२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कूटनीतिमा कालोबादल

नेपालले अन्तर्राष्ट्रिय जगतसँग कूटनीतिक सम्बन्ध राख्न थालेको दुई सय वर्षभन्दा बढी भइसकेको छ। सबैभन्दा पहिले बेलायतबाट सुरु भएको कूटनीतिक सम्बन्ध हालसम्म आइपुग्दा १ सय ६८ भन्दा बढी मुलुकमा विस्तार भइसकेको छ।  

दक्षिण एसियामै सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय सम्बन्धको अनुभव हासिल गरेको नेपालले अमेरिका, फ्रान्सलगायतका शक्तिराष्ट्रसँग कूटनीतिक सम्बन्ध सुरु गरेको समेत सात दशकभन्दा बढी भइसकेको छ। तर बहुदलीय प्रजातन्त्र र गणतन्त्र स्थापनापछि बनेको सबैभन्दा शक्तिशाली सरकार भएकै बेला नेपालको कूटनीतिक सम्बन्ध धर्मराउन थालेको छ। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार बनेपछि नेपाल विश्वजगत्मा सुनिन र देखिन थालेको अभिव्यक्ति पटकपटक दोहो¥याउँदै आएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कतिपय मञ्चमा सरकारको काम देखेर विश्व चकित भएको बताउने गरेका थिए। तर पछिल्लो केही समययताको सरकारको क्रियाकलाप हेर्ने हो भने नेपालसँग कूटनीतिक सम्बन्ध भएका मुलुक सशंकित हुनुपर्ने अवस्था उत्पन्न भएको छ। नेपालको कूटनीतिमा खतराको कालोबादल मडारिन थालेको छ।  

कूटनीतिलाई विदेश नीति सञ्चालनको साधन भन्ने गरिन्छ। अन्य मुलुकसँगको कूटनीतिक सम्बन्ध कति सुमधुर छ भन्ने कुराले त्यस देशको विदेशनीति कसरी सञ्चालन भइरहेको छ भन्ने संकेत गर्छ। त्यसमाथि नेपालको परम्परागत कूटनीति कुनै सैन्य गठबन्धनमा सहभागी नहुने असंलग्नताको नीतिबाट निर्देशित देखिन्छ। तर नेपालमा चीनको प्रभाव महसुस हुनेगरी बढ्दै गर्दा अन्य मुलुकसँगको सम्बन्ध बिस्तारै कमजोर हुँदै गएको छ। सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध रहेको र ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं विविध किसिमका सम्बन्ध रहेको छिमेकी मुलुक भारतसँगको सम्बन्ध अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको छ।  

दुई देशबीच सीमा विवाद र त्यसमा आआफ्ना दाबी स्वाभाविक भएपनि पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्नो सत्ता टिकाउन समेत एकपछि अर्काे गर्दै भारतमाथि आरोप थोपर्न थालेपछि भारतसँगको सम्बन्धमा चिरा पर्दै गएको छ। केही दिनअघि भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले हिन्दुहरुको धार्मिक स्थल अयोध्याबारे दिएको अभिव्यक्तिले दुई मुलुकबीच जनताको तहमा रहेको सम्बन्धमा समेत असर पर्न थालेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रालयले प्रस्ट पार्नुपर्ने अवस्था त आयो नै, भारतमा रहेका नेपालीमाथि पनि दुव्र्यवहार सुरु भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिबाट भड्किएको धार्मिक संगठन विश्व हिन्दु सेनाले भारतको वाराणसीमा नेपाली युवकको शिर मुण्डन गरेर नेपालविरुद्ध नाराबाजी गर्न लगाएकोछ। यसले जनस्तरमा रहेको दुई मुलुकबीचको सम्बन्धमा पनि फाटो ल्याउने सम्भावना बढेको छ।  

नेपालको परम्परागत कूटनीति कुनै सैन्य गठबन्धनमा सहभागी नहुने असंलग्नताको नीतिबाट निर्देशित देखिन्छ। तर नेपालमा चीनको प्रभाव महसुस हुनेगरी बढ्दै गर्दा अन्य मुलुकसँगको सम्बन्ध बिस्तारै कमजोर हुँदै गएको छ।

