श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकको शैक्षिक प्रणालीमा आमूल परिवर्तन गर्दै विद्यार्थीहरूलाई श्रम र उत्पादनसँग जोड्नुपर्ने धारणा राखेका छन्।
आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हप्तामा ३ दिन मात्र पुस्तक पढाइने र बाँकी ४ दिन अनिवार्य श्रम, खेलकुद तथा आविष्कारमा लगाउनुपर्ने प्रस्ताव गरेका हुन्।
अध्यक्ष साम्पाङले शिक्षालाई व्यावहारिक बनाउन विद्यार्थीले टमाटर, फूल वा विभिन्न अन्न बाली फलाउँदा १०/१० अङ्क पाउने गरी मूल्याङ्कन पद्धति विकास गर्नुपर्नेमा जोड दिए।
‘शिक्षा भनेको पढाइ मात्र होइन, गराइ हो,’ उनले भने, ‘डिग्रीको प्रमाणपत्र सिरानी हालेर विदेश जाने सपना देख्ने शिक्षाभन्दा आफ्नै माटोमा उत्पादन गरी निर्यातमुखी अर्थतन्त्र निर्माण गर्ने शैक्षिक लक्ष्य आवश्यक छ।’
सोही कार्यक्रममा साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई प्रेससँगको संवाद बढाउन सुझाव समेत दिएका छन्।
उनले सरकारले गरेका काम र योजनाका बारेमा जनतालाई सुसूचित गराउन प्रधानमन्त्रीले कम्तीमा हप्तामा एक पटक वा महिनामा एक पटक अनिवार्य रूपमा पत्रकारहरूसँग साक्षात्कार गर्नुपर्ने बताए।
उनले थपे, ‘पारदर्शिता बिना सुशासन सम्भव छैन, त्यसैले के भइरहेको छ भन्ने कुरा प्रधानमन्त्रीले प्रेस मार्फत जनतालाई जानकारी दिनुपर्छ।’
आफू भविष्यमा मन्त्री वा प्रधानमन्त्री जुनसुकै पदमा पुगे पनि जनतालाई प्रश्न सोध्ने वातावरण दिने र सधैँ नागरिकको हितमा समर्पित हुने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
मुलुकमा व्याप्त बेरोजगारी र गरिबीको मुख्य कारण शिक्षालाई श्रमसँग जोड्न नसक्नु नै रहेको दाबी गर्दै उनले अबको पुस्तालाई किताबको भारी बोकाउने अपराध बन्द गर्नुपर्ने बताए।
नेपाली युवाहरूको वैदेशिक पलायनप्रति चिन्ता व्यक्त गर्दै साम्पाङले स्वदेशमै उत्पादन, आविष्कार र अनुसन्धानमा लगानी नगरे देश विदेशी ऋणको भारले थप थला पर्ने चेतावनी दिए।
प्रकाशित: ६ वैशाख २०८३ १७:४९ आइतबार





