coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको दावी आधारहिन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको प्रतिरक्षा प्रणाली बलियो रहेको भन्दै कोरोना संक्रमितलाई बेसार प्रयोग गर्न सुझाव दिइरहँँदा सरकारी तथ्यांकले भने प्रत्येक तीन जनामा दुई जनाको दीर्घरोगका कारण मृत्यु हुने गरेको देखाएको छ।  

विभिन्न अध्ययनले दीर्घ रोगहुनेहरू कोरोना संक्रमणको जोखिम उच्च रहेको देखाएका छन्। स्वास्थ्य विज्ञहरूले प्रधानमन्त्री ओलीलाई तथ्य र अध्ययनका आधारमा मात्र धारणा सार्वजनिक गर्न र आधारहिन कुरा नगर्न सुझाव दिएका छन्। उनीहरूले प्रधानमन्त्रीले  विश्वव्यापी महामारीलाई हल्का रूपमा लिइएको बताएका छन्।

‘प्रधानमन्त्री ओलीले बेसार पानीले कोरोना संक्रमण निको हुने बताइरहनु भएको छ, तर उहाँले तथ्य प्रस्तुत गर्नुभएको छैन। उहाँको धारणा अनुसन्धानमा आधारित छैन। यदी कोही चिकित्सकसँग नगई बेसार पानी खाँदा मृत्यु भयो भने के हुन्छ ? जिम्मेवार को हुन्छ ?’ जनस्वास्थ्य विज्ञ डा. समिरमणी दिक्षितले प्रश्न गरे।  

अमेरिकाको जनस्वास्थ्य संस्था ‘रोग नियन्त्रण तथा रोकथाम केन्द्र’ का अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने दीर्घ रोगीको मृत्यु दर १२ गुणाले बढेको देखाएको छ। गत साता प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्दै कोरोनासँग लड्न नेपालीको प्रतिरक्षा प्रणाली बलियो रहेको बताएका थिए। ‘नेपालको जनसंख्याको ठूलो हिस्सा ६० वर्षभन्दा तलको रहेकाले नेपालीहरूको प्रतिरक्षा प्रणाली राम्रो हुनसक्छ। यसको अर्थ युवा जनसंख्या कोरोनाको जोखिमबाट मुक्त भन्ने होइन किनभने नेपालमा दीर्घ रोगीको संख्या उच्च छ,’ डा. दिक्षितले भने।  

सरकारी तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ३० प्रतिशतभन्दा बढीमा दीर्घरोग छ। ‘३० प्रतिशतभन्दा बढी जनसंख्यामा कुनै न कुनै दीर्घ रोग रहेको छ। उनीहरू जोखिममा रहेका छन्। ‘त्यसैले जिम्मेवार भूमिकामा रहेका प्रधानमन्त्रीको भाषण तथ्यांक र अनुसन्धानमा आधारित हुनुपर्छ,’ दिक्षितले भने।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तथ्यांकअनुसार १२ प्रतिशत जनसंख्या फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका छन्। त्यस्तै ८.५ प्रतिशत जनसख्ंयामा मधुमेह, ६ प्रतिशत मृगौला र तीन प्रतिशत मुटु सम्बन्धी रोगबाट पीडित रहेका छन्।  सरकारसँग क्यान्सर र रक्तचाप सम्बन्धी रोगको पनि व्यवस्थित तथ्यांक छैन्।  

सरकारी कार्यालयमा कार्यरत चिकित्सककाअनुसार दीर्घ रोगीको संख्या नेपालमा उच्च रहेको छ। ‘दीर्घ रोगीहरू कोभिडको उच्च जोखिममा रहेका हुन्छ। प्रधानमन्त्रीले कसरी नेपालीहरूको प्रतिरक्षा प्रणाली बलियो छ भन्नुभयो जबकी ३० वर्षभन्दा कम उमेरका समेत कोभिडबाट मृत्यु बरण गरेका छन्,’ नाम नबताउने सर्तमा एक चिकित्सकले भने।  

‘प्रत्येक वर्ष झाडापखलाबाट मात्रै नेपालमा १० हजारबढीको मृत्यु हुने गरेको छ। प्रधानमन्त्री ओलीले नेपालीको प्रतिरक्षा प्रणाली बलियो छ भन्दै गर्दै दीर्घ रोग र स्वास्थ्यसँग सम्बन्धित रोगबाट हुने मृत्युको संख्या उच्च रहेको छ,’ ती चिकित्सकले भने। प्रधानमन्त्री ओलीले कोभिड–१९ नियमित रुघाखोकी जस्तै भएको बताए।

प्रकाशित: ९ असार २०७७ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App