१६ चैत्र २०८० शुक्रबार
राजनीति

६० वर्षमाथिका नेता र उच्च पदस्थलाई नियम लाग्दैन ?

शुक्रबार दिउँसो ताहाचलनिवासी ६० वर्षमाथिका एक ज्येष्ठ नागरिक विभिन्न बहाना बनाएर घरबाट बाहिर निस्किए। छोराले कोरोना संक्रमण जोखिम हुने भन्दै उनलाई बाहिर ननिस्कन सुझाए। उनले उल्टै हकारे, ‘देशका वृद्ध नेताहरू बाहिर निस्कँदा उनीहरूलाई कोरोना लाग्दैन, मलाई चाहिँ किन लाग्छ ?’ त्यस्ता नेताभन्दा आफू नै बलियो भएको जिकिर गर्दै उनले आफ्नो सुझाव आफैंसँगै राख्न भने। छोरोले बुवाको बचन सुनिरहे, थप केही बोल्न उचित ठानेनन्।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले केही दिनअघि मात्र ६० वर्षमाथि र १२ वर्षमुनिकालाई बाहिर ननिस्कन भनी नयाँ नियम कार्यन्वयनमा ल्याएको छ। तर जनताका आदर्श मानिने प्रधानमन्त्रीदेखि थुप्रै नेता तथा संवैधानिक निकायका पदाधिकरीबाटै यो नियम पालना भएको छैन। अदालतका न्यायाधीश पनि प्रायः ६० वर्षमाथिकै छन्। उनीहरू अदालत गइरहेकै छन्। प्रधानमन्त्रीसमेत विभिन्न नेताका घरमा पुगेका छन्। यद्यपि उनीहरूले उच्च सतर्कता अपनाएका होलान्। तर जनतामा यी र यस्ता क्रियाकलापको नकारात्मक असर परेको छ। त्यही भएर सरकारले जनताको हितमा ल्याएको नियम प्रभावहीन बन्दै गएको छ। यता मास्क लगाएर वृद्धावृद्धा खुरुखुरु घरबाहिर निस्किने क्रम रोकिनुको सट्टा झन् बढ्दै छ।  

वृद्ध नेता तथा मन्त्रीहरू बिरामी कार्यकर्तालाई अस्पतालमा भेट्ने, विभिन्न राजनीतिक कार्यकर्ताका घरमै गएर भेटघाट गर्ने, विभिन्न कार्यक्रममा सहभागी हुन एक जिल्लाबाट अर्को जिल्लामा आउजाउ गर्नेलगायत आ–आफ्नो कार्य गरेको देखेरै आम जनताले सरकारको नियम पालना नगरेको अधिवक्ता एवं नेकपाकी पूर्वविद्यार्थी नेता राधिका खतिवाडाले औंल्याइन्। उनले सरकारले संक्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कोरोना संक्रमणबाट जनतालाई जोगाउन ६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कनू भनी निर्देशन दिनु सकारात्मकभएको बताइन्। तर आदर्श मानिएका नेता तथा सरकारको उच्च निकायका पदाधिकारीहरू नै आफैंले बनाएको नियम पालना नगरेपछि जनताले पनि वास्ता नगरेको उनको ठम्याइ छ। प्रमुख दलहरू नेकपा, नेपाली कांग्रेसलगायतमा माथिल्ला तहका नेता ६० वर्षमाथिकै नेताहरू पदमा छन्।  

अदालतका न्यायाधीशहरू, अख्तियारका प्रमुख आयुक्त तथा आयुक्तहरू, लोकसेवा आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग, महिला अयोगलगायत संवैधानिक निकायमा कार्यरत पदाधिकारी ६० वर्षमाथिकै छन्। ‘नेकपाभित्र सचिवालयमा सबै ६० वर्षमाथिकै नेता छन्। स्थायी कमिटीमा केही युवा नेताबाहेक सबै ६० वर्षमाथिकै छन्,’ अधिवक्ता खतिवडाले नागरिकसँग भनिन्, ‘महामारीले को मन्त्री को सामान्य जनता चिन्दैन। जोकोहीलाई पनि लाग्न सक्छ। जनताले नेता तथा संवैधानिक निकायका पदाधिकारीलाई आफ्नो आदर्श मानेका हुन्छन्। त्यही भएर नियम बनाउनेले पहिला पालना गर्नुपर्छ।’ उनले थपिन्, ‘सरकारले उहाँहलाई घरमै आराम गर्ने वातावरण बनाइदिनुपर्छ। काम गर्नु छ भने अनलाइनका माध्यम प्रयोग गरेर काम गर्नु नै राम्रो हुन्छ।’  

भारतीय मिडियाहरूमा कोरोनासम्बन्धी जनचेतनामूलक सूचना दिने अभिनेता अमिताभ बच्चनलाई नै कोरोना संक्रमण भएपछि उनी अभिनित विज्ञापन हटाइए। आइडल भएकाले कोरोनाबाट बच्न पटकपटक हात धुनुपर्ने, मास्क र सेनिटाइजरको प्रयोगबारे जनचेतना फैलाइरहेको विज्ञापनमा उनको प्रयोग गरिएको थियो। ‘अमिताभ बच्चन पनि विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए,’ खतिवडा भन्छिन्, ‘जनताका आइडलले नै नियम पालना नगरेपछि सरकारले बाध्यकारी नियम कार्यान्वयनमा चुनौती थपिने हो।’

अर्का नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष नैनसिंह महरले पनि सरकारले आह्वान गरेको नियम पालना गराउन र प्रभावकारी बनाउन आफैंदेखि मन्त्री तथा नेताहरूले आफैंदेखि सुुरु गर्नुपर्ने जनाए। उनले महामारीले उमेर र ठूलासाना नभन्ने भन्दै सबैले पालना गर्नुपर्ने बताए। ‘हाम्रा पार्टीमा थुप्रै नेता ६० वर्षमाथिकै हुनुहुन्छ। विभिन्न कार्यक्रममा भाग लिएर काम गरिरहनु नै भएको छ,’ उनले भने, ‘नियम बनाउनेले नै पालना नगरेपछि जनताले के मान्लान् ?’

नेकपाबाट वाग्मती प्रदेश सभा सदस्य रत्न ढकालका अनुसार कोभिड उच्चस्तरीय समितिको सर्वेक्षणले दिएको सुझावअनुसारै सरकारले कोरोना संक्रमणको जोखिममा १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका वृद्धवृद्धालाई देखाएकाले यी समूहकालाई घरबाहिर ननिस्कने नियम ल्याएको हो। ‘खासगरी राज्यको उच्च निकायमा रहेकाले नै गम्भीर रूपमा नियम पालना गरेको देखिएन,’ ढकाल भन्छन्, ‘मन्त्री तथा जनप्रनिधि कार्यक्रम तथा नेताका घरघरमा हिँडिरहनुभएको छ।’ उनले थपे, ‘जनतमा यसको नकारात्मक असर परिरहेको छ।

प्रकाशित: २४ श्रावण २०७७ ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App