएको छ। काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको भवनका लागि आवश्यक जग्गाको व्यवस्थापनको काम थालिएको आश्रमले जनाएको छ।

भवन निर्माणका लागि आज मानवसेवा आश्रम र ती नगरपालिका बीच प्रस्तावित सम्झौताका विषयमा छलफल भएको छ। आवश्यक प्रक्रिया पुरा भए यहाँ सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि ‘शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम’ बन्ने छ। एक वर्षभित्र भवन निर्माण गरिसक्ने प्रस्तावित योजनामा उल्लेख छ।  

त्रिपक्षीय बैठकले तारेकेश्वर ३ मा रहेको ३४ रोपनी खाली जग्गा स्वीकृतिका लागि सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ। बैठकमा प्रस्तावित डिजाइनका विषयमा समेत छलफल भएको थियो। भवन निर्माणका लागि झण्डै सात करोड ३८ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तावि डिजाइन भएकाले अझै अध्ययन गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। आश्रम बनेपछि सञ्चालन र व्यवस्थापनमा समेत सबै निकायले सहयोग गर्नुपर्ने र उपत्यकाको सडक मानव व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

फरक प्रसङ्ग जोड्दै प्रमुख शाक्यले सडकमा खाना खुवाउँदा स्वस्थकर नहुने भन्दै कुनै पार्टी प्यालेसमा खाना खुवाउन सम्बद्ध संस्थालाई अनुरोध गरे। यसका लागि महानगर आवश्यक सहयोग गर्न तयार रहेको समेत उनले बताए। तारकेवर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले आश्रमसँग विगतमा काठमाडौँ महानगरले सहकार्य गर्दै आएकोमा अब तारेकेश्वरले समेत सहकार्य गर्ने अवसर प्राप्त गर्न लागेकोमा खुशी व्यक्त गरे।

मनवसेवा आश्रमले विभिन्न कारणबाट घरबारविहीन भइ खुला आकाशमुनी कष्टकर रुपमा जीवन यापन गर्न विवश तथा शारीरिक र मानसिक रुपमा कमजोर व्यक्तिलाई संरक्षण दिँदै आएको छ। आश्रमले विसं २०८२ सालसम्ममा मुलुकलाई नै सडकमानवरहित देश बनाउने महत्वकांक्षी योजना अघि सारेको छ। सोही योजना अनुसार उपत्यकालाई मानवीयताको शहर बनाउने लक्ष्यसहित तारकेश्वरमा आश्रम स्थापना गर्न लागिएको हो।

आश्रम स्थापनापछि त्यसको सञ्चालन तथा व्यवस्थापन, नीति निर्माणलगायत कार्य गर्नका लागि महानगरपालिकाका प्रमुखको संयोजकत्वमा निर्देशक समिति रहने गरी प्रस्तावित खाका तयार पारिएको छ। सरकारबाट जग्गा प्राप्त भएपछि निर्माणको काम अघि बढ्ने जनाइएको छ। भवन निर्माणका लागि आवश्यक सहयोग महानगर र नगपालिकाबाट हुनेछ भने मानवसेवा आश्रमले सहयोपेक्षि सडक मानवहरुको उद्धार, रेखदेख, संरक्षण तथा उपचारपछि पुनःस्थापनको काम गर्नेछ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका सदस्य सञ्जिव शाक्यले आश्रमको भवन निर्माणका विषयमा गरिएको प्रारम्भिक अध्ययन र नक्साको विषयमा जानकारी गराएका थियो।  सात प्रदेशको २१ स्थानमा शाखा खोलेर आश्रमले सहयोगापेक्षि सडकमानवको व्यवस्थापन गर्दै आएको छ। आश्रमले अहिलेसम्म तीन हजार बढीको उद्धार गरेकोमा झण्डै एक हजार व्यक्तिलाई परिवारमा मिलन गराइसकेको छ भने एक हजार बढी अहिले पनि आश्रित छन्।

प्रकाशित: २१ कार्तिक २०७७ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App