नेकपाको सत्तारोहणसँगै नेपालको आर्थिक साझेदार अमेरिकासँगको सम्बन्धमा पनि चिसोपन आएको छ। अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) स्वीकार गर्ने विषयमा सत्तारुढदलमा देखिएको विवादले दुई मुलुकबीचको  सम्बन्धमा चिसोपन आएको छ। त्यसो त सत्तारुढ नेकपाकै अध्यक्ष पुष्पकमल दाहालले  गत वर्ष भेनेजुयला र क्युबाका विषयमा अमेरिकामाथि गरेको कटाक्ष र त्यसलगत्तै उनको अभिव्यक्तिलाई समर्थन गर्दै परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिले पनि दुई मुलुकबीचको कूटनीतिक सम्बन्धमा चिसो सुरु भएको थियो। हाल अमेरिकासँग मात्र नभएर अन्य पश्चिमा मुलुकसँग पनि नेपालको कूटनीतिक सम्बन्ध प्रभावकारी देखिँदैन। तथापि सरकारले लामो समयदेखि हुन नसकेको चिनियाँ राष्ट्रपति सी जिङ पिङको गत वर्षकोनेपाल भ्रमणलाई कूटनीतिक सम्बन्धको उपलब्धिका रुपमा लिने गरेको छ। अन्य मुलुकसँगको सम्बन्धमा चिसो बढ्दै गर्दा चीनसँगको कूटनीतिक सम्बन्ध भने सुमधुर देखिन्छ।  

कूटनीतिक क्षेत्रका जानकार नयाँ सरकार निर्माणसँगै वैदेशिक सम्बन्धमा केही सुधारको संकेत देखिएपनि पछिल्लो समय नेपालको विदेश नीतिमा सन् १९५५ देखि पालना हुँदै आएको अनुशासन भंग भएको बताउँछन्। उनीहरु विश्व व्यवस्थामा सम्भावित बहुध्रुवीय संरचना प्रस्ट नहुँदै नेपाल एकतर्फ ढल्कन पुगेको भन्दै यसले गर्दा भविष्यका लागि चिन्ता र चुनौती थपिएको बताउँछन्।

पूर्व परराष्ट्रमन्त्री एवं कूटनीतिक क्षेत्रका जानकार रमेशनाथ पाण्डे दक्षिण एसियाका सबै देशभन्दा धेरै पुरानो अन्तर्राष्ट्रिय सम्बन्धको अनुभव भएको नेपालले तत्कालीन महाशक्ति राष्ट्रसँग द्वौत्य सम्बन्ध स्थापित गर्दा दक्षिण एसियामा एउटा पनि स्वतन्त्र राष्ट्र नभएको बताउँछन्। यस्ता देशबाट कूटनीतिक सीप र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा संयम हराउँदै गएको देखिनु चिन्ताको विषय भएको उनको भनाइ छ। उनी कुनै पनि देशको कूटनीतिलाई उसको आन्तरिक राजनीतिक स्थायित्वले बल पु¥याउने बताउँछन्। ‘करिब दुई तिहाइ बहुमत भएको र निष्कृय प्रतिपक्ष भएको बेलामा राष्ट्रिय हितका कार्यले बढी गति पाउने अपेक्षा गरिएको थियो तर यसविपरीत नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर हुँदै जानु दुवै छिमेकी मुलुकसँगको सम्बन्धमा विश्वासको कमी बढ्दै जानु र भौगोलिक अखण्डता खण्डित भएको अवस्था चिन्तापूर्ण छ,’ उनले भने। भारतसँगको संवादहीनताको अवस्थाले चिन्ता बढाएको उनले बताए।

यसैबीच प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भारतमा नेपालीमाथि भएको दुव्र्यवहारका विषयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेका छन्। छलफलमा मुख्यमन्त्री आदित्यनाथले आफ्नो राज्यमा रहेका नेपालीको सुरक्षाप्रति प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालीको शिर मुण्डन गरेको घटनामा संलग्नलाई कारबाहीका लागि वाराणसी प्रहरीले घटनाको एफआईआर दर्ता गर्दै संलग्नलाई पक्राउ गरेको जनाइएको छ।

प्रकाशित: ३ श्रावण २०७७ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App