‘नेपालमा समग्र राजनीतिमा देखिएको अहिलेको तितो सत्य। पहिलो पुस्ता भ्रष्ट ! दोस्रो पुस्ता बिचौलिया ! तेस्रो पुस्ता दुविधाग्रस्त ! चौथो पुस्ता अवसरवादी ! जो जससँग सम्बन्ध छ।’ यो भनाइ सरकार वा राजनीतिक दलप्रति असन्तुष्ट सर्वसाधारणको नभएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट वाग्मती प्रदेशसभा सदस्यमा प्रतिनिधित्व गरेकी बिजुला बर्माको हो। अगस्ट १५ मा सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक उनको यो धारणाले नेपालको सिंगो राजनीतिप्रतिको वितृष्णालाई प्रतिनिधित्व गर्छ। त्यति मात्र होइन, उनै बर्माले प्रतिनिधत्व गर्ने नेपाली कांग्रेसमा नेतृत्वका लागि चलिरहेको रस्साकसी र आफ्नै उमेर समूहप्रति पनि यो भनाइ लक्षित छ।
देश, जनता र पार्टीभन्दा व्यक्ति र गुटकेन्द्रित राजनीति तीव्र हुँदै जाँदा फागुनका लागि तय भएको कांग्रेस महाधिवेशन अनिश्चित बन्दै गएको छ। तर, पार्टीका पहिलोदेखि युवा पुस्तासम्मका नेताहरूको ध्यान कसरी कोरोना भाइरस संक्रमणको बढ्दो प्रभावबाट मुलुकलाई जोगाउने र महाधिवेशन समयमै सम्पन्न गर्नेतिर भन्दा पनि नेतृत्वमा पुग्ने भन्ने दौडमा केन्द्रित छ।
त्यो पनि योजना, कार्यक्रम प्रस्तुत गरेर होइन, आग्रह, पूर्वाग्रह र याचनाका भरमा। यो दौडमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित पो पुस्ता मात्र होइन, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइरालासहितले नेतृत्वका लागि आकांक्षा देखाउँदै आएका छन्। त्यसपछिको पुस्ता, जसले आफूलाई युवाको प्रतिनिधित्व गर्ने भन्छ, पनि सभापति र उपसभापतिबाहेक पद सुरक्षित गर्न गुटबन्दीमा सक्रिय छ।
योग्यता र क्षमता देखाउनेभन्दा आफूभन्दा माथिका नेताको आदेश पालक बन्ने र आफ्नो स्वार्थ रक्षा गर्न युवा पुस्ता सक्रिय छ। युवामा व्यक्तिवादी सोच हाबी भएसम्म नेतृत्व परिवर्तन गर्न कठिन हुन्छ।
आफूलाई युवा पुस्ताको नेता भन्नेहरू पनि पार्टीलाई पुनर्ताजगी गर्ने योजना, कार्यक्रम ल्याएर क्षमता देखाउनेभन्दा आफ्नो स्वार्थअनकूल हुने लाइन मिलाउन लागिपरेको देखिन्छन्। बाहिर पहिलो पुस्ताका नेताहरूप्रति आक्रामक र नेतृत्व परिवर्तनका लागि उत्साहित देखिए पनि पिरामिड शैलीको गुट विभाजनबाट युवा पुस्ता पनि मुक्त छैन। युवा आकांक्षा पूरा गर्न र अबका चुनौती थेग्न पहिलो पुस्ताका नेताहरू देउवा र पौडेलले नसक्ने भन्दै उनीहरूलाई महाधिवेशनबाट सम्मानपूर्वक बिदा गर्नुपर्ने आवाज मुखरित हुँदै आएको छ। तर, आफ्नो स्थान सुरक्षित गर्न युवा पुस्ता यो वा त्यो गुट र उपगुटमा विभाजित छ। आफ्नो स्वार्थ पूरा गर्न यो पुस्ता गुट र उपगुट बदल्न पनि पछि पर्दैन।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि संगठनमा सुधार ल्याउन भन्दै युवा नेताहरू आठ, बाह्र, र सोह्र भाइमा संगठित भएका थिए। तर, आआफ्नो स्वार्थपूर्तिपछि आफ्नै थान्कोमा पुगेका उनीहरू महाधिवेशन नजिकिएसँगै फेरि एकत्रित हुन थालेका छन्। उनीहरू अबको महाधिवेशनबाट पहिलो पुस्तामा पार्टी नेतृत्व पुग्न नदिन सामूहिक प्रयत्न गर्ने भन्दै संगठन सुधारका लागि योजना र कार्यक्रम बनाउने तयारीमा छन्। तर बाहिर गुट र अघिल्लो पुस्ताको आलोचना गरे पनि ‘कोटरी’ बाट आफैं टाढा नरहेको यो पुस्ताका नेतामा एकअर्काप्रति विश्वास छैन। योग्यता र क्षमता देखाउनेभन्दा आफूभन्दा माथिका नेताको आदेश पालक बन्ने र आफ्नो स्वार्थ रक्षा गर्न युवा पुस्ता सक्रिय छ।
केन्द्रीय सदस्य कल्याण गुरुङ पछिल्लो पुस्ता पार्टीमा राजनीति, सामाजिक र वैचारिक मुद्दा स्थापित गराउनेभन्दा पद र प्रतिष्ठाको पछि लागेको स्वीकार्छन्। पहिलोदेखि पछिल्लो पुस्तासम्मले आफू र पदलाई नै केन्द्रमा राखेर राजनीति गरेको उनको टिप्पणी छ। मुलुकमा २०४६ सालको राजनीतिक परिवर्तनपछि सक्रिय राजनीतिमा लागेकाले अवसरै अवसर पाए पनि उनीहरूकै गुनासो धेरै रहेको बताउँदै उनले भने, ‘मनमा रहेको पद र प्रतिष्ठाको लोभ हटाएर पार्टीको क्रियाशील सदस्य भएर बस्न तयार हुने हो भने परिवर्तन सम्भव छ।’ त्यसका लागि पछिल्लो पुस्ताले अहिलेसम्म आँट नगरेको स्वीकार्दै उनले भने, ‘युवा पुस्ताका नेता पनि लोभमा पर्दा समस्या भएको छ।’ १५औं महाधिवेशनमा अहिले युवा भनिएको पुस्ता बुढो हुने बताउँदै उनले भने, ‘भागबन्डालाई केन्द्रमा राखेर नेतृत्व र विचारको कुरा गर्नुको कुनै अर्थ छैन। तर परिवर्तनका लागि लोभ त्यागेर आँट गर्ने बेला आएको छ।’
‘अपवादबाहेक कसैले केही बोलिहाले पनि युवा पुस्ता संगठितरुपमा दबाब दिन सक्षम देखिएको छैन। युवा पनि गुट गुटमा लागेका छन्।’ - लोकराज बराल
अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरे व्यक्तिलाई भन्दा पार्टी र देश बनाउने मुद्दा केन्द्रमा राखेर आगामी महाधिवेशनमा जुट्नुुपर्ने बताउँछन्। पार्टीलाई पुनर्जीवन दिन परम्परागत गुटहरूलाई तोड्न तयार हुनुपर्ने तर्क गर्दै घिमिरेले भने, ‘आफूलाई नै केन्द्रमा राख्यांै भने त देश पनि बन्दैन, नेतृत्व पनि विकास हुँदैन र कांग्रेसमा आकर्षण पनि आउँदैन।’ कसको पालो पुग्यो वा पुगेन भन्ने विषयमा भावुक भएर अब कांग्रेसप्रति आकर्षण बढाउन नसकिने दाबी गर्दै घिमिरेले महाधिवेशनबाट पहिलो पुस्ताको नेतृत्वलाई सम्मानपूर्वक बिदा गर्नुपर्ने बताए। दोस्रो पुस्तामा पार्टी नेतृत्व झार्नेगरी युवाबीच छलफल अघि बढेको उनको दाबी छ।
व्यक्तिगत स्वार्थ र अवसरलाई केन्द्रमा राखेर अघि बढेका कांग्रेसका युवा नेताहरूमा तत्काल सामूहिक आँट र पहल निकै कठिन रहेको एक नेताले बताए। युवा भनिएका सबै नेता एक ठाउँमा हुने कुरा सम्भव नरहेको बताउँदै ती नेताले भने, ‘बेलाबेलामा चिया भेट गर्दै आएका युवा नेताले पनि एकले अर्कालाई स्विकार्ने अवस्था छैन। सबै आफू मात्र बन्ने दौडमा लागेका छन्। कतैबाट कसैले केही नपाए मात्र उनीहरू एक ठाउँमा उभिने हुन्।’ देउवा र पौडेलबाट अबको कांग्रेस चल्दैन भन्ने अहिलेका युवा नेताहरूको उमेरमा पहिलो पुस्ताका नेताहरूको पार्टीभित्र हस्तक्षेपकारी भूमिका रहेको ती नेताले बताए। ५०/५२ वर्षको उमेरमा देउवा प्रधानमन्त्री र पौडेल प्रतिनिधिसभाको सभामुख भएका थिए, त्यसबेला उनीहरूले कांग्रेसभित्रको निर्णय प्रभावित गर्ने भूमिकामा रहेको स्मरण गर्दै ती नेताले भने, ‘तर अहिलेको युवा पुस्ताका नेताहरू बाहिर जति चर्को कुरा गरे पनि आफ्नो योग्यता र क्षमता देखाउन छाडेर पदका लागि याचना गर्दै हिँडिरहेका छन्।’
आफ्नो युवापनमा सक्षम र प्रभावशाली मानिएको अहिलेको पहिलो र दोस्रो पुस्ताका नेताहरू समयक्रमसँगै बिस्तारै असान्दर्भिक हुँदै गए पनि वर्तमानमा आफूलाई युवा नेता भन्नेमा त्यो क्षमता छैन, व्यक्तिवादी प्रवृत्तिमात्र हाबी छ। यो सोच कायम रहे युवा नेता भन्नेहरू एकैपटक असान्दर्भिक हुने ती नेताको बुझाइ छ।
प्रतिपक्षी कांग्रेसभित्र मात्र होइन, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि युवा नेता भन्नेको अवस्था पनि उस्तै छ। कोरोना संक्रमणबाट मुलुक आक्रान्त भएका बेला सरकारको कामलाई प्रभावकारी बनाउन सहयोग गर्नुको साटो नेकपाका शीर्ष नेताहरू आन्तरिक विवादमा छन्। तर, विवाद समाधान गर्न युवा पुस्ताले नेतृत्वलाई दबाब दिन सकेको छैन। उल्टै व्यक्तिगत स्वार्थमा युवा पुस्ता पनि गुटगुटमा विभक्त हुन पुग्यो। युवा पुस्ता शीर्ष नेताहरूबीचको आन्तरिक कलहको साक्षी बनेको प्राध्यापक लोकराज बरालको बुझाइ छ।
‘अपवादबाहेक कसैले केही बोलिहाले पनि युवा पुस्ता संगठितरुपमा दबाब दिन सक्षम देखिएको छैन। युवा पनि गुट गुटमा लागेका छन्,’ बरालले भने, ‘भोलि उनीहरूले कसरी काम गर्लान् त्यो त अहिले भन्न सकिन्न तर अहिलेसम्म उनीहरू नेताको पछि लागेका छन्, आफ्नो क्षमता देखाउनेतिर लागेका छैनन्।’ नेकपाभित्रको विवादमा दोस्रो र तेस्रो पुस्ताले पार्टीका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाउनेबाहेक प्रभावकारी भूमिका खेल्न नसकेको बताउँदै उनले भने, ‘अवसर लिन र स्वार्थ पूरा गर्न युवा सक्रिय हुँदा बूढाहरू नै हाबी भएका छन्। यो विशेषता सबै दलमा छ।’
प्रकाशित: २१ भाद्र २०७७ ०१:०८ आइतबार