१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरिता गिरीमाथि कारबाही प्रक्रिया सुरु

जनता समाजवादी पार्टी नेपालले पार्टी सांसद सरिता गिरीलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। संविधान संशोधन विधेयकको विपक्षमा उभिएकी गिरीलाई कारबाही प्रक्रिया अघि बढाउन संसदीय दलले आइतबार पार्टीलाई पत्र पठाएको छ।  

गिरीले संसदीय दलको निर्णय र ह्विपलाई उल्लंघन गरेको उल्लेख गर्दै दलका प्रमुख सचेतक उमाशंकर अरगरैयाको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘पटकपटक अनुरोध गर्दा पनि उहाँले पार्टीको निर्देशन, संसदीय दलको निर्णय र ह्विपलाई उल्लंघन गरी मतदानमा भाग नलिई संसद् भवन छाडेर बाहिरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

अध्यक्ष उपेन्द्र यादवले प्रमुख सचेतक अरगरैयालाई संसदीय दलको तर्फबाट पार्टीलाई चिठी लेखी औपचारिक जानकारी गराउन निर्देशन दिएका थिए।  समाजवादीका पूर्व महासचिव रामसहाय यादवले पार्टीले बैठक बसी गिरीमाथिको कारबाही प्रक्रिया अघि बढ्ने बताए।  

गिरीलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा पार्टी दुई कित्तामा बाँडिएको बताइएको छ। पहिलो कित्ता पार्टीको साधारण सदस्यता समेत नरहने गरी गिरीलाई सांसद पदबाट फिर्ता बोलाउनुपर्ने पक्षमा छ भने दोस्रो कित्ता सांसदबाट फिर्ता नबोलाउने गरी  सामान्य कारबाही गर्नुपर्ने पक्षमा उभिएको छ।  

खासगरी बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङ लगायत पहाडी मूलका नेताहरू गिरीलाई तत्काल पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गर्नुपर्ने अडानमा रहेको स्रोतको भनाइ छ। गिरीलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेमा उनको सांसद पद नरहने उनीहरूको भनाइ छ। पूर्व समाजवादीका मधेसी मूलका रेणु यादव, विजय यादव, इस्तियाक राई लगायत नेता गिरीको सांसद पद कायम रहने गरी सामान्य कारबाही गर्नुपर्ने पक्षमा छन्। गिरीलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोधिनुपर्ने पनि उनीहरूको भनाइ छ। ‘कारबाहीको प्रक्रिया अघि बढाउनुअघि उहाँलाई स्पष्टीकरण दिने मौका दिनुपर्छ,’ विजय यादवले भने।

प्रकाशित: ८ असार २०७७ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App