पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। एक विज्ञप्ती जारी गर्दै शाहले ‘बर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु’, शाहद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ।
शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार गराउन भन्दै उनले विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने आग्रह गरेका छन्।
‘हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो, त्यसैले यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ’, विज्ञप्तीमा भनिएको छ।
प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने आफ्नोे ईश्वरमा प्रार्थना रहेको उनले बताएका छन्। उनले शोक सन्तप्त पीडित सबैमा समवेदना व्यक्त गर्दै घाईते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रकाशित: २९ असार २०७७ १२:३० सोमबार