१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दुई चरणमा कार्यालय खोल्ने सरकारी निर्णय प्रभावहीन

लकडाउन खुकुलो बनाउने निर्णयसँगै दुई चरण (सिफ्ट) मा कार्यालय सञ्चालन गर्ने सरकारी निर्णय प्रभावहीन देखिएको छ । सरकारले असार १ गतेदेखि सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म र दिउँसो एक बजेदेखि साँझ ६ बजेसम्म गरी दुई चरणमा सञ्चालन गर्ने निर्णय गरेको छ । तर कार्यान्वयनमा भने समस्या देखिएको छ ।

कारोनाको बढ्दो प्रभाव, अधिकतर कर्मचारी बिदामा भएको र राजश्व संकलन तथा अत्यावश्यक सेवासँग जोडिएका बाहेकका कार्यालयमा सेवाग्राही नै नपुग्दा दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या देखिएको हो । हाल अधिकतर कार्यालय पुग्दा कतिपय ठाउँमा सेवाग्राही पुगे पनि कार्यालय बन्द रहेको देखिन्छ भने कतिपय कार्यालयमा कर्मचारी बस्ने तर बिहान–साँझ सेवाग्राही नआउने समस्या छ । सरकारले आवश्यकता र औचित्य नै नहेरी दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेकाले कार्यान्वयन प्रभावकारी नदेखिएको हो ।  

सरकारले जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आवश्यक प्रोटोकल लागू गर्ने भने पनि त्यसलाई समेत बेवास्ता गरिएको छ । मन्त्रिपरिषद्को निर्णयपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न जारी गरेको १३ बुँदे निर्देशनको समेत कार्यालयहरूले पालना गरेका छैनन् । अधिकतर मन्त्रालय तथा कार्यालयमा कर्मचारीलाई बोक्न गाडी भए पनि ती गाडीहरूसमेत सञ्चालनमा ल्याइएको छैन ।

सिंहदरबारका अधिकतर मन्त्रालयहरूमै दुई सिफ्टमा सेवा सञ्चालन छैन । सरकारले बिहान आठ बजेदेखि कार्यालय खोल्ने निर्णय गरे पनि बिहान साढे नौ बजेपछि बल्ल मन्त्रालयहरूमा कर्मचारी आउने क्रम सुरु हुन्छ । केही मन्त्रालयमा केही कर्मचारी बोलाएर बिहान कार्यकक्षहरू खुला राख्नेसम्म गरिएको छ । तर अधिकतर मन्त्रालयहरू बिहान बन्द रहने गरेका छन् ।  

सरकारले बिहान आठ बजेदेखि कार्यालय खोल्ने निर्णय गरे पनि बिहान साढे नौ बजेपछि बल्ल मन्त्रालयहरूमा कर्मचारी आउने क्रम सुरु हुन्छ

‘बेलुकी त यताउता गर्दा ढिला हुन्छ, अवेरसम्म पनि बसिन्छ तर बिहान भने कार्यालय आउने १० बजे नै हो,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक कर्मचारीले भने ‘सिंहदरबारभित्र दुई सिफ्टको खासै पालना भएको छैन ।’

मालपोत, कर, श्रम, जिल्ला प्रशासन, कम्पनी रजिस्ट्रार, यातायातलगायत सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी पुगेर कार्यालय खुला राखे पनि सम्बन्धित फाँट हेर्ने कर्मचारी ढिला आउने, कतिपयमा सेवाग्राही नै नपुग्ने समस्या देखिएको छ । यसका कारण बिहान पुगेका मानिसहरू पनि दिउँसोसम्म कुनुपर्ने र झनै भिड हुने गरेको छ । ‘दुई सिफ्टमा भन्ने समाचार आएपछि म कम्पनीको एउटा काम लिएर बिहान आठ बजे आएँ तर नौ बजेसम्म यहाँ कोही कर्मचारी नै थिएनन् । नौ बजे केही कर्मचारी त आए तर मेरो समस्या हेर्ने शाखाका मान्छे साढे १० बजेसम्म आएका छैनन्,’ कम्पनी रजिष्ट्रारको कार्यालयमा सेवाग्राहीको भिडमा भेटिएका मैतीदेवीका रमण पोखरेलले भने, ‘दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने भनेर के गर्नु, कर्मचारी नै समयमा आउँदैनन् । आएका कर्मचारीले पनि मैले हेर्ने होइन, एकछिन कुर्नुस् भन्छन् ।’

सरकारले कोरोना संक्रमण जोखिम घटाउन कार्यालयमा कर्मचारी, सेवाग्राहीमा सामाजिक र भौतिक दुरी कायम गर्न भने पनि मालपोत, कर, यातायातलगायत कार्यालयहरूमा भने दिउँसो थेग्नै नसक्ने भिड लाग्ने गरेको छ । न त ती कार्यालयहरूमा आवश्यक शौचालय, हात धुने साबुन–पानीको व्यवस्था गरिएको छ, न सेवाग्राहीलाई भौतिक दुरी पालना गराइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले नीति–निर्माणको काम गर्ने कार्यालयहरूमा दुई सिफ्ट खासै प्रभावकारी नभएको स्वीकारे । ‘नीति–निर्माणको काम गर्ने कार्यालयहरूमा खासै प्रभावकारी भएको छैन तर फ्रन्टलाइनमा सेवा प्रवाह गर्ने, सेवाग्राहीको भिड हुने कार्यालयमा भने प्रभावकारी देखिन्छ,’ सचिव गौतमले नागरिकसँग भने । उनले अहिले सार्वजनिक सवारीसाधन नचल्दा पनि सर्वसाधारणलाई कार्यालय पुग्न समस्या भएको र बिहान–बेलुकी सेवा लिन अभ्यस्त नभएका कारण पनि प्रभावकारी हुन नसकेको बताए । यसअघि पनि दुई सिफ्टमा कार्यालय सञ्चालन गर्दा प्रभावकारी नभएको अनुभव रहे पनि कोरोना रोकथामका लागि सामाजिक तथा भौतिक दुरी कायम गर्न दुई सिफ्टमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘सेवाग्राही पनि सेवा लिनका लागि खाना खाएरै आउनुप¥यो,’ गौतमले भने, ‘कर्मचारीहरू पनि बाहिर छन् । सवारीसाधन नभएका कर्मचारीलाई समयमा कार्यालय पुग्नै समस्या छ ।’

प्रकाशित: ६ असार २०७७ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App