३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सिन्धुलीका २५ मतदानस्थल अति संवेदनशील, सुरक्षा निगरानी बढाइयो

सिन्धुलीका २५ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तोकिएका मतदान केन्द्रमध्ये २५ मतदानस्थल सुरक्षा दृष्टिकोणबाट अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले बताइन्।

प्रजिअ श्रेष्ठका अनुसार सिन्धुलीमा कुल १५१ मतदानस्थल छन्। तीमध्ये ६५ मतदानस्थल संवेदनशील र ६१ मतदानस्थल सामान्य वर्गमा पर्दछन्। मतदानस्थललाई सुरक्षा सूचकका आधारमा १० भन्दा बढी मापदण्डअनुसार संवेदनशील, अति संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको सुरक्षा निकायले जनाएको छ। यस क्रममा भौगोलिक विकटता, सडक सञ्जालको पहुँच र मतदानस्थलको घेराबेरा लगायतका पक्षलाई प्राथमिकतामा राखिएको छ।

अति संवेदनशील मतदान केन्द्रमा निर्वाचन लक्षित गरी सुरक्षा निकायले निगरानी र सुरक्षा व्यवस्था थप गरेको छ। जिल्लानिर्वाचन कार्यालय सिन्धुलीका अनुसार १५१ मतदानस्थलमा २७२ मतदान केन्द्र रहेका छन्। सिन्धुलीमा कुल २ लाख १५ हजार १९ मतदाता छन् भने यस निर्वाचनका लागि ६ हजार ६ सय ५० नयाँ मतदाता थपिएका छन्। साथै पाँच मतदान केन्द्र यस निर्वाचनमा थपिएका छन्।

प्रजिअ श्रेष्ठले स्वच्छ, भयरहित र निस्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउँदै सबै पक्षलाई सहयोग र सहकार्य गर्न आग्रह गरे।

मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले उम्मेदवारी दर्तासँगै निर्वाचनका थप आवश्यक कार्य अघि बढिरहेको र तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए।

सिन्धुलीमा दुई निर्वाचन क्षेत्र छन्। निर्वाचन क्षेत्र नम्बर २ मा जिल्ला न्यायाधीश विष्ट र निर्वाचन क्षेत्र नम्बर १ मा जिल्ला न्यायधीश वक्‍ता निमा घिमिरेलाई तोकिएको छ। सिन्धुलीमा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन् र प्रतिनिधि सभातर्फ दुई निर्वाचन क्षेत्र छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्रमा ६ जना स्वतन्त्र उम्मेदवारसमेत गरी कुल २८ जनाले उम्मेदवारी मनोनयन गराएका छन्। उम्मेदवारी मनोनयनसँगै उम्मेदवारहरूले चुनावी चहलपहल बढाएका छन्। दलहरूले घरदैलो तथा आमसभाका कार्यक्रमलाई तीव्रता दिएका छन्।

प्रकाशित: १२ माघ २०८२ १८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App