४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश प्रहरी विधेयक संसोधनसहित पारित

प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित पारित गरेको छ । आइतबारको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।

प्रदेश सभाले विधेयक पारित गरेसँगै प्रदेश १ मा प्रहरी भर्नाको बाटो खुलेको छ । प्रदेश १ मा ११ हजार प्रहरी सहितको प्रदेश प्रहरी गठन गर्ने व्यवस्था प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ ले गरेको छ ।  पहिलो चरणमा संघीय प्रहरी नै प्रदेशमा समायोजन भएर आउने भएकाले दोस्रो चरणमा मात्रै आवश्यकताका आधारमा प्रदेशमा प्रहरी भर्ना सुरू गर्ने प्रदेश सरकारको तयारी छ । 

प्रदेश प्रहरी सम्बन्धी विधेयकमा सांसदहरू उमिता विश्वकर्मा, लक्षुमन तिवारी, विमल कार्की, शिवनारायण गनगाईलगायतका सांसदहरूले संसोधन प्रस्ताव दर्ता गरेका थिए ।  सांसदले राखेका  संसोधन प्रस्तावहरू मध्ये केहीँलाई  ग्रहण गर्ने र केहीँलाई नियमावलीले सम्बोधन गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले आश्वासन दिए । 

आफूहरूले राखेका संसोधन प्रस्तावलाई आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले आंशिक रुपमा स्वीकार गर्नुभएको र केहीँ प्रस्तावलाई नियमावलीमा समावेश गर्ने आश्वासन दिनु भएकाले प्रस्ताव फिर्ता लिने सांसदहरूले घोषणा गरेका थिए । प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ सर्वसम्मतले पारित भएको सभामुख प्रदिप कुमार भण्डारीले जानकारी दिए ।

प्रकाशित: २९ असार २०७७ १२:५० सोमबार

पारित प्रदेश प्रहरी