१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

विष्णु रिमालको आक्रोश : सञ्चारकर्मी होइन, ‘चरित्र सिकारी’

फाइल तस्बिर : विष्णु रिमाल

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पत्रकारिताका नाममा आफ्ना प्रतिस्पर्धीको चरित्र हत्या गर्ने प्रवृत्ति मौलाएको दाबी गर्दै तीव्र आक्रोश पोखेका छन् ।  

अहिले पत्रकारिताका नाममा सार्वजनिक ओहोदामा बसेका व्यक्तिको चरित्र हत्या गर्ने ‘सिकारी’हरूको बिगबिगी भएको भन्दै रिमालले असन्तुष्टि प्रकट गरेका हुन् ।  

उनले शनिबार फेसबुकमा फेक न्युज कसरी बनाइन्छ र मानिसको चरित्र हत्या गरिन्छ भन्ने ५ कदमसमेत उल्लेख गरेका छन् ।  

उनको स्टाटस जस्ताको तस्तै :

अचेल नियमितजस्तै यस्तो हुने गरेको छ–

पहिलो कदम–

सार्वजनिक पदमा रहेका आफ़ना प्रतिस्पर्धीको ‘चरित्र–सिकार’ गर्न ‘सिकारी’को छद्म लगानीमा सञ्चालित ‘पानी-अनलाइन’मार्फत चरित्र–हत्या गर्न रचिएको कथा सार्वजनिक गरिन्छ ।

दोश्रो कदम–

त्यही ‘कथा’लाई, त्यस्तै ‘पानी–अनलाइन’ले केही घण्टाभित्र साभार गरी पुनः प्रकाशन गर्छ ।

तेश्रो कदम–

‘फेक न्युज’को ‘होलसेलर’ले त्यस ‘कथा’लाई आफ़्नो ‘बिक्रेता समूह’मार्फत फेसबुक वा ट्विटर या दुवै सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्छ । तुरुन्तै, पहिलेदेखि नै तैनाथ ‘पेसेवर सञ्जालकर्मी’हरूको सक्रियता बढ्छ । पक्षमा, विपक्षमा या आश्चर्य व्यक्त गर्दै टीका–टिप्पणी सुरु हुन्छ । मेसेन्जर, ह्वाट्स एप, भाइबर आदिमा फैलाइन्छ ।

चौथो कदम–

एक-दुई दिन मैं ‘पानी-अनलाइन’को ‘फेक न्युज’ भाइरल बनाइन्छ । सामाजिक सञ्जाल पर्याप्त प्रदूषित भएपछि ‘फेक न्युज’को ‘सत्यता’ पुष्टिको अभियान सुरु हुन्छ । यसका लागि ‘लिडिङ’ अनलाइन या प्रिन्ट मिडियामा प्रवेश गराइन्छ । यो बिन्दुमा आइपुगेपछि हाम्रो व्यावसायिक पत्रकारिता जुर्मुराउँछ ।

पाँचौं कदम–

‘पानी-अनलाइन’ हुँदै मूलधारको मिडियामा प्रवेश गराइएको ‘फेक न्युज’ सुरुमा एउटा लिडिङ अनलाइन वा प्रिन्ट मिडियामा समाचार बनाइन्छ । त्यसको सप्लिमेन्ट समाचार सोही स्तरको अर्को मिडियाले ‘आकर्षक’ कलेबरमा प्रसारण गर्छ । अनि सुरु हुन्छ- अडियोरभिजुअल प्रचारप्रसार ।

‘त्यसको, त्यस कार्यमा संलग्नता,

त्यो, त्यस कार्यमा संलग्न रहेको बलियो प्रमाण,

त्यस कार्यमा रहेको संलग्नतामा तपाईंको प्रतिक्रिया...’

––– झण्डै अढाई बर्षदेखि यसरी यस्ता दर्जनौं ‘स्क्यान्डल’हरू र्सिजना गरिएका छन् । तथ्यले भन्छ– यस्तो ‘अभियान’मा मूलधारमा रहेका उहीरउही व्यावसायिक सञ्चारमाध्यम ‘दुरुपयोग’ भएका देखिन्छन् ।

––– ‘सिकारी’हरूले सार्वजनिक ओहोदामा रहेका दर्जनौं व्यक्तिहरूको चरित्रको सिकार गरिसकेका छन् । यो शृंखलाको पछिल्लो ‘टार्गेट’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई बनाइएको छ ।

––– सञ्चारकर्मी मित्रहरू,

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र आम सञ्चारमाध्यमको यसरी दुरुपयोग भएको देख्दा मलाई मात्रै हैन, वास्तविक पत्रकारितामा जीवन बिताउनुभएका तपाईंहरूलाई पनि दुःख लागेको हुनुपर्छ । पेसागत ‘धर्म’का कारणले होला- तपाईंहरू फोन गर्नुहुन्छ, प्रतिक्रिया माग्नु हुन्छ ।

तपाईंहरू नै भन्नुहोस्-

यस्तोमा के प्रतिक्रिया दिऊँ ? के कमेन्ट गरुँ ?

‘सिकारी’को पासोमा कोही किन परौं ?’

प्रकाशित: १३ भाद्र २०७७ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